Below Menu
Below Menu

सहकारीमा व्यवस्थापनमाथि हस्तक्षेप: तत्काल सुधारको आवश्यकता

सहकारीमा व्यवस्थापनमाथि हस्तक्षेप: तत्काल सुधारको आवश्यकता

पृष्ठभूमि
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून) जस्तो अभिभावक संस्थाभित्र सञ्चालकबाट कर्मचारीमाथि भएको दुव्र्यवहारको घटनापछि पक्कै पनि सहकारी अभियान मर्माहत बनेको छ । अभियान नै तरङ्गित भएको यो घटनाले सहकारी संघ/संस्थाको व्यवस्थापनमा समितिको हस्तक्षेप उदाङ्गिएको छ । बचत तथा ऋण सहकारी संस्थाहरुको मार्गदर्शक नेफ्स्कुनको यो घटना दुर्भाग्यपूर्ण हो । हुन त यो भन्दा कैयौं गुणा बढी मानसिक दुव्र्यवहारहरु कर्मचारीहरुले सहँदै आएका छन् तर ती सुसुप्त अवस्थामा छन् । यो घटनाले पदलाई शक्तिको रुपमा लिने र कर्मचारीलाई सेवकका रुपमा हेर्ने सामन्ती संस्कार सहकारीमा जीवित रहेको स्पष्ट पार्छ ।

Sponsored Advertisement

सहकारीका प्रायजसो तालिम/गोष्ठी जस्ता कार्यक्रममा समिति र व्यवस्थापनबीचको सम्बन्धले प्राथमिकता नपाएको भने होइन । तर सैद्धान्तिक रुपमा स्पष्ट हुँदाहुँदै पनि व्यवहारमा त्यो भन्दा फरक अभ्यास हुँदै आएको छ अधिकांश सहकारी संघ/संस्थामा । यदी व्यवस्थापन प्रमुख दक्ष र व्यावसायिक छन् भने त्यस संस्थामा समितिको हस्तक्षेपकारी भूमिका स्वीकार्य हुँदैन । यसले संस्था स्वनियमन र सुशासनमा संचालित भई सदस्यहरुको विश्वास आर्जन गर्दै समुदायमा स्थापित भएका हुन्छन् ।

समितिको व्यवस्थापनमाथि हस्तक्षेपको अवस्था
सहकारी ऐन, २०७४ को दफा ४३ को खण्ड ‘ख’ मा समितिको काम, कर्तव्य र अधिकारभित्र आर्थिक तथा प्रशासनिक कार्य गर्ने गराउने उल्लेख छ । यसको तात्पर्य कुनै निश्चित कारोबार वा कर्मचारी नियुक्त गर्न संस्थाको आम्दानीले धान्न नसक्ने अवस्थासम्म समिति स्वंमसेवी भई आफै संस्था सञ्चालन गर्न सक्ने भन्ने बुझिन्छ । संस्थाको कारोबारमा वृद्धि भए सँगसँगै समितिले दक्ष एवं व्यवसायिक व्यवस्थापन प्रमुख नियुक्त गर्नुको विकल्प छैन ।

नीति तथा योजना निर्माणमा संलग्न हुनुपर्ने व्यक्ति व्यवस्थापनमा जोडिदा स्वार्थको द्वन्द्वले संस्थाहरु धरासायी भएका कैयौं उदाहरण हामी बीचमा छन् । विगत धेरै वर्षदेखि संस्थामा कार्यकारी अध्यक्ष वा प्रबन्ध निर्देशक वा कार्यकारी सञ्चालक रही गलत अभ्यास हुँदै आएकोमा सोही ऐनको दफा ४१ को उपदफा ४ ले कार्यकारी बन्न सञ्चालक समितिलाई बन्देज गरेको छ । यद्यपि निजी स्वार्थबाट प्रेरित भएर खोलिएका कपितय संस्था लगायत धेरै संस्थाको व्यवस्थापनमा अहिले पनि समितिकै दबदवा देखिन्छ । 

