मुगुको सडक दुर्दशाः सरकारी लक्ष्य अलपत्र, राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्षमा पनि हुन सकेन कालोपत्रे

मुगुको सडक दुर्दशाः सरकारी लक्ष्य अलपत्र, राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्षमा पनि हुन सकेन कालोपत्रे

मुगु : राष्ट्रिय सडक सञ्जालमा जोडिएर १४ वर्ष बितिसक्दा पनि मुगु जिल्लाका सडकहरू अझै कालोपत्रे हुन सकेका छैनन् । कच्ची र साँघुरो सडकका कारण यहाँका स्थानीय बासिन्दा र यात्रुहरू दैनिक जीवनमा ठूलो कठिनाइ भोग्नुपरेको छ ।

Sponsored Advertisement

२०६९ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा उद्घाटन गरिएको नाग्म–गमगढी सडकको मुगुजिल्ला क्षेत्रमा अहिलेसम्म एकपटक पनि कालोपत्रे गरिएको छैन ।

सरकारले २०७२ सालभित्र जिल्ला जोड्ने सडक कालोपत्रे गर्ने लक्ष्य राखे पनि हिलाम्ये वर्षा र धुलाम्ये हिउँद, सडकको किनारमा नाला, घुम्ती, वाल र सुरक्षासम्बन्धी कुनै सुविधा नहुँदा काम अपूर्ण रहेको छ ।

स्थानीय चालक सुसील बुढाले बताएअनुसार, रोजीरोटीका लागि बाध्य भएर उनी र अन्य चालकहरूले नाग्म–गमगढी सडक खण्डमा जोखिम मोलेर साना र ठूला सवारी साधनहरू चलाइरहेका छन् ।

कालीकोट–नाग्म–गमगढी सडक ९४ किलोमिटर भए पनि जुम्ला–हाडसिंन्जा ७ किलोमिटर बाहेक बाँकी सडक कालोपत्रे हुन सकेको छैन । ताल्चा विमानस्थल–गमगढी ९ किलोमिटर, गमगढी–तारापानी–सोरुकाट ४१ किलोमिटर, गमगढी–छाइल १८ किलोमिटर र गमगढी–बालैपिना–खत्याड–कालाकाँडा–जुम्ला ३५ किलोमिटर सडक पनि कालोपत्रे नभएको छ ।

छाँयानाथ यातायात प्रालिका सचिव सन्तोष हाहीले भने, ‘सडकको कमजोर मापदण्डका कारण गाडीका पाटा, टायरलगायतका उपकरण बिग्रन्छन् र वर्षेनि सडक दुर्घटनाले मानबिक तथा धनजनको ठूलो क्षति हुन्छ ।’

संघीय र प्रदेश सरकारबीच जिम्मेवारीको विभाजनका कारण मुगुमा सडक विकास ढिला भएको हो । तर, यस वर्ष ताल्चा–गमगढी सडक कालोपत्रे तथा मर्मत सुधारका लागि बजेट व्यवस्था गरिएको मुगुका प्रदेशसभा सदस्य जित बहादुर मल्लले जानकारी दिए ।

मुगुका सडकको जोखिमपूर्ण अवस्थाले स्थानीय बासिन्दा मात्र होइन, रारा ताल जस्ता पर्यटकीय स्थल घुम्न आउने पर्यटकहरूलाई पनि सास्तीमा पारिरहेको छ ।
 

थप समाचार