काठमाडौं : बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको छ महिनामा बीमा अभिकर्ता कमिशनमा साढे छ अर्ब रुपैयाँ खर्चिएका छन् । हाल सञ्चालनमा रहेका २८ बीमा कम्पनीहरुले पुस मसान्तसम्म अभिकर्ता कमिशन वापत छ अर्ब ७० करोड २४ लाख रुपैयाँ खर्चिएका हुन् ।
उक्त रकम गत वर्षको सोही अवधिका तुलनामा ७.०२ प्रतिशत अर्थात ४३ करोड ९८ लाख ४२ हजार रुपैयाँले बढी हो । गत आवमा बीमा कम्पनीहरुले अभिकर्ता कमिशनका लागि छ अर्ब २६ करोड २५ लाख रुपैयाँ खर्च गरेका थिए ।
पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार जीवन बीमा कम्पनीहरुले छ अर्ब ४२ करोड ६८ लाख रुपैयाँ अभिकर्ताका लागि खर्च गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिशनमा २७ करोड २५ लाख रुपैयाँ खर्च गरेका छन् । यस अवधिमा अधिकांश कम्पनीहरुले यस्तो खर्च बढाएका छन् ।
दुई जीवन बीमा कम्पनीले घटाए कमिशन खर्च
गत वर्ष आवको सोही अवधिमा अभिकर्ता कमिशनमा पौने ५ अर्ब रुपैयाँ खर्चिएका बीमा कम्पनीहरुमध्ये दुई कम्पनीले यस्तो खर्च घटाएका छन् । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल र मेट लाइफ कम्पनी रहेका छन् । कम्पनीहरुले क्रमशः ०.६८ प्रतिशत र ०.६७ प्रतिशतले यस्तो खर्च घटाएका छन् ।अन्य कम्पनीहरुको कति ?
पुस मसान्तसम्म आइपुग्दा अधिकांश कम्पनीहरुको अभिकर्ता कमिशन खर्च बढेको छ । जसमा नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिशन वापत सबैभन्दा बढी एक अर्ब ६३ करोड ८७ लाख रुपैयाँ खर्च गरेको छ । जुन गत वर्षको तुलनामा ९.८२ प्रतिशतले बढी हो ।

त्यसैगरी यस अवधिमा अभिकर्ता कमिशनको खर्च बढाउनेमा सरकारी कम्पनीसहित अन्य कम्पनीहरु रहेका छन् । यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको ४.४३ प्रतिशत, नेशनल लाइफको ८.८८ प्रतिशत, सानिमा रिलायन्सको ७.८५ प्रतिशतले अभिकर्ता कमिशनको खर्च बढेको छ ।
त्यस्तै सन नेपाल लाइफको सबैभन्दा बढी २५.८५ प्रतिशतले यस्तो खर्च बढेको छ । सिटजन लाइफको १५.५९ प्रतिशत, सूर्यज्योति लाइफको १६.७१ प्रतिशत, रिलायबल नेपाm लाइफको १०.३९ प्रतिशत र एशियन लाइफको ९.४४ प्रतिशतले अभिकर्ता कमिसन खर्च बढेको छ ।
निजीवन बीमा कम्पनीको कमिशन खर्च ४.४४ प्रतिशत बढ्यो
यता निर्जिवन बीमा कम्पनीहरुले भने गत वर्षको तुलना अभिकर्ता कमिशन वापतको खर्च ४.४४प्रतिशतले घटाएका छन् ।
गत वर्ष २८ करोड ८३ लाख ५२ हजार रुपैयाँ अभिकर्ता कमिसनका लागि खर्चिएका कम्पनीले यस वर्ष २७ करोड ८३ लाख रुपैयाँ खर्चिएका छन् । यस अवधिमा ६ कम्पनीले यस्तो खर्च बढाएका छन् भने आठ कम्पनीले घटाएका छन् ।
प्रकाशित वित्तीय रिपोर्ट अनुसार यस अवधिमा युनाइटेड अजोड इन्स्योरन्सले सबैभन्दा बढी ४५.५८ प्रतिशतले कमिसन खर्च घटाएको छ भने नेको इन्स्योरेन्सले १६.६१ प्रतिशतले घटाएको छ । त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १८.०२ प्रतिशतले कमिसन खर्च घटाएको छ ।

यस अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा बढी ५३.८७ प्रतिशतले कमिसन खर्च बढाएको छ भने दि ओरियन्टलले १९.६६ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीले २२.६९ प्रतिशत र एनएलजी इन्स्योरेन्सले १५.२४ प्रतिशतले यस्तो खर्च बढाएका छन् ।
बीमा कम्पनीका अभिकर्ताले बीमालेख बिक्री गरेवापत कमिसन पाउने गर्छन् । जीवन बीमा कम्पनीमा अभिकर्ताहरुले पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन प्रदान गरिन्छ ।
बीमा अभिकर्ताले पाउने कमिसन उनीहरुले बिक्री गरेको पोलिसीको प्रकार र त्यसको संख्याको आधारमा निर्धारण हुने गर्छ ।
Advertisment