काठमाडौं : इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (आईआईएन) को छैठौं वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ ।
वार्षिक साधारण सभा उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमा सम्बन्धी तालिमसँगसँगै बीमा दाबी भुक्तानीमा ढिलाइलगायत नयाँनयाँ विषयमा अनुसन्धानसमेत गर्न आईआईएनलाई निर्देशन दिए।
आईआईएनका संरक्षकसमेत रहेका अध्यक्ष दहालले बीमा क्षेत्रको विकासलाई अझै उचाइमा पुर्याउनका लागि आफ्नो क्षेत्रबाट मिहिनेतका साथ अगाडि बढ्न पनि आईआईएनलाई निर्देशन दिए ।
अध्यक्ष दहालले भने, ‘बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न तालिम लिएको हुनुपर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको छ । समितिबाट सुझाव आएपछि कार्यान्वयनमा ल्याइनेछ, देशभरका सबै बीमा सर्भेयर र बीमा अभिकर्तालाई तालिम दिनका लागि आईआईएनले तालिमलाई विकेन्द्रीकरण गर्दै तीव्रता दिनुपर्छ ।’
त्यस अवसरमा अध्यक्ष दहालले इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको सञ्चालक समितिका पूर्वअध्यक्ष राजुरमण पौडेललाई कदरपत्र प्रदान गरे ।
आईआईएनको सञ्चालक समितिका अध्यक्ष दीपप्रकाश पाण्डेले आईआईएनको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
आईआईएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशीलदेव सुवेदीले आईआईएनले बीमा क्षेत्रका विशेषज्ञहरूको सहभागिता तथा अन्तर्राष्ट्रिय सस्थाहरूसँगको सहकार्यमा समेत विभिन्न तालिम तथा कार्यक्रमहरू संचालन गर्दै आएको र स्नातकोत्तर तहमा बीमा विषयको अध्यापन तथा अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वयन एवम् सहकार्य हुँदै आएको जानकारी दिनुभयो ।
साधारणसभामा आईआईएनका सञ्चालक समितिका सदस्यहरू तथा सेयरधनीहरू जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका सीईओहरूको सहभागिता रहेको थियो ।
Advertisment