पौने ६ अर्बको लागानीमा रुपन्देहीमा सुविधासम्पन्न इन्धन डिपो निर्माण गर्दै आयल निगम

पौने ६ अर्बको लागानीमा रुपन्देहीमा सुविधासम्पन्न इन्धन डिपो निर्माण गर्दै आयल निगम

काठमाडौं : नेपाल आयल निगमले रुपन्देहीमा नयाँ अत्याधुनिक सुविधासम्पन्न इन्धन डिपोसहितको लुम्बिनी प्रादेशिक कार्यालय स्थापना गर्ने भएको छ। 
जिल्लाको रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको साढे २५ बिघा क्षेत्रफलमा  इन्धन डिपोसहितको कार्यालय बनाउन लागेको हो।

निगमले निर्माण गर्न लागेको अत्याधुनिक प्रविधिको नयाँ इन्धन डिपोको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काठमाडौं विश्वविद्यालयले हस्तान्तरण गरेको छ । 
२०८१ साल मंसिर १२ गते काठमाडौं विश्वविद्यालय, कन्सल्टेन्सी सेवा विभाग र आयल निगम, भण्डारण क्षमता वृद्धि परियोजनाबीच डिपिआर निर्माणका लागि सम्झौता भएको थियो । सोही अनुसार तयार पारिएको डिपिआर आज हस्तान्तरण भएको हो ।

रोहिणी र ओमसतिया गाउँपालिकामा आयल निगमले साढे ११ बिघा जग्गा खरिद गरेको छ । सो क्षेत्रमा रहेको थप साढे ८ बिघा पर्ति जग्गा निगमको स्वामित्वमा ल्याउन गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट आवश्यक पहल भइसकेको निगमका भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख ई. प्रदिप कुमार यादवले बताए । 

जग्गा प्रवेश गर्ने मुलबाटोसँग जोडिएको करिब साढे पाँच बिघा पनि जग्गा प्राप्ती ऐन, ०३४ अनुसार प्राप्ती गर्न प्रकृया थालनी भइसकेको उनले बताए ।
यसरी करिब साढे २५ बिघा फराकिलो क्षेत्रफलमा आयल निगमको आधुनिक र सुविधा सम्पन्न लुम्बिनी प्रादेशिक कार्यालय निर्माण हुने भएको हो ।  

उक्त स्थानमा इन्धन डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकाबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ निगमले जनाएको छ । पर्ती जग्गा भोगचलन गरीरहेका ९७ जना स्थानीयले डिपो निर्माणका लागि आवश्यक सहयोग र समन्वयन गर्न लिखित सहमति गरेको निगमले जनाएको छ । 

रोहिणी नदी किनारमा रहेको जग्गामा २०८१ साल बैशाख ५ गते ओमसतिया गाउँपालिका अध्यक्ष मन्जितकुमार यादव र रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवसहितका जनप्रतिनिधिहरुको उपस्थितिमा भूमी पुजन गरी निर्माण कार्यको थालनी भएको थियो। 

एक वर्षको अवधिमा भूमी सम्याउने र नदी किनारमा ग्याबियन जाली, रिटेनिङ्ग वाल आदि निर्माण गरी जग्गाको संरक्षण गर्ने कार्य सम्पन्न गरिसकिएको पनि ई. यादवले बताए ।

जग्गा परिसरमा साइट कार्यालय संचालनमा भइसकेको रसुरक्षा गार्ड पोष्ट निर्माण गरी सुरक्षाकर्मीसमेत परिचालन गरीसकिएको निगमले जनाएको छ । 

जग्गाको सम्मुखमा प्रवेशद्वार समेत निर्माण भइसकेको सो जमिनमा कर्मचारी आवास गृह, महिला तथा पुरुष आर्मीको लागी छुट्टाछुट्टै आवास गृह, ट्यांकर चालक आराम गर्ने संरचना, सुरक्षा पोष्ट, ट्यांकर पार्किङ क्षेत्रलगायतका संरचनाहरु डिपो हाता भित्र निर्माण हुनेछ । 

यस कार्यका लागि कर बाहेक पाँच अर्ब ७९ करोड ३० लाख ६४ हजार ९४१ रुपैयाँ ५१ पैसा लागत अनुमान तयार गरिएको छ ।
लुम्बिनी प्रदेशमा इन्धन बितरणका लागि नेपाल आयल निगम लिमिटेडले हाल साढे पाँच बिघा जमिनमा फैलिएको रुपन्देहीको भलवारीमा प्रादेशिक कार्यालय संचालन गरिरहेको छ । 

यस डिपोमा पेट्रोलका लागि ५ सय १९ किलोलिटर, डिजेलका लागि ३ हजार ४० किलोलिटर र मट्टितेलका लागि २ सय ८० किलोलिटर क्षमताको भण्डारण गृह छ । सो क्षमताले नधानेपछि वर्तमान समयको खपत परिमाण पूर्तिका लागि जग्गा अभाव छ ।

अर्कातिर, बुटवल–भैरहवा मुख्य राजमार्गसँगै जोडिएको र घना बस्तीको बीचमा रहेको डिपोबाट पेट्रोलियम जस्तो प्रज्वलनशील पदार्थको कारोबार हुँदा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयले डिपो स्थानान्तरणका लागि निरन्तर खबरदारी र बिरोध  गरेकाले रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको करिब साढे २५ बिघा जमिनमा नयाँ र अत्याधुनिक इन्धन डिपो निर्माण कार्य अघि बढाउन लागिएको निगमले जनाएको छ।  

थप समाचार