काठमाडौं : सन् २०२५ मा भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीको सञ्चालन आम्दानी १० प्रतिशतले बढेको छ । सन् २०२४ मा ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी बढेर सन् २०२५ मा ३ अर्ब ६३ करोड ७० लाख रुपैयाँ पुगेको हो ।
यसअघि कम्पनीको सञ्चालन आम्दानी सन् २०२३ मा ९७ करोड ४० लाख, सन् २०२२ मा ४० करोड ६० लाख र सन् २०२१ मा ३३ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
पछिल्ला वर्षहरुमा कम्पनीको सञ्चालन आम्दानी निरन्तर रुपमा बढेपनि सञ्चालन नाफा मार्जिन भने घटेको छ । सन् २०२४ मा ९ प्रतिशत रