नेपालबाट निर्यात हुने वस्तुहरुमा सबैभन्दा बढी विदेशी आर्जन गर्ने वस्तुमा गलैँचा पर्दछ । भलै यसको निर्यात पहिलेको तुलनामा निकै घटेको छ । निर्यात घटेता पनि नेपालबाट निर्यात हुने वस्तुमा पहिलो नम्बरमा गलैँचा नै आउने गर्छ । यो उद्योगले विशेष गरी ग्रामिण वर्गमा महिला र अल्पसंख्यकहरुलाई बढी रोजगारी दिएको छ । आयातलाई प्रतिस्थापन गरेर निर्यातलाई प्रतिस्थापन गर्न गलैँचाले प्रमुख भूमिका खेलेको छ । नेपालको व्यापार घाटालाई कम गर्न मुख्य भूमिका खेलेको गलैँचा उद्योगको पछिल्लो अवस्थाका बारेमा केन्द्रीत रहेर नेपाल गलैँचा उत्पादन तथा निकासीकर्ता संघका अध्यक्ष तेञ्जिङ शेर्पासँग वित्तीय पोष्टकर्मी सम्झना बरुवालले गरेको कुराकानीको सम्पादित अंशः
विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोत बनेको गलैँचा उद्योगको पछिल्लो अवस्था कस्तो छ ?
अहिले गलैँचाको व्यवसाय घटेको छ । निर्यात घटेको छ । यसको प्रमुख कारण हाम्रा उत्पादित वस्तुहरु छिमेकी मुलुकको तुलनामा महंगो भयो । झण्डै ३० प्रतिशत उत्पादन लागत हाम्रो महंँगो छ । कच्चा पदार्थमा हामी अहिले पनि परनिर्भर छौं । यसले पनि उत्पादन लागत बढी छ । अधिकांश कच्चा पदार्थ विदेशबाट आयात गरेर नै प्रयोग गरिहेका छौं । त्यसमा आत्मर्निभर हुने हामीले आफ्रनै कच्चा पदार्थमा जोड दिनुपर्छ ।
हामीले अहिले मुस्ताङ र डोल्पा लगायतका हिमाली भेगका भेडाको ऊनहरु प्रयोग गर्न थालेका छौं । जंगली सिस्नो (अल्लो) को धागोहरु, सनपात लगायतका धागोहरु प्रयोग गरेका छौं । जुन स्वदेशमै उत्पादित हो । यसले केही मात्रामा उत्पादन लागतलाई घटाउन र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न मद्दत पुग्छ ।
तर, यो हामीले मात्र गरेर हुँदैन राज्यबाट पनि सहयोगको अपेक्षा गरेका छौं । बारम्बार रुपमा राज्यका विभिन्न निकायहरुमा हामीले कुराहरु राखेका छौं । आफ्रनै देशको कच्चा पदार्थको प्रयोगका लागि हामी प्रयासरत छौं ।
यसको मूख्य बजार कहाँ हो ?
यसको मूख्य बजार पहिले मूख्यतया जमर्नी लगायत युरोपका केही देशहरुमा थियो । अहिले ८० प्रतिशत भन्दा बढी गलैँचाको निर्यात अमेरिकामा भएको छ । बाँकी क्यानडा, जमर्नी, बेलायत लगायतका युरोपेली मुलुकहरुमा हुने गरेको छ ।
निर्यातजन्य वस्तुमा अगाडि रहेको वस्तु गलैँचाले रोजगारी दिईरहेको छ भने विदेशी मुद्रा पनि भित्र्याइरहेकोछ । राज्यले प्रत्यक्ष रुपमा रोजगारी दिन नसक्ने व्यक्तिहरुले गलैँचा उद्योगले रोजगारी दिईरहेको छ ।
झण्डै २ लाखले प्रत्यक्ष रोजगारी पाएका छन् । प्रत्येक वर्ष १०० मिलियन युएस डलर विदेशी मुद्रा भित्रिने गरेको छ । झण्डै ८० प्रतिशतमा भ्यालु एडिसन गरेर हामीले निर्यात गरेका छौं । यसले गर्दा पनि यसले आफ्नो मौलिकता बोकेको छ । गाउँ–गाउँमा महिला र असहायहरुले रोजगारी पाएका छन् ।
निर्यात खस्किदा यसको उत्पादनमा कतिको असर परेको छ ? अहिले माग कतिको छ ?
