Below Menu
Below Menu

हेटौँडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने

हेटौँडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने

हेटौँडा : पूर्व–पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत हेटौँडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने भएको छ । 

सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य बजार क्षेत्रमा निर्माण कार्य तीव्र रूपमा अघि बढाएपछि सवारी आवागमन प्रभावित नहोस् भनी अस्थायी रुट परिवर्तनको व्यवस्था गरेको हो ।

काठमाडौँ र चितवनतर्फ जाने सवारी साधनका लागि हेटौँडा–१ स्थित चौकीटोल (तिरतिरे धारा) बाट राप्ती पुल हुँदै रातोमाटे निकाल्ने निर्णय गरिएको छ । पूर्वतर्फबाट प्रवेश गर्ने सवारीलाई समेत रातोमाटेदेखि नै डायभर्ट गरिने तयारी कार्यालयले पूरा गरिसकेको छ ।

कार्यालय प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार सडक विस्तार तथा मर्मत कार्य चरणबद्ध रूपमा अघि बढाइँदैछ । ‘मुख्य बजार क्षेत्रमा निर्माण जारी रहने भएकाले वैकल्पिक मार्ग प्रयोग गरेर मात्रै सवारी चलाइनेछ,’ अधिकारीले बताए । उनका अनुसार रातोमाटे–त्रिवेणीधाम–राप्ती पुल मार्गलाई मुख्य वैकल्पिक रुटका रूपमा प्रयोग गरिनेछ । 

यस्तै, काठमाडौँ वा नारायणगढबाट आएका र वीरगन्जतर्फ लाग्ने सवारीलाई मुख्य बजार क्षेत्रमै नल्याई वैकल्पिक बाटोतर्फ मोडिने व्यवस्था मिलाइएको छ । पूर्वतर्फ जाने सवारीलाई राप्ती पुल–त्रिवेणी–रातोमाटे मार्ग प्रयोग गराइने छ भने पश्चिमतर्फ चितवन वा काठमाडौँतर्फ जाने सवारीलाई पुनः रातोमाटे–राप्ती पुल हुँदै नै चलाइनेछ ।

कान्ति र मदन भण्डारी लोकमार्गतर्फ जाने सवारीलाई पनि कमाने हुँदै रातोमाटे पु¥याउने योजना अगाडि सारिएको छ। वैकल्पिक रुट सञ्चालनयोग्य बनाउन खाल्डाखुल्डी पुर्ने, ग्राभेल प्याक गर्ने लगायतका काम शुरु भइसकेको अधिकारीले बताए ।

Advertisment

थप समाचार