काठमाडौं : नेपाल बीमा प्राधिकरणले मौद्रिक क्षतिको बीमा निर्देशिका जारी गरेको छ ।
प्राधिकरणले बैंक, वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रकृयामा रहेको नगद तथा नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटि)तथा वित्तीय संस्थाको धितोबन्धकमा राखिएका नगद तथा नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटि) मा आइपर्न सक्ने जोखिमहरु विरुद्धको रक्षावरण गर्ने सम्बन्धी व्यवस्थाहरुलाई व्यवस्थित गर्न उक्त निर्देशिका जारी गरेको हो ।
बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी नेपाल बीमा प्राधिकरणले देहायको निर्देशन जारी गरेको हो ।
बीमकले यस निर्देशन बमोजिम जारी गरेको बीमालेख बीमक तथा बीमित बीचको द्विपक्षीय करार हुने व्यवस्था रहेको छ । बीमकले बीमा अवधि समाप्त हुनु भन्दा कम्तीमा पन्ध्र दिन अगावै बीमितलाई बीमालेखको अवधि समाप्त हुन लागेको जानकारी सहितको सूचना पठाउनु पर्नेछ ।
निर्देशिकामा बीमा प्रस्ताव फाराम, तालिका, बीमालेख तथा बीमालेखसँग संलग्न सम्पुष्टिलाई समेत बीमा करारको रूपमा लिनु पर्ने व्यवस्था गरिएको छ ।
बीमालेख जारी गर्ने बीमितले बैंकर क्षतिपूर्ति बीमालेखको लागि लागि अनुसूची–१ बमोजिम प्रस्ताव फाराम, नगद बीमालेखको लागि अनुसूची २ बमोजिमको प्रस्ताव फाराम र निष्ठा जमानी बीमालेखको लागि अनुसूची(३ बमोजिमको प्रस्ताव फाराम पूर्ण रुपमा भरी बीमक समक्ष पेश गर्नु पर्ने व्यवस्था रहेको छ ।
साथै प्रस्ताव फाराम प्राप्त भए पछि बीमकले बीमालेख जारी गर्नु अगावै आवश्यक सम्पूर्ण विवरण चेक जाँच गर्न अनिवार्य गरेको छ ।
Advertisment