जग्गाको आर्थिक लेनदेनमा ठगीः पालिकाका पूर्वअध्यक्ष साहसहित चार जनालाई पक्राउ पुर्जी

जग्गाको आर्थिक लेनदेनमा ठगीः पालिकाका पूर्वअध्यक्ष साहसहित चार जनालाई पक्राउ पुर्जी

रौतहट : रौतहटको दुर्गा भगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुणकुमार साहसहित चार जनालाई पक्राउ पुर्जी जारी भएको छ । जग्गाको आर्थिक लेनदेनमा रकम ठगी गरेको आरोपमा पक्राउ गर्न जिल्ला अदालत रौतहटले प्रहरीलाई पक्राउ पुर्जी अनुमति दिएको हो ।

गाउँपालिकाका पूर्वअध्यक्ष साह, नापी कार्यालय डिल्लीबजार काठमाडौका नापी अधिकृत सञ्जय साह, काठमाडौँ नागार्जुन ४ बस्ने विमलादेवी श्रेष्ठ र उनका छोरा धिरज श्रेष्ठलाई अदालतले ज्येष्ठ १३ गते इलाका प्रहरी कार्यालय गरुडालाई पक्राउ पुर्जी अनुमति दिएको छ ।

‘पूर्वपालिका अध्यक्ष साहसहितलाई पक्राउ गरेर अनुसन्धान गर्न अदालतले पक्राउ पूर्जी जारी गरेको छ, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले भने, ‘मुख्य अभियुक्तसँगै पूर्वअध्यक्ष साहलाई पनि प्रहरीले पक्राउको तयारी गरेको छ ।’ जग्गाको आर्थिक लेनदेनमा रकम ठगी गरेको आरोप पूर्वअध्यक्ष साहलाई लागेको उनले जानकारी दिए । 

सर्लाहीको हरिपुर वडा नं. ७ मा रहेको जग्गा खरिद गर्न  बापत गरुडा ६ पोठियाहीका सन्तोष कुमार चौधरीले विभिन्न चरणमा एक करोड ४३ लाख रकम नगद र चेक मार्फत रकम दिएपनि जग्गा पास नगराएर आलटाल गर्दै आएको भन्दै उनिहरु विरुद्धमा ठगी मुद्दा दायर गरेका थिए । 

हरिपुरको कितानम्बर ७७३ को ११ कटठा १४ धुर जमिन खरिद गर्दा नापी अधिकृत साहको नाममा रजिस्ट्रेसन पास गरेपनि उनले ०८०÷०८१ मा चौधरीलाई थाहा नदिकन सो जमिन चार कित्ता बनाई चार जनालाई बिक्री गरेर ठगी गरेको आरोप लागेको छ ।

जग्गा खरिद विक्रीमा अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भैसकेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
 

थप समाचार