Below Menu
Below Menu

दशैँका लागि सहुलियत पसल सञ्चालनमा, कुन सामानमा कति पाइन्छ छुट?

दशैँका लागि सहुलियत पसल सञ्चालनमा, कुन सामानमा कति पाइन्छ छुट?

काठमाडौं : चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा आएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै, तिहार र छठलक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको हो।

कम्पनीले एक कार्यक्रमको आयोजना गरि पसल सञ्चालनमा ल्याएको छ। उक्त पसलको उद्‍घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन्।

सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हाे । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६३ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।

दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको कम्पनीले जनाएको छ । काठमाडौँ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालित छन् । अनलाइनमार्फत अर्डर लिएर उपभोक्ताको भान्छासम्म उपभोग्य सामग्री पुर्याइने कम्पनीले जनाएको छ ।

सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो रु पाँच, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो रु सात छुट पाउनेछन् । त्यस्तै, जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घ्यूमा प्रतिकिलो रु १० छुट दिइने कम्पनीले जनाएको छ ।

पर्वोत्सव सहुलियत पसलमा करिब ५० हजार क्विन्टल खाद्यन्न बिक्री गर्ने लक्ष्य लिइएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ २३ गते चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । सुपथ पसल सञ्चालनका लागि सरकारले रु तीन करोड बजेट व्यवस्थापन गरेको छ ।

कम्पनीले एक हजार पाँच सय खसीबोका तथा तीन सय च्याङ्ग्रा काठमाडौँ ल्याएर थापाथलीबाट बिक्री गरिने जनाएको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङलायत उपत्यका आसपासका क्षेत्रबाट खसीबोका तथा च्याङ्ग्रा ल्याइने सूचना अधिकारी सुवेदीले बताइन् । उनका अनुसार घटस्थापनादेखि नवमीको दिनसम्म खसीबोका तथा च्याङ्ग्रा बिकी गरिनेछ ।

नेपालीको प्रमुख चाड दसैँ, तिहार र छठका समयमा दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने र सो समयमा गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउने वातावण तयार गर्ने उद्देश्यले सहुलियत पसल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । सहुलियत पसल सञ्चालनसँगै चाडपर्वका समयमा अस्वाभाविक बजार मूल्य नियन्त्रणमा सघाउ पुग्ने सरकारको विश्सास छ ।

Advertisment

थप समाचार