पोखरा : आकाश डिजिटल प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत (सीईओ) टंकप्रसाद अधिकारी यूनाइटेड किंगडमस्थित इनोभेट फाइनान्सद्वारा प्रकाशित ‘इनोभेट फाइनान्स प्राइड इन फिनटेक पावरलिस्ट २०२५’ मा चयन भएका छन् ।
उक्त पावरलिस्ट विश्वभरका उत्कृष्ट Start up फिनटेक नवप्रवर्तकहरू बीच एक प्रतिष्ठित मान्यता मानिन्छ । इनोभेट फाइनान्सद्वारा हरेक वर्ष प्रकाशित यो सूचीले वित्तीय प्रविधि क्षेत्रमा विविधता, समावेशिता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्छ।
अधिकारी विगत करिब एक दशकदेखि नेपालको सहकारी तथा फिनटेक अटोमेशन क्षेत्रमा प्रविधि–आधारित सुधारका लागि सक्रिय रहँदै आएका छन्। आकाश डिजिटलमार्फत उनले सहकारीहरूको दस्तावेज व्यवस्थापन, स्वचालन तथा डिजिटल रूपान्तरणमा उल्लेखनीय योगदान दिएका छन्।
आकाश डिजिटलले हाल ५०० भन्दा बढी सहकारी संस्थाहरू लाई डिजिटल डाकुमेन्ट म्यानेजमेन्ट सिस्टम (Akash DMS) मार्फत क्लाउड–आधारित सेवा पुर्याइरहेको छ ।
अधिकारीले आफ्नो चयनप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘यो मान्यता व्यक्तिगत मात्र होइन, नेपालको सहकारी अटोमेशन प्रविधि क्षेत्रको पनि प्रतिनिधित्व हो। कागजदेखि क्लाउडसम्म अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा मैले यसलाई लिएको छु।‘
इनोभेट फाइनान्स यूकेको अग्रणी फिनटेक संस्था हो, जसको उद्देश्य विश्वव्यापी वित्तीय प्रविधि क्षेत्रमा समावेशी, सुरक्षित र नवप्रवर्तनशील वातावरण निर्माण गर्नु हो। संस्थाले Pride in FinTech Powerlist मार्फत हरेक वर्ष यस्ता अग्रणी व्यक्तित्वहरूलाई सम्मान गर्छ, जसले विविधता र समानताको मूल्यलाई प्रविधिसँग जोड्दै समाजमा प्रभाव पारिरहेका छन् ।
अधिकारीको नाम समावेश भएको उक्त सूची आगामी नोभेम्बर ३ (सोमबार) मा सार्वजनिक हुँदैछ । डिसेम्बर ४ मा लन्डनस्थित Google Headquarters मा आयोजना हुने Celebratory Event मा Innovate Finance ले सबै चयनित व्यक्तित्वहरूलाई सम्मान गर्ने जनाएको छ ।

आकाश डिजिटल प्रा. लि. २०७४ सालमा पोखरामा स्थापना गरिएको हो । संस्थाले सहकारी क्षेत्रका लागि Digital KYM, Loan Automation, Document Control, Expiry Management, CRM Dashboard लगायतका प्रविधि–आधारित सेवा विकास गरेको छ ।
यस कम्पनीको क्लाउड–आधारित प्रणालीमार्फत सहकारीहरूलाई पारदर्शिता, द्रुत सेवा र सुरक्षित डेटा व्यवस्थापन प्रदान हुँदै आएको छ ।
Advertisment