काठमाडौं : ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको एकाइ २ अन्तर्गतको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
शनिबार मुख्य कार्यालय र गोठाटार सेवा केन्द्रका सदस्यहरुको उपस्थितीमा एकाइ २ अन्तर्गतको १४औं वार्षिक साधारण सभा कोटेश्वर स्थित ए-वान भेन्यूमा सम्पन्न गरेको हो ।
संस्थाले यस अघि कुमारीपाटी र लूभु सेवा केन्द्र अन्तर्गतका सदस्यहरुको उपस्थितीमा असोज ३ गते साधारण सभा सम्पन्न गरिसकेको छ । संस्थाका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा विभिन्न प्रतिवेदन र एजेण्डा उपर छलफल गरी पारित गरेको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष नविन श्रेष्ठले आ.व. २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीका सिद्धान्त र मुल्य अनुरुप संस्थाले सदस्यहरुको सामाजिक, आर्थिक, साँस्कृतिक र पर्यावरणीय विकासलाई प्राथमिकताको अग्रभागमा राखेर नीति, कार्यक्रम र उत्पादन सेवाहरु विकास गर्दै आएका कारण संस्था सवल र सफल सहकारीहरू मध्ये एक उदाहरणीय संस्थाको रुपमा स्थापित भएको अध्यक्ष श्रेष्ठले बताए ।
प्रतिकुल वित्तीय वातावरणका बीच सदस्यहरूको दरिलो साथ र व्यवस्थापन समूहको अथक मिहेनतले समस्याहरूलाई कुशलतापूर्वक पार गर्दै अधिकांश लक्ष्य हासिल गर्न संस्था सफल श्रेष्ठले बताए । संस्थाका वित्तीय सूचकाङ्कहरू हरेक हिसाबले सवल हुँदै जाँदा सदस्यहरूलाई अझ आधुनिक र विकसित रूपमा खोजे जस्ता सेवाहरू प्रदान गर्न संस्था सक्षम रहेको अध्यक्ष श्रेष्ठको भनाई थियो ।

गत वर्षको तुलनामा आ.व. २०८०/८१ मा सेयर पुँजी ७.१८ प्रतिशत, बचत ९.८९ प्रतिशत, लगानी ३.०५ प्रतिशत, जगेडा कोष ६.५० प्रतिशत, सञ्चालन नाफा ४०.६४ प्रतिशत, कुल वासलात २.६८ प्रतिशतले बढेको छ ।
आ.व. २०८०/८१ मा सेयर पुँजी ८ करोड २१ लाख, बचत ९४ करोड ४२ लाख, ऋण लगानी ९९ करोड १७ लाख, जगेडा कोष १३ करोड ७० लाख, ऋण नोक्सानी व्यवस्था ३ करोड ९९ लाख सञ्चालन नाफा २ करोड २८ लाख र कुल वासलात १ अर्ब ३० करोड ९५ लाख रुपैयाँ पुगेको छ । संस्थाको संस्थागत पुँजी ९.५० प्रतिशत पुगेको छ ।
साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । प्रस्तावित कार्यक्रम तथा योजना अनुसार सदस्य संख्या १५ प्रतिशत, सेयर पुँजी १२ प्रतिशत, बचत १२ प्रतिशत, कुल ऋण लगानी १० प्रतिशतले वृद्धि गर्ने रहेको छ ।
त्यस्तै भाखा नाघेको ऋणलाई ३ प्रतिशतभन्दा कम राखिने प्रस्तावित कार्यक्रम साधारण सभाले पारित गरेको छ । त्यस्तै लेखा सुपरीवेक्षण समितिका संयोजक निसिमा आचार्यले समिक्षा प्रतिवेदन साधारण सभामा पेश गरेका थिए । समितिले सञ्चालक समितिलाई७ वटा सुझावहरु समेत दिएको छ ।
साधारण सभाले आ.व. ०८१/८१ को नाफाबाट १० प्रतिशत लाभांश पारत गर्नुका साथै ३ वर्षे रणनीतिक व्यवसायिक योजना समेत अनुमोदन समेत गरेको छ । रणनीतिक व्यवसायिक योजनामा सदस्य केन्द्रित र समुदाय केन्द्रित गतिविधिमा जोड दिइएको छ । संस्थालाई विशेष योगदान पुर्याउने सदस्यहरूलाई सम्मान गरिएको थियो भने २०८० को एसईई परिक्षामा सफल हुने सदस्यका सन्ततिहरूलाई नगदसहित सम्मान गरिएको थियो ।

दुई वटा एकाइमा साधारण सभा सम्पन्न भएसँगै निर्णय प्रमाणित सभा असोज १३ गते आइतबार हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत कार्कीले जानकारी दिए।
Advertisment