एक महिनामा २४ अर्ब १० करोड वैदेशिक लगानी प्रतिवद्धता, कृषिमा सर्वाधिक 

एक महिनामा २४ अर्ब १० करोड वैदेशिक लगानी प्रतिवद्धता, कृषिमा सर्वाधिक 

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन मसान्तसम्म २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता एको छ । 

उद्योग विभागका अनुसार १२७ परियोजनाका लागि उक्त रकम बराबरको लगानी प्रतिवद्धता आएको हो । यसअवधिमा ८१ परियोजनामा अटोमेटीक रुटबाट ७३ करोड सात लाख ४५ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने कागजी प्रक्रियाबाट ४६ परियोजनामा २३ अर्ब ३७ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । 

दर्ता भएका उद्योगमा ८ हजार २६८ जनाले रोजगारी पाउने भएका छन्  । यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग १२५ वटा र ठूला उद्योग दुई वटा रहेका छन् । 

विभाग अनुसार साउन कृषि क्षेत्रका तीन परियोजनामा २० अर्ब चार करोड ५५ लाख रुपैयाँ, पर्यटन क्षेत्रका ४१ परियोजनामा तीन अर्ब दुई करोड, उत्पादन मुलुक क्षेत्रका तीन परियोजनामा १५ करोड ५० लाख,  ऊर्जा सम्बन्धी एक परियोजनामा १८ करोड ४२ लाख ५० हजार, सेवामुलक क्षेत्रका आठ परियोजनामा ३३ करोड ५० लाख र सुचना प्रविधिका ७१ परियोजनामा ३६ करोड ५२ लाख ४५ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

विभागका अनुसार यस अवधिमा नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत करिब तीन अर्ब रुपैयाँ रोयल्टी लगेका छन् । विदेशी लगानीकर्ताले नेपालबाट दुई अर्ब ९० करोड ७७ लाख ८९ हजार रुपैयाँ लाभांश लगेका हुन् । 

यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत १८ करोड ४० लाख ६१ हजार, दुई लाख ५७ हजार अमेरिकी डलर र भारुमा थप १९ लाख १७ हजार रुपैयाँ रोयल्टी लगेका हुन् । 

थप समाचार