कोटेश्वरमा फ्लाई ओभर र सुरुङमार्ग बनाउन जापानसँग ३० अर्ब ऋण लिने सरकारको निर्णय 

कोटेश्वरमा फ्लाई ओभर र सुरुङमार्ग बनाउन जापानसँग ३० अर्ब ऋण लिने सरकारको निर्णय 

काठमाडौं : सरकारले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट ३४ अर्ब ४९ करोड जापानी येन (३० अर्ब ८ करोड रुपैयाँ)  सहुलियतपूण ऋण लिने भएको छ । मन्त्रिपरिषद्को भदौ २ गते बसेको बैठकले सो रकम बराबर ऋण लिने निर्णय गरेको हो।

यसका साथै सो बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोषको सदस्य राष्ट्रहरूको फण्ड कोटामा मा ५० प्रतिशतले वृद्धि गरिने प्रस्तावको पक्षमा सहमति प्रदान गरेको छ । कोटा वृद्धि गर्दा थप हुने करिव ७८.४५ मिलियन एसडिआरमध्ये सोको २५  प्रतिशत चालु आर्थिक वर्षको विनियोजित बजेटबाट र बाँकी ७५ प्रतिशत नेपाल  राष्ट्र बैंकको नाममा प्रमिसरी नोट अर्थपत्र जारी गरी भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले छानविन समितिको सिफारिसमा नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझाले खराब आचरण प्रदर्शन गरेको कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकोले निजलाई नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने निर्णय गरेको छ । 

यसैगरी, २०८२ कात्तिक १० देखि १४ गतेसम्म अरब गणतन्त्र ईजिप्टको शार्म अल शेखमा हुने सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय सङ्गठनको २५ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउन माननीय महालेखापरीक्षक तोयम राया नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु 

थप समाचार