अन्य व्यावसायिक संगठनहरु भन्दा पृथक सहकारी संघ/संस्थाका सञ्चालक समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष जस्ता पदहरुको व्यवस्थापन गरिएको हुन्छ । प्रारम्भिक सहकारी संस्थादेखि केन्द्रीय स्तरका संघसम्म नै यस प्रकारको संरचनाले समितिको व्यवस्थापनमाथि हस्तक्षेपकारी भूमिकामा वृद्धि भएको देखिन्छ । कोषाध्यक्षको दस्तखतबाट बैंक खाता सञ्चालन, बैठकको एजेण्डा लगायतका तयारी एवं कार्यक्रम सञ्चालनमा सचिवको भूमिकाले यो कुरालाई प्रष्ट पार्दछ । सिद्धान्तत कर्मचारीको व्यवस्थापन भएपछि समितिबाट दैनिक कार्यालय सञ्चालनमा हस्तक्षेप हुनुहुँदैन । धेरै जसोले समिति निर्वाचित हुने हुँदा आफूलाई मालिक र कर्मचारीहरुलाई नोकर सम्झन्छन् ।

मुख्यतः समितिको नेतृत्वकर्ता अध्यक्ष र व्यवस्थापन प्रमुखको सुसम्बन्ध संघ/संस्थाका लागि अनिवार्य शर्त हो । तर विधि र पद्दति भन्दा बाहिर आफू अनुकुलको व्यवस्थापन प्रमुखको खोजीले द्वन्द्व निम्त्याएको पाइन्छ । कर्मचारीहरु नियुक्तिदेखि कार्यालय सहयोगीजस्ता सहायक कर्मचारीहरुको नियुक्तिमा समेत समितिकोे हस्तक्षेप भयो भने त्यहाँ व्यवस्थापनको कार्यसम्पादन कमजोर बन्ने निश्चित छ । 

यसैगरी जब व्यवस्थापन प्रमुखलाई वेवास्ता गरी पदाधिकारीले आफु निकटका कर्मचारीसँग रिपोटिङ्ग लिन थाल्छन, त्यहाँ व्यवस्थापनको चेन अफ कमाण्ड नै ब्रेक हुन्छ । प्रायः स्वार्थी, परिवर्तन हुन नचाहाने र कामको नतिजा दिन नसक्ने कर्मचारीहरु नै व्यवस्थापन प्रमुखको चेन अफ कमाण्डमा बस्न रुचाउँदैनन् । उनीहरु सकेसम्म आफूमाथिको कर्मचारीको नेतृत्वकर्ता भन्दा समितिलाई रिझाउनतर्फ केन्द्रित हुन्छन् । यस्ता कर्मचारीहरु अवसरवाद हुन्छन् । यसले समितिबाट व्यवस्थापकीय कार्यप्रगतिको स्वच्छ र सही मूल्यांकन हुन सक्दैन । फुटाउ अनि राज गर्ने सिद्धान्तलाई अपनाई समितिको व्यवस्थापनमाथिको हस्तक्षेपमा बृद्धि हुँदै जान्छ र संस्थाभित्र चरम द्वन्द्व बढ्छ । अन्त्यमा समग्र व्यवस्थापनको कार्यसम्पादन कमजोर बन्न पुग्छ ।

यी माथि उल्लेखित गलत अभ्यासहरुले व्यवस्थापनमा काम गर्ने वातावरण हुँदैन, अन्त्यमा निरिह भएर छोड्न बाध्य हुन्छन् । त्यसै पनि सहकारी क्षेत्रमा दक्ष जनशक्तिको आकर्षण पाईदैन । यसर्थ उनीहरुको स्थायित्वका लागि के गर्ने बहसको जरुरत देखिन्छ । सहकारीका सञ्चालकहरुले आफूलाई मालिक हुँ भन्ने सोच त्यागेर हामी संरक्षक हौं भन्ने भाव राख्नुपर्छ । यो भाव नभएका व्यक्ति सहकारीकर्मी हुन सक्दैन । 

तत्काल सुधार गर्नुपर्ने विषयहरु
केही सहकारी संस्थाहरु समस्याग्रस्त र समस्या उन्मुख भई हजारौं बचतकर्ता सदस्यहरुको बचत फिर्ता गर्न नसक्दा सहकारी अभियानमाथि आमसमुदायको विश्वासमा संकट छ । अहिले सहकारी अभियान कमजोर धरातलमा उभिएको छ । यस प्रतिकुल अवस्थामा अभियानका माथिल्लो संघ, महासंघमा समिति र व्यवस्थापनबीचकोे द्वन्द्वले थप अधोगति उन्मुख भएका देखिन्छन् । यसर्थ, यस अवस्थामा संघ महासंघ लगायत अन्य संस्थाहरुले सुधारका लागि तत्काल गर्नुपर्ने कार्यहरुलाई यहाँ बुँदागत रुपमा उल्लेख गरेको छु । 

