काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अर्जुन डेरी प्रालिमा सिलबन्दी गरेको छ । उक्त उद्योगले घ्यू उत्पादनका लागि अनुमतिपत्र नलिई बेकरी सर्टेनिङ्गलाई शुद्ध घ्यू भनी प्याकिङ्ग गरी बिक्री वितरण गरेको भन्दै विभागले बिहिबार उद्योगमा सिल गरेको हो ।
उक्त उद्योगले बेकरी सर्टेनिङ्गलाई शुद्ध घ्यू भनी प्याकिङ्ग गरी बिक्री वितरण गरिरहेको भन्ने उपभोक्ताको गुनासो विभाग परेको थियो । सो गुनासो सम्बोधन गर्न विभागले आज निरीक्षण अनुगमन टोली खटाईएको थियो ।
बिहिबार कामपा ११, एकता मार्ग, नयाँ बानेश्वरस्थित अर्जुन डेरी प्रालि नामको खाद्य उद्योग निरीक्षण अनुगमन गर्ने क्रममा केहीमा ढुसी लागेको, लेबल विवरण उल्लेख नगरेको बटर १५ केजी ब्लक १६ थान र १ केजीको प्याकमा राखिएको बटर १० प्याकेट एकै ठाउँमा फ्रिजरमा राखेको पाइएको, ढुसी लागेको २५ केजी चिज भण्डारण कक्षमा फ्रिजमा राखेको पाइएको, लेबल विवरण नभएको रेनसिड अफ फ्लेबर भएको घ्यू १ केजीको वट्टा ३० थान र १र२ केजीको वट्टा २८ वटा भण्डारण कक्षमा रहेको पाइएको, बटरबाट घ्यू तयार गर्ने भाडो फोहोर अवस्थामा रहेको तथा घ्यू उत्पादनका लागि अनुमतिपत्र नलिएको पाइएकोले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको प्रतिनिधिको रहोवरमा उद्योगको भण्डारण कक्ष सिलबन्दी गरिएको विभागले जनाएके छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक रुपमा दुई वटा अनुगमन टोली खटाई काठमाडौँ उपत्यका भित्र खाद्य पदार्थहरुको बजार अनुगमन कार्य गरिरहेको छ । यसैगरी विभागको अनुगमन टोलीले टोखा नगरपालिका ४, काठमाडौं स्थित अक्वा एस।एस वेभेरेज प्रालि, र टोखा नगरपालिका ८, काठमाडौं स्थित पिस स्प्रिंग वाटर प्रालि, खाद्य उद्योगहरुको निरीक्षण अनुगमन गरी खाद्य स्वच्छता कायम गर्न आवश्यक निर्देशन दिनुका साथै गुणस्तर परिक्षणका लागि नमूनाहरु संकलन गर्ने कार्य गरेको जनाएको छ ।