Below Menu
Below Menu

सरकार सञ्चालनमा समस्या छैन, गभर्नर नियुक्तिको विषयलाई लिएर आशङ्का नगर्नूः गृहमन्त्री लेखक

सरकार सञ्चालनमा समस्या छैन, गभर्नर नियुक्तिको विषयलाई लिएर आशङ्का नगर्नूः गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नयाँ वर्ष २०८२ को सन्दर्भ पारेर आज सुरक्षा विटमा कार्यरत पत्रकारसँगको भेटमा उनले शिक्षा मन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदारीमा कुनै आशङ्का नगर्न आग्रह गरे । 

“सरकारमा कुनै त्यस्तो समस्या छैन, गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीको एक सदस्यले राजीनामा गर्नुभएको छ । फेरि त्यसलाई पूर्णता दिएर अघि बढ्नुपर्ने हुन्छ । आउँदो मन्त्रिपरिषद् बैठकमा छलफल गरेर त्यसलाई पूर्णता दिन्छौँ”, सञ्चारकर्मीको जिज्ञाशामा उनले भने । 

गृहमन्त्रीले सुदृढ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र साधनस्रोत सम्पन्न सुरक्षा निकाय सदैव आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे। उनले कानुनी र नीतिगत सुधारलाई पनि आफूले सँगसँगै अघि बढाइरहेको बताए । 

नीतिगत र कानुनी सुधार आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्दै मन्त्री लेखकले नीतिगत सुधार नभएसम्म सुशासनको कल्पना गर्न नसकिने बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी ऐन छलफलका लागि संसदीय समितिमा पुगिसकेका जानकारी दिँदै उनले मन्त्रालय जग्गा प्राप्ति, संस्था दर्ता र समाज कल्याणसम्बन्धी ऐन परिमार्जनको तयारीमा जुटेको बताए । 

“हज र नागरिकतासम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पुगेको छ, कारागारसम्बन्धी नियमावली आजै मन्त्रिपरिषद्मा लैजाने गरी निर्णय भएको छ”, उहाँले भन्नुभयो, “अन्य महत्वपूर्ण कानुन चाँडै संसद्मा लगिनेछ ।”

अध्यागमन प्रशासनलाई सुधार गर्न छुट्टै मापदण्ड बनाउन आफूले निर्देशन दिएको उल्लेख गर्दै पछिल्ला समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट हुँदै आएको सेवा प्रवाहमा सुधार आएको स्पष्ट पारे ।

मातहतका निकायबाट कार्यसम्पादनका क्रममा कहिलेकाहीँ कमजोरी हुन सक्ने स्वीकार्दै उहाँले त्यसबाट सिकेर अगाडि बढिने स्पष्ट पारे । लोकतन्त्रमा आलोचना स्वीकार्य भएको जनाउँदै नेपाली कांग्रेसका नेता लेखकले कमिकमजोरी औँल्याइदिएर सहयोग गर्न सञ्चार जगत्सँग आग्रह गरे । 

गृहमन्त्री लेखकले गत चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनको छानबिन भइरहेको जानकारी दिए । उनले सुरक्षा व्यवस्था कायम गर्न अपनाइएका विधिका बारेमा पनि प्रहरीले आन्तरिक छानबिन गरिरहेको स्पष्ट पारे । 

“सो घटनाका सम्बन्धमा समग्रतामा छानबिन भइरहेको छ, प्रहरी घटनाको वास्तविकताको तहसम्म पुग्छ, निश्पक्ष, स्वतन्त्र, व्यावसायिक र गहिरोसँग छानबिन हुन्छ”, मन्त्री लेखकले भने । सो प्रदर्शनमा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत प्रदान गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

Advertisment

थप समाचार