काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी छिटो दिन शाखा कार्यालयहरुमा विशेष कक्ष सञ्चालनमा ल्याएको छ ।
कम्पनीले सूचना प्रकाशित गर्दै बाढी तथा पहिरोको कठिन समयमा जीवन बीमा दाबी भुक्तानी लगायतका सेवा यथाशीघ्र दिन देशभर रहेका विभिन्न शाखा अन्तर्गत विशेष कक्ष सञ्चालनमा ल्याएको जनाएको छ ।
त्यस्तै कम्पनीले विपत्तको यस घडीमा आआफ्नो क्षेत्रबाट हरसम्भव आवश्यक सेवा र सहयोग गर्न पनि कर्मचारी, अभिकर्ता, बीमित, बीमाकर्मी एवं शुभचिन्तकलाई आग्रह गरेको छ ।
‘विगत केही दिनदेखि देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले गर्दा जनधनको क्षतिका साथै धेरै संख्यामा मानिसको मृत्यु र प्रभावित क्षेत्रमा घाइते तथा बेपत्ता भएको खबरबाट सिंगो मुलुकसँगै बीमा क्षेत्रसमेत अत्यन्त मर्माहित भएको छ’, कम्पनीद्वारा सूचनामा भनिएको छ ।
प्राकृतिक विपत्तिको यस घडीमा बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरुको खोजी एवं घाइतेहरुको पूर्ण स्वास्थ्यलाभको कामना कम्पनीले गरेको छ । घाइते तथा बेपत्ताको शीघ्र एवं प्रभावकारी उद्धारका लागि आवश्यक समन्वय एवं सहयोगका लागि कार्य गरिरहेको पनि कम्पनीले जनाएको छ ।
Sponsored Advertisment
Advertisment