गलैँचाको निर्यात बढ्ने साथ हामीसँग भएका कामदारहरु कमी भएको महसुस हुन्छ भने निर्यात घट्ने बित्तिकै भएका कामदारले पनि काम नपाइरहेको अवस्था छ । यसको सन्तुलन मिलाउनका लागि पनि अर्डरको माग हुनुपर्छ । नत्र यो सिजनल हुन जान्छ । गलैँचाको अर्डर भएको बेला धेरै कामदार चाहिने र अर्डर नभएको बेला कामदाहरु विस्थापित हुने अवस्था छ ।
अर्डरको माग बढ्ने बित्तिकै फेरी कामदार नपाइएको अवस्था छ । यसतर्फ पनि सोच्ने बेला आएको छ । यसका लागि हामीले काठमाडौं केन्द्रीत मात्र नभई विकेन्द्रीकरण गरिरहेका छौं । विभिन्न गाउँहरुमा त्यही तालिम केन्द्र खोलेर कार्पेटका फ्याक्ट्रीहरु सञ्चालन गरेको खण्डमा गाउँका दाजुभाई दिदि तथा बहिनीहरुले बाह्रै महिना काम पाउने अवस्था बढ्छ । यसले रोजगरी पन सिर्जना हुन्छ र कामदारको पनि अभाव नहुने अवस्था आउँछ ।
बजारमा यसको माग हामीले खोज्ले हो । आन्तरिक रुपमा त हुने होइन । बाह्य रुपमा पनि छिमेकी देशहरुले नयाँ–नयाँ प्रोडक्टहरु क्रियट गरेर मार्केट प्रमोट गरिहेका छन् भने हामी पछाडि परिरहेका छौं । हामीले विभिन्न अन्तर्राष्ट्रिय मेलाहरुमा भाग लिनुपर्ने । भाग लिनका लागि व्यवसायीले मात्र नसकेर राज्यको पनि सहयोगको अपेक्षा गरिरहेका छौं । राज्यबाट अपेक्षित रुपमा सहयोग पाएका छैनौं ।
गलैँचा अरु वस्तु जस्तो झोलामा बोकेर मेलामा देखाउन सक्दैनौं । यसका लागि मेलामा पनि ठूलो स्टल चाहिन्छ । ढुवानी पनि महँगो हुने र प्रदर्शनमा राखिएका गलैचाँलाई फेरी फिर्ता ल्याउन झन्झटिलो हुने भएकाले हामी व्यवसायीले मात्र सम्भव नभएका कारण राज्यको सहयोग अति अपरिहार्य छ । राज्यको सहयोग मिलेमा मात्र छिमेकी देशहरुसँग प्रतिस्पर्धा गरेर अन्तर्राष्ट्रिय मेलामा भागल लिएर यसको बजारलाई विस्तार गर्न सक्छौ।
गलैँचा उद्योगहरुले पाउँदै आएका केहि सुविधाहरु सरकारले कटौती समेत गर्यो । यसले उद्योग नै संकटमा पर्छ भनेर यहाँहरुले भनिरहनु भएको थियो । सरकारले दिँदै आएको सुविधा खारेज गर्दा यहाँहरुलाई कस्तो समस्या पर्यो ?
