Below Menu

वित्तीय सूचना लुकाएको आरोपमा इन्टेलविरुद्ध मुद्दा, शेयर मूल्यमा एकै दिन २९ प्रतिशतको पहिरो

वित्तीय सूचना लुकाएको आरोपमा इन्टेलविरुद्ध मुद्दा, शेयर मूल्यमा एकै दिन २९ प्रतिशतको पहिरो

एजेन्सी : अमेरिकी प्रविधि कम्पनी इन्टेलविरुद्ध लगानीकर्ताहरूले कम्पनीको आर्थिक अवस्थाबारे महत्त्वपूर्ण सूचना लुकाएको आरोप लगाउँदै मुद्दा दायर गरेका छन्।

Sponsored Advertisement

व्यक्तिगत कम्प्युटर (पीसी) को बिक्रीमा आएको गिरावट र त्यसले कम्पनीको आम्दानीमा पार्न सक्ने प्रभावबारे समयमै जानकारी नदिएको आरोप लगानीकर्ताले लगाएका हुन्।

क्यालिफोर्नियाको सान होजे अदालतमा दायर गरिएको प्रस्तावित सामूहिक मुद्दामा इन्टेलले बिक्रीमा आएको सुस्तताबारे शेयरधनीलाई समयमै जानकारी नदिएको उल्लेख छ। यसका कारण कम्पनीको शेयर मूल्य वास्तविक अवस्थाभन्दा कृत्रिम रूपमा उच्च कायम भएको र पछि एकै दिन करिब २९ प्रतिशतले घटेको दाबी गरिएको छ।

अक्टोबर ३० मा इन्टेलको शेयर मूल्यमा ठूलो गिरावट आएको थियो। कम्पनीले आगामी वित्तीय प्रतिवेदनमा अपेक्षाभन्दा कमजोर आम्दानी हुने प्रक्षेपण सार्वजनिक गरेपछि शेयर मूल्यमा भारी गिरावट आएको हो। उक्त गिरावटका कारण कम्पनीको बजार पुँजीकरणबाट दशौँ अर्ब अमेरिकी डलर बराबरको मूल्य गुमेको थियो।

कानुनी फर्म रोबिन्स गेलर रुडम्यान एन्ड डाउडले इन्टेलका साधारण शेयर २३ जुलाईदेखि २९ अक्टोबरसम्म खरिद गरेका लगानीकर्ताको तर्फबाट मुद्दा दायर गरेको हो। मुद्दामा कम्पनीसँगै प्रमुख कार्यकारी अधिकृत (सीईओ) टान लिप–बु र अन्य उच्च पदाधिकारीलाई समेत प्रतिवादी बनाइएको छ।

उजुरीमा इन्टेलले लगानीकर्तालाई दिएको विवरणमा महत्त्वपूर्ण रूपमा गलत तथा भ्रामक अभिव्यक्ति दिएको आरोप लगाइएको छ। विशेषगरी पीसी बिक्रीमा आएको सुस्तता र डेटा सेन्टरसम्बन्धी परियोजनाले कम्पनीको आर्थिक प्रदर्शनमा पारेको प्रभावबारे पर्याप्त जानकारी सार्वजनिक नगरिएको दाबी गरिएको छ।

अक्टोबरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार सेप्टेम्बरमा समाप्त भएको तीन महिनाको अवधिमा इन्टेलको कम्प्युटर हार्डवेयर बिक्रीमा उल्लेखनीय गिरावट आएको थियो। यसले बजारमा मागमा सुधार भइरहेको भन्ने कम्पनीका यसअघिका संकेतलाई कमजोर बनाएको थियो।

मुद्दामा पीसीको माग घट्दा कम्पनीको त्रैमासिक आम्दानीमा प्रत्यक्ष असर परेको उल्लेख छ। उक्त अवधिमा कम्पनीको आम्दानी ९ प्रतिशतले घटेर ८ अर्ब १० करोड अमेरिकी डलरमा सीमित भएको थियो। यो अघिल्लो तुलनात्मक अवधिको भन्दा करिब ८० करोड अमेरिकी डलर कम हो।

एआई पूर्वाधारमा ठूलो लगानी, चिप अभावको चुनौती

इन्टेलले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको बढ्दो मागलाई सम्बोधन गर्न चिप उत्पादन तथा उत्पादन पूर्वाधारमा ठूलो लगानी गर्दै आएको छ। एआई कम्प्युटिङका लागि आवश्यक सेमिकन्डक्टरको माग बढ्दै जाँदा उत्पादनको ठूलो हिस्सा डेटा सेन्टरतर्फ केन्द्रित भएको छ।

यसको प्रभाव पीसी तथा अन्य विद्युतीय उपकरणमा प्रयोग हुने चिपको आपूर्ति र मूल्यमा समेत परेको छ। चिपको माग र आपूर्तिबीच असन्तुलन बढ्दा पीसी उत्पादकहरूले आवश्यक चिप प्राप्त गर्न कठिनाइ भोग्नुपरेको कम्पनीको भनाइ छ।

इन्टेलका प्रमुख कार्यकारी अधिकृत टान लिप–बुले अक्टोबरमा विश्लेषकहरूसँगको छलफलका क्रममा सेमिकन्डक्टर उद्योगले ुअभूतपूर्व मेमोरी अभावु को सामना गरिरहेको बताएका थिए। उनका अनुसार यसले पीसीका लागि आवश्यक चिपको आपूर्तिमा समेत समस्या सिर्जना गरेको छ।

‘हामीले यी चुनौतीहरूलाई तत्काल सम्बोधन गर्न आवश्यक छ,’ टानले अक्टोबरमा भनेका थिए। यसैबीच, पछिल्लो एक महिनामा इन्टेलको शेयर मूल्य ३७.५ प्रतिशतले घटेको छ। यद्यपि, वर्षको समग्र अवधिलाई हेर्दा कम्पनीको शेयर मूल्य अझै ५१ प्रतिशतले माथि रहेको छ।

लगानीकर्ताले लगाएको आरोपबारे इन्टेलको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। यस विषयमा प्रतिक्रिया लिन बीबीसीले कम्पनीलाई सम्पर्क गरेको जनाएको छ।

थप समाचार