Below Menu
Below Menu

विकू बचतको सदस्य केन्द्रित नयाँ कार्यक्रम: चुलोदेखि चौतारोसम्म 

विकू बचतको सदस्य केन्द्रित नयाँ कार्यक्रम: चुलोदेखि चौतारोसम्म 

गैंडाकोट (नवलपरासी) : समुदायमा आधारित नेपालकै उत्कृष्ट सहकारी विकू बचत तथा ऋण सहकारी संस्थाले ‘चुलोदेखि चौतारोसम्म’ कार्यक्रम सुरु गरेको छ। 

विशेषगरि समान कार्य, पेशा तथा व्यवसायसँग सम्बद्ध महिला सदस्यहरुको समान स्तरमा समुहहरु गठन गरि व्यावसायिकता विकास, जीवनशैलीमा सहजता, कार्य तथा पेशामा विशिष्टीकृत र चेतना अभिबृद्धि गर्न ‘चुलोदेखि चौतारोसम्म’ कार्यक्रमको शुभारम्भ गरेको हो ।

संस्थाले ‘भान्छा नै परिवारको पहिलो अस्पताल हो’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै ‘भान्छा साक्षरता कार्यक्रम’ समेत सञ्चालन गरेको छ । यस कार्यक्रम अन्तर्गत संस्थाले सदस्यहरुलाई भान्छा व्यवस्थापन, खाद्यान्न सामाग्रीमा मितव्ययिता, बचत, सुस्वास्थय र भान्छा सामाग्रीको बारेमा साक्षरता प्रदान गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव प्रसाद पौडेलले जानकारी दिए।

संस्थाले सबैको पहिलो रोजाई, गर्भदेखि स्वर्गसम्म, मेम्बर एण्ड मोवाईल फस्ट, वि नेभर से नो, बेष्ट एण्ड विगेस्ट, खुसी एवं स्वस्थ सदस्य भन्ने जस्ता आदर्श संचालन मार्ग निर्देशनबाट निर्देशित भई सोही उन्मुख कार्यक्रमहरु सदस्य र समुदायमा केन्द्रित गरेको पौडेलको भनाई छ।

संस्थाले सोसल ईन्जिनियरिङ अन्तर्गत बालबालिकासँग छुनुमुनु कार्यक्रम, युवासँग कर्णधार कार्यक्रम, महिलासँग सभ्यता कार्यक्रम र जेष्ठ सदस्यसँग आशिर्वाद कार्यक्रम सञ्चालन गरिरहेको सिईओ पौडेलले बताए। देश तथा विदेशबाट समेत अध्ययन तथा अवलोकनको लागि छनौटमा परेको विकू सहकारी ‘सबैको पहिलो रोजाई’मा आफुलाई पार्ने परिकल्पनासहित अगाडी बढेको उनको भनाई छ ।

साथै सहकारीको क्षेत्रमा नयाँ नयाँ आयाम, प्रयोग, सेवा र प्रविधिको पर्यायवाची संस्थाको रुपमा समेत विकूलाई लिईन्छ । केही ऐतिहासिक कार्य र नविनतम प्रविधिको अनुसरण र प्रयोगमा अग्रणी भुमिकामा विकू छ ।

दैनिक प्रति व्यक्ति ५० पैसा बचत संकलन गरि २६ जना सदस्यबाट सुरु भएको भएको विकू समुदायमा आधारित र सदस्यद्वारा सञ्चालित एक अब्बल, अनुकरणीय एवं सुशासित सहकारी संस्था हो । सानो सानो बचत संकलन र समुदायको धेरै व्यक्तिको सहभागिता र संलग्न सदस्यको आर्थिक तथा सामाजिक विकासको लागि लगानी गर्ने मुल अभिप्रायले शुरुवात गरिएको थियो । संस्थामा हाल करिब १ लाख ३० हजार सदस्य ( बाल बचतसहित) र करिब साडे १० अरब पुँजी संकलन भएको छ । 

संस्थाले नवलपुर र चितवन जिल्लामा एक मुख्य कार्यालय र २४ सेवाकेन्द्रबाट सदस्यलाई सेवा प्रवाह गरिरहेको छ।

Advertisment

थप समाचार