काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने तेल र ग्यासलगायतका खनिज पदार्थ रहेको बताएका छन् ।
मिडिया इन्टरनेसनलद्वारा बिहिबार आयोजित अन्तक्र्रियामा उनले देशको प्राकृतिक स्रोत र जनशक्तिको सदुपयोगबाटै राष्ट्रलाई समृद्ध बनाउन सकिने बताए ।
उपप्रधानमन्त्री पौडेलले सही राजनीतिक नेतृत्व, स्पष्ट दृष्टिकोण र प्रभावकारी कार्यान्वयन भएमा विदेश पलायन भएका नेपाली युवालाई स्वदेशमै अवसर सृजना गर्न सकिने विश्वास व्यक्त गरे ।
मुलुकको दीर्घकालीन विकासलाई सम्बोधन गर्न बजेट केन्द्रित रहेको बताउँदै उनले भने, “हाम्रो जनशक्ति देशभित्रै कसरी रोक्ने र यहीँ अवसर कसरी सृजना गर्ने भन्ने उद्देश्यमा नै यो बजेट परिलक्षित छ ।”
जलस्रोत, प्रकृति र प्राकृतिक सम्पदाको सही सदुपयोग नै विकासको मूल आधार भएको उनको भनाइ थियो । सरकारले बजेटमार्फत युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न विशेष कार्यक्रम ल्याएको बताउँदै उपप्रधानमन्त्री पौडेलले सरकारले स्टार्टअप, सूचना प्रविधि (आइटी) र अन्य नवीनतम उद्यमशीलताका क्षेत्रमा नयाँ कार्यक्रम अघि सारेकाले यसको कार्यान्वयनसँगै युवाहरूले देशभित्रै आफ्नो भविष्य खोज्ने बलियो आधार तयार हुने उल्लेख गरे।
मानिसले अन्तरिक्षमा सम्भावना खोजिरहेको अहिलेको अवस्थामा हामीले आफ्नै देशका सम्भावना खोज्नुपर्ने बताउँदै अर्थमन्त्री पौडेलले हामीसँग भएको प्राकृतिक सम्पदाको विशाल भण्डारलाई सही उपयोग गरी जनशक्तिलाई देशको विकास र समृद्धिमा परिचालित गर्नुपर्नेमा जोड दिए ।