राज्यले निर्यातजन्य वस्तुलाई प्रोत्साहन गर्नका लागि अनुदान दिइरहेको थियो । तर, त्यो अनुदान हामीले एक वर्षदेखि पाएका छैनौं । सरकारले गलैँचाको निर्यात भएको मूल्यमा ५ प्रतिशत अनुदान दिने भनेको थियो । त्यो अनुदान ५ प्रतिशत मूल्य घटाएर प्रतिस्पर्धा गरिरहेको हो ।
अनुदान हाम्रो लागि होइन । हामीले गलैँचाको मूल्यमा छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्नका लागि फाइदा पुग्छ भने हामीले त गलैँचाको मूल्यलाई घटाएर अन्तर्राष्ट्रिय जगतमा केही हदसम्म प्रतिस्पर्धात्मक क्षमता बढाउन लागि गरिसक्यौं ।
तर, दुर्भाग्य त्यो ५ प्रतिशत अनुदान हामीले राज्यबाट पाएका छैनौ । यसले गर्दा आउँदा दिनहरुमा राज्यले अनुदान दिन सक्छ भने दिनुपर्यो । नत्र हामी ५ प्रतिशत अनुदानको आशमा मूल्य घटाएर हामी गलैँचा बेच्दैनौं । अनुदान दिने की नदिने भन्नेमा सरकार स्पष्ट हुनुपर्यो ।
वैदेशिक मुद्रा आर्जनका मुहान नै थुन्नेगरि सरकारले चालेको यस्ता कदमले मुलुकलाई कति असर गर्यो ?
आयात र निर्यातमा १ः१० को जुन रेसियो छ, यो झन् बढ्छ । कुनै पनि देशको विकास र अर्थतन्त्रमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सबैतिर ट्यारिफहरु लगाईरहेको छ । यो सबै बाहिर देशहरुसँगको आयात र निर्यातको सन्तुलनलाई मिलाउन हो ।
अन्तर्राष्ट्रिय बजारको व्यापारमा प्रतिस्पर्धा हुने निर्यात नै हो । चीनले सबै वस्तुहरु उत्पादन गरेर निर्यात गर्छ त्यसैले अगाडी छ । कुनै पनि देशको विकास गर्न निर्यात अपरिहार्य छ । हाम्रो जस्तो सानो देश त्यसमा पनि भएको गलैँचा, पस्मिना, तयारी पोसाक, जडिबुटी लगायतका वस्तुहरुमा राज्यले प्रोत्साहन दिनुपर्छ ।
राज्यले सहुलियत र अनुदान जे दिएर हुन्छ यसलाई बचाइराख्नुपर्छ । अनि मात्र विदेशी मुद्रा आय आर्जन भएर रोजगारी सिर्जना भएर देशको विकास हुने हो । हामी कहिलेसम्म परर्निभर भएर आयातमुखी अर्थतन्त्रमा टिक्ने हो ?
हामीले प्रत्येक फोरममा सम्बन्धित निकायहरुले निर्यातलाई बढाउनुपर्छ भनिरहेका हुन्छन् । तर, कार्यान्वयन पक्ष फितलो भइरहेको देखिन्छ ।
हाल गलैँचा उद्योगले भोगेका समस्याहरु के के हुन् ?
हाम्रो उत्पादन लागत बढ्याे । विदेशी उपभोक्ताले नेपाली गलैँचा राम्रो छ तर, महँगो भयो भनिरहेका छन् । उत्पादन लागत र मूल्य घटाउन हाम्रो आफ्नै कच्चा पदार्थ हुनुपर्यो । कच्चा पदार्थको सम्भावनाहरु पनि प्रशस्त छन् ।
कच्चा पदार्थको सम्भावनाहरु अध्ययन गरेर राज्यले प्रोत्साहन गर्नुपर्यो । सबैतिरको भेडाको ऊन काम लाग्दैन । ३ हजार मिटर भन्दा माथिको भेडाबाट उत्पादित ऊन मात्र हामीलाई काम लाग्छ । ती ठाउँका भेडाहरुको ऊनको उत्पादन सम्भावना हुँदा हुँदै पनि उनीहरुले भेडापालन गर्न सकेका छैनन् ।