१) सहकारीका सञ्चालक र कर्मचारी दुबैका लागि आचारसंहिता तर्जुमा गर्ने र उल्लंघन भएमा पदबाटै हट्नुपर्ने प्रावधानको व्यवस्था, 

२) समिति र व्यवस्थापनको भूमिका र सीमाको स्पष्ट व्यवस्था, शक्ति सन्तुलन र सीमा रेखाको पालना गरी एकअर्काको जिम्मेवारी, योगदान र अपेक्षाको सम्मान, व्यवसायिक एवं हार्दिक सम्बन्ध विस्तार,

३) सहकारी संघ/संस्थाको विनियम संसोधन गरी कोषाध्यक्ष र सचिव पद खारेज, व्यवस्थापनबाटै बैंक खाता सञ्चालन एवं बैठकको व्यवस्थापन, कार्यक्रम संचालन,

४)    समिति र व्यवस्थापनले आ-आफ्नो जिम्मेवारी र भूमिका अनुरुप इमान्दारीपूर्वक बहन गर्दै एकआपसमा दोषारोपण गर्नुका सट्टा गुण र दोषका आधारमा प्राप्त नतिजाको जवाफदेहिता लिने संस्कारको विकास, 

५) व्यवस्थापन भित्र सुदृढ चेन अफ कमाण्डको व्यवस्था, समितिले व्यवस्थापन प्रमुखमार्फत रिपोर्टिङ्ग लिने प्रणाली स्थापित, अनुशासनमा नबस्ने कर्मचारीलाई व्यवस्थापन प्रमुखबाट भएको विभागीय कार्वाहीमा समितिको सहयोग,

६)    नतिजामुखी कार्यसम्पादनका लागि व्यवस्थापन प्रमुख र समितिबीच करार सम्झौता, निर्धारित लक्ष्य अनुरुप कार्यप्रगतिको स्वच्छ र सही मूल्यांकन, 

७) सक्षम र व्यावसायिक व्यवस्थापन प्रमुखको नियुक्तिका लागि प्रत्येक संघ/संस्थाको कर्मचारी प्रशासन नियमावलीमा विज्ञहरु सम्मिलित स्वतन्त्र पदपूर्ति उपसमिति गठन हुने व्यवस्था,

८) कार्यसम्पादनमा उत्कृष्ट कर्मचारीलाई व्यवस्थापन प्रमुखको सिफारिसमा पुरस्कार र प्रोत्साहनको व्यवस्था, कमजोर कर्मचारीलाई नसिहत,

९) समिति र कर्मचारीबीच आदर र सम्मान पूर्वक व्यवहार, असल कार्य संस्कृतिको विकास गरी काम गर्ने स्वच्छ वातावरण निर्माण,

निष्कर्ष
केही सहकारी समस्याग्रस्त हुँदा अभियानमाथि प्रश्नचिन्ह खडा भएको छ । यतिका संघहरु आवश्यक छ ? नेफस्कुन र महासंघ के हेरेर बस्यो, यिनीहरुको औचित्य के ? लगायतका तमाम प्रश्न खडा भएका छन् । यस अवस्थामा समिति र व्यवस्था बीचको द्वन्द्वलाई सरोकारवाला निकायहरुले गम्भीरताका साथ नियालिरहेका छन् ।  यसर्थ, सुध्रनु र सुध्रार्नुको विकल्प छैन । व्यवस्थापकीय सक्षमताले नै संघ/संस्था सफल हुने कुरालाई बिर्सन हुँदैन । एकआपसका कार्यमा हस्तक्षेप नगरी सीमाभित्र रही आदर र सम्मानपूर्वक व्यवहार गर्दै मूल्यमा आधारित संस्थागत संस्कृतिको विकास गरौं, सहकारी अभियानलाई स्वच्छ र सुदृढ बनाऔं । जय सहकारी । 

(लेखक राष्ट्रिय सहकारी महासंघ लि. नेपालका पूर्व महाप्रवन्धक हुन्)
 

सन्दर्भ सामाग्री
सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान पुस्तक, चित्रा कुमारी थाम्सुहाङ्ग सुव्वा
 

थप समाचार