काठमाडौं : पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले २४ करोड १३ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ३५७८.०२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ६५ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
असोज मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी बढेका कारण नाफामा उल्लेख्य सुधार देखिएको हो । यसका साथै कम्पनीको सञ्चालन मुनाफा र अन्य आम्दानी बढेका घटेका कारण पनि खुद नाफामा वृद्धि देखिएको हो ।
गत वर्षको सोही अवधिमा विद्युत बिक्रीमार्फत ३१ करोड ८१ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी असोज मसान्तसम्म आइपुग्दा ५१ करोड ५८ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन ६२.१२ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको कुल नाफा गत वर्षको २० करोड २२ लाख ५० हजार रुपैयाँबाट बढेर ३८ करोड ९० लाख ३५ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको आम्दानी पनि गत वर्षको ३१ करोड ८२ लाख २० हजार रुपैयाँबाट बढेर यस वर्ष ५१ करोड ५९ लाख नौ हजार रुपैयाँ पुगेको छ ।
यसैगरी कम्पनीको सञ्चालन मुनाफा गत वर्षको असोज मसान्तसम्म १८ करोड ३५ लाख ७६ हजार रुपैयाँ रहेको चालु आवको वर्षको सोही अवधिमा बढेर ३६ करोड २३ लाख ३७ हजार रुपैयाँ पुगेको छ। गत वर्ष ५१ हजार रुपैयाँ रहेको कम्पनीको अन्य आम्दानी पनि यस वर्ष बढेर २६ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
पहिलो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत वर्ष ०.८२ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी बढेर ३०.१७ रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ११.४८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९.८७ रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म तीन अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन अर्निङ ३१ करोड २३ लाख ८५ हजार रुपैयाँ र अन्य इक्विटीमा ३४ लाख ७८ हजार रुपैयाँ सञ्चित रहेको छ।