किसानहरुले भेडापालनका लागि इन्स्योरेन्स छैन भन्ने गुनासो गर्छन् । भेडाहरु हिँउ र रोगहरु लागेर मर्र्दा राज्यले सहुलियत दिए पो भेडापालनलाई प्रोत्साहन दिने हो । चरणको अभाव छ । को त्यसको सुविधा दिनुपर्यो । इन्स्योरेन्स पोलिसी जारी गर्नुपर्यो । अनुदान दिएर तपाईहरु भेडापालनमा लाग्नुुस्, सरकार तपाईको साथमा छ भनिदिएको किसानहरु लाग्छन् त ।
राज्यले भेडापालनलाई प्रोत्साहन गरेमा उत्पादित ऊनहरु हामी जहिले पनि खपित गछौं । भेडाको ऊनले मात्र हामीलाई पुग्दैन । चीन र न्युजिल्याण्डबाट ऊन खपत गरिरहेका छौं । स्वदेशमै उत्पादन भए हामीलाई पनि सहज हुने थियो । राज्यले कच्चा पदार्थको उत्पादनमा दिनुपर्छ ।
अल्लो (जंगली सिस्नो) को पनि प्रचुर सम्भावना छ । हाम्रा पहाडी जिल्ला रुकुम, रोल्पा, जिरी, संखुवासभा लगायतका भेग अल्लो धेरै हुने गर्छ । अल्लोका कृषकहरुलाई पनि वनको पुर्जी लिनुपर्ने अवस्था छ । अल्लो भनेको झाँडी जस्तो हो । कुनै वन फँडानी गर्नुपर्ने हो । जंगली सिस्नोको जरा जति काट्यो अर्को वर्ष झन् बढी उत्पादन हुन्छ । सरकारले बुझेकै छैन ।
अल्लोले वन फडानी हुने होइन झन् बढ्छ । यसले कार्बनडाइअक्साइड सोेसेर अक्सिजन धेरै फाल्ने हुँदा वातावरणलाई पनि राम्रो गर्छ । जंगललाई पनि डिफरेस्टेनशन (वनविनाश) लाई पनि नहुने चिजलाई अनेक पुर्जी लगाएर समस्या दिने गरेको छ । वनका कर्मचारीले यो कुरा बुझेमा गाउँका दाजुभाई दिदिबहिनीहरुले अल्लोको धागो बनाउन अझ बढी प्रोत्साहित हुने थिए । ग्रामिण भेगका अधिकांश व्यवसायीको समस्या यही छ । जुन व्यवहारिक छैन ।
गलैँचालाई धेरै अगाडि नै जोखिमपूर्ण वस्तुको रुपमा राखिएको छ । यसले गर्दा पछिल्लो समय हामीले श्रम र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गएर ‘जोखिम’ शब्द हटाउन पनि माग गरेका छौं । विदेशीहरुले गलैँचालाई जोखिमपूर्ण उत्पादन भनेर प्रश्न गर्न थालेका छन् । त्यही हातले बनाउने भारत र पाकिस्तानका गलैँचा जोखिमपूर्ण नहुने नेपालमै कसरी जोखिमपूर्ण भयो ? हाम्रो गलैँचामा वासिङ र डाइङ (धुने र सुकाउने) गर्दा केमिकल खेलाउनुपर्ने र रंगाउने पर्ने भएकाले केही जोखिम होला तर, नितान्त बुन्ने कुुरामा जोखिमपूर्ण होइन ।
गाउँबाट आउने दाईभाई तथा दिदिबहिनीहरुले धेरै गलैँचा बुन्नु हुन्छ । ६० वर्षको इतिहासमा गलैँचा बुनेर घाइते अथवा मृत्यु भएको छैन, अनि कसरी जोखिमपूर्ण भयो, ? तथ्यले पनि प्रमाणित गरेको छैन । त्यसै त व्यापार घटेको छ । तसर्थ सरकारलाई हामीले बारम्बार ‘जोखिम’ शब्द हटाउन माग गर्दा पनि सुनेको छैन ।
अन्य देशको तुलनामा नेपाली गलैँचा अब्बल हो भन्ने आधार के–के छन् ?
गलैँचा भनेको कला (आर्ट) हो । यसमा मेहनत र एकाग्रता सबै चाहिन्छ । गलैँचा बुन्दैमा मात्र हुँदैन । हामीसँग भएका बुंकहरु धेरै दक्ष छन् । पछिल्लो समय हामीले डिजाइनहरु बनाउन र ग्राहकले दिएको डिजाइनलाई जस्ताको तस्तै ग्राफ बनाएर त्यही अनुसार बुन्न सफल भएका छौं । उपभोक्ताहरुले ती चिजहरुलाई पनि तुलना गरेको छ । अन्य देशको भन्दा नेपाली गलैँचाको डिजाइनमा पर्फेक्सन आएकाले पनि हो ।
हामी अहिले पनि उनीहरुको माग अनुसार समयमानै उत्पादन गरेर दिने गरेका छौ। गलैँचा भनेको धनाढ्यहरुले किन्ने हो । उनीहरुलाई समय निकै महत्वपूर्ण हुन्छ । उनीहरुले तोकेको समयभित्र गलैँचा बनाउन अधिकांश व्यवसायीहरु सफल भएका छन् । उत्पादन र गुणात्मक रुपमा हाम्रा प्रतिस्पर्धी भन्दा हामी अगाडी भएकाले पनि नेपाली गलैँचामा आकर्षण बढेको हो ।
सरकारले गलैँचा निर्यात बढाउन कस्ता खालका सुधारहरु गर्नुपर्छ ?
सरकारले कच्चा पदार्थमा ध्यान दिनुपर्यो । हाम्रो गलैँचालाई चाहिने तन धागो, रेसाजन्य धागोहरु छिमेकी देशहरुबाट आयात भइरहेको छ । ती आयात हुने वस्तुहरुमा ५ प्रतिशत भन्सारबिन्दुमा कर लगाइएको छ ।
बाहिरबाट कच्चा पदार्थ ल्याएर हामीले फेरी निर्यात गर्ने हो । निर्यातजन्य वस्तुमा ५ प्रतिशतको भन्सारदर हटाउनुपर्छ । आयातित वस्तु स्वदेशी दपतका लागि हो की निर्यातका लागि हो भन्ने छुट्याएर त्यसको कर मिनाहा गर्नुपर्छ भन्ने हाम्रो माग हो । यसले उत्पादन लागत घटाएर प्रतिस्पर्धात्मक क्षमता बढाउँछ । यसका साथै गलैँचा बुन्ने बुंकरहरुलाई तालिमको सुविधा दिनुपर्यो ।
नयाँ आउन खोजेका कामदारहरुले कसरी काम गर्ने भनेर भेउ पाएका छैनन् । सातै प्रदेशमा तालिम केन्द्र खोलेर तालिम दिएमा त्यहाँका बेरोजगार व्यक्तिहरुले तालिमबाट सिकेर काम पाउने सम्भावना हुन्छ । त्यसले प्रत्यक्ष रुपमा व्यवसायमा पनि कामदारको अभावलाई पूर्ति गर्न सकिन्छ ।
निर्यातका लागि विभिन्न देशमा लाग्ने मेलाहरुका लागि प्रचारप्रसारका लागि र निर्यातालाई प्रवद्र्धन गर्न मेलाहरुमा भाग लिन सरकारले सहयोग गर्नुपर्छ । सरकारले यस्ता कुरामा ध्यान दिए निर्यातलाई अहिलेको तुलनामा दोब्बर बढाउन सक्छौं । व्यवसायीहरुले पनि उत्पादनको गुणस्तरमा ध्यान दिनुपर्छ । हामी अरु देश भन्दा फरक छौं । महँगो र राम्रो गलैँचा उत्पादन तर्फ नै लाग्नुपर्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
नेपाली गलैँचाको सम्भावनाहरु प्रशस्त छन् । यो नेपालको गौरव पनि हो । नेपाली दाजुभाईहरु विदेशी जाँदा पनि चिनोको रुपमा गलैँचा नै लगेको देखिन्छ । नेपालको चिनारी र अन्तर्राष्ट्रिय जगतमा पनि मन पराएको वस्तुमा राज्यले आवश्यकता अनुसार कन्जुस्याँइ नगरी सहयोग गरेमा नेपाली गलैँचाको भविष्य अझ उज्वल छ ।
Sponsored Advertisment