Below Menu
Below Menu

सेलेघाट–रामेछाप–साँघुटार सडकको काम अलपत्र छाड्दा यात्रुदेखि स्थानीयसम्म असुरक्षित

सेलेघाट–रामेछाप–साँघुटार सडकको काम अलपत्र छाड्दा यात्रुदेखि स्थानीयसम्म असुरक्षित

रामेछाप : रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्री र स्थानीयले हैरानी खेपिरहेका छन् ।

सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारेर छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु किनारबाट काठमाडौं आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ भने स्थानीयको जमिन चर्किएर घर भत्कन लागेका छन् । त्यस्तै सडकले फालेको ढुङ्गा माटोले कतिको उठीबास लागेको छ । सडकमा उड्ने धुलोले घरमा बसिनसक्नुको अवस्था छ । सडकबाट फालेको ढुंगामाटोले धेरै बस्ती जोखिममा परेका स्थानी पूर्णबहादुर महतले जानकारी दिए ।

रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप नगरपालिकाको रामेछाप बजार हुँदै ओखलढुङ्गाको सिमाना लिखु किनारको साँघुटारबजासम्म पुग्ने करिब ५२ किलोमिटर लामो सो सडक निर्धारित समयमा नबन्दा यात्रीहरू समेत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हिउँदमा हुने धुलो र वर्षाको हिलोले यातायात साधन जोखिममा पर्ने गर्दछन् ।

भारतीय एक्जिम बैङ्कको सहयोगमा निर्माण भइरहेको सो सडक निर्माणका जिम्मा भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इण्डिया लिमिटेड ९टीसीआईएल०ले पाएको छ । सो कम्पनीले नेपाली निर्माण व्यवसायीलाई काम जिम्मा दिएको छ ।

सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र कूल १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सक्नुपर्ने गरी सम्झौता भएको थियो । तर निर्धारित समयमा काम नभएपछि सोही कम्पनीलाई फेरी १७ महिनाको म्याद थप गरिएको थियो । तर अझै पनि काम अघि बढेको छैन ।

सडक खनेर अलपत्र छाडिदिँदा घर भत्कन लागेको साँघुटार थाक्लेकी मनमाया श्रेष्ठ बताउँछिन् । सडकको कारण आफूहरू असुरक्षित भएको उनले बताइन । ’कतिखेर पहिरो झरेर घर बगाउने हो ठेगान छैन, हामीलाई यो सडकले समस्या पार्यो’, उनले भनिन् ।

Advertisment

थप समाचार