काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरस्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा शंकास्पद पदार्थ फेला परेपछि उत्पादन सिलबन्दी गर्दै थप अनुसन्धान अघि बढाएको छ।
विभागका अनुसार वैशाख ३१ गते विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं, तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा प्रहरी वृत्त जगातीको संयुक्त टोलीले सूर्यविनायक नगरपालिका–९, भक्तपुरमा रहेको सहकारी संस्थामा अनुगमन निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा उद्योगको प्रशोधन कक्षबाट ९.८६ केजी माल्टोडेक्स्ट्रिन र ५६ केजी डेक्स्ट्रोज मोनोहाइड्रेट फेला परेको विभागले जनाएको छ। त्यसैगरी ब्याच पास्चराइजर ट्यांकमा हालेर पगाल्न तयारी अवस्थामा राखिएको करिब ३० केजी बेकरी सर्टेनिङजस्तो देखिने चिल्लो पदार्थसमेत भेटिएको उल्लेख गरिएको छ।
विभागले उद्योगमा रहेका तीनवटा फिलिङ भ्याटमा भरिएको दूध र बेकरी सर्टेनिङजस्तो देखिने पदार्थको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाएको जनाएको छ। साथै, ती तीनवटै फिलिङ भ्याटमा रहेको दूध तथा शंकास्पद चिल्लो पदार्थ अर्को आदेश नभएसम्मका लागि सिलबन्दी गरिएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार थप अनुसन्धानका लागि उद्योग सञ्चालकलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ।
Advertisment