काठमाडौं : एक महिनामै विद्युतीय गाडीको आयात तीन गुणाले बढेको छ । दशैँ तिर लगायतका चाडपर्वलाई लक्षित गरी इभी गाडीको आयात बढेको हो ।
भदौमा मात्रै एक हजार २२१ वटा विद्युतीय कार, जीप र भ्यान भित्र्याइएको छ । उक्त संख्या गत साउनको तुलनामा तीन गुणाले बढी हो । चालु आर्थिक वर्षको साउनमा ३८१ वटा इभी गाडी आयात भएको थियो ।
भन्सार विभाग तथ्यांकअनुसार यस अवधिमा नेपालले २ अर्ब ९३ करोड ४ लाख २१ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात गरेको हो । आयातित गाडीबाट एक अर्ब ७९ करोड ४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
चालु आवको दुई महिना अर्थात भदौं मसान्तसम्म भने नेपालले ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबरको १ हजार ६०२ युनिट विद्युतीय गाडी आयात गरेको छ । आयातित गाडीबाट २ अर्ब ३१ करोड २२ लाख ४ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।
नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाटका विद्युतीय गाडी आयात हुने गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् । यस सेग्मेन्टमा २ अर्ब ४३ करोड २१ लाख मूल्यका ९३८ गाडी भित्रिएका छन् ।
सबैभन्दा धेरै विद्युतीय गाडी छिमेकी मुलुक चिनबाट आउने गरेको छ भने भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट पनि नेपालमा विद्युतीय सवारी आयात हुने गरेको छ ।
भदौं मसान्तसम्म नेपालले ५० किलोवाटसम्मका एक अर्ब ४ करोड ६१ लाख मूल्य बराबरका ५६० युनिट गाडी आयात गरेको छ । त्यस्तै १०१ देखि २०० किलोवाटका ९९ युनिट, २०१ देखि ३०० किलोवाटसम्मका तीन ओटा गाडी भित्रिएका छन् भने ३०० किलोवाटमाथिका बिजुली गाडी दुई ओटा आयात भएका छन्
Sponsored Advertisment
Advertisment