गण्डकी प्रदेशको आर्थिक वृद्धि ५.५१ प्रतिशत रहने अनुमान 

गण्डकी प्रदेशको आर्थिक वृद्धि ५.५१ प्रतिशत रहने अनुमान 

काठमाडौं : आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको आर्थिक वृद्धि ५.५१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।

प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः २७.८ प्रतिशत, १६.४ प्रतिशत र ५५.८ प्रतिशत हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मुल्यमा ४.६१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्ष २०८०÷८१ मा यस्तो वृद्धिदर ३.६७ प्रतिशत रहेको संशोधित अनुमान छ । 

आर्थिक वर्ष २०८१÷८२ को कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः २५.६ प्रतिशत, १२.४ प्रतिशत र ६२ प्रतिशत रहने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान छ ।

यस अवधिमा कृषि क्षेत्रचर्फ प्रदेशमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिव २.०८ प्रतिशतले ह्रास आई ३ लाख ८१ हजार ८३० हेक्टर कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल ८.३५ प्रतिशतले घटेको थियो ।

चालु आवको पुस मसान्तमा प्रदेशमा तरकारीले ढाकेको क्षेत्रफल ७.८५ प्रतिशत र मसलाबालीले ढाकेको क्षेत्रफल २.७ प्रतिशतले ह्रास आएको छ भने फलफूलले ढाकेको क्षेत्रफल ०.८७ प्रतिशतले वृद्धि भएको छ । 

यस प्रदेशको कृषि उपजले ढाकेको कुल क्षेत्रफलको ८९.४० प्रतिशत प्रमुख खाद्य तथा अन्न बाली, ४.५७ प्रतिशत तरकारी, ४.०८ प्रतिशत फलफूल तथा १.७३ प्रतिशत मसला लगाइएको क्षेत्रफल रहेको छ ।

समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन ७.९८ प्रतिशत र मसलाको उत्पादन २.६६ प्रतिशतले ह्रास आएको छ । प्रदेशमा तरकारीको उत्पादन २.११ प्रतिशत र फलफूलको उत्पादन १.४२ प्रतिशतले वृद्धि भएको छ । 

पशुजन्य उत्पादनतर्फ दुध र मासुको उत्पादन क्रमशः ०.९४ प्रतिशत र ०.४० प्रतिशतले वृद्धि भएको छ भने माछा र अण्डाको उत्पादन क्रमशः २.३६ प्रतिशत र १.८९ प्रतिशतले ह्रास भएको छ । वनजन्य उत्पादनतर्पm काठको उत्पादनमा ४६.२८ प्रतिशतको वृद्धि भएको छ । 

पुस मसान्तमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा रु.२६ अर्ब २ करोड कर्जा लगानी भएको छ । सो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको ७.४४ प्रतिशत रहेको छ । 

उद्योग क्षेत्रतर्फ समीक्षा अवधिमा अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ४०.८५ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा ती उद्योगकोक्षमता उपयोग ४१.२६ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा ओइन्टमेन्ट औषधी, चाउचाउ, वियर, ड्राई सिरप औषधी, चुरोट, तोरीको तेल र प्रशोधित दुधको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको देखिएको छ भने च क्यापसुल औषधी, ईट्टा, ट्याब्लेट औषधी, चकलेट, सिमेन्ट, लिक्विड औषधी र विस्कुट लगायतका वस्तुको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ । 

पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको ८.१८ प्रतिशत अर्थात्रु.२८ अर्ब ६२ करोड औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् । 

सेवा क्षेत्र समीक्षा अवधिमा यस प्रदेशमा पर्यटक आगमन २ प्रतिशतले ह्रास आएको छ भने हवाई यात्रुको आगमन ०.९ प्रतिशतले वृद्धि भएको छ । 
वित्तीय क्षेत्रतर्फ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन र कर्जा लगानी गत वर्षको सोही अवधिको तुलनामा क्रमशः ११.३५ प्रतिशत र ११.९७ प्रतिशतले वृद्धि भएको छ । 

पूर्वाधार र रोजगारी अन्तर्गत कालीगण्डकी करिडोर अन्तर्गतको मालढुङ्गा–राम्दी–गैडाकोट खण्डको निर्माण कार्यको भौतिक प्रगति करिब ६८ प्रतिशत तथा वित्तीय प्रगति ६४ प्रतिशत रहेको छ ।

बेनी–जोमसोम खण्डको भौतिक प्रगति ८४ प्रतिशत तथा वित्तीय प्रगति ८१ प्रतिशत रहेको छ । तनहुँ जलविद्युत आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत तथा वित्तीय प्रगति ५२ प्रतिशत प्रतिशत रहेको छ ।
 

थप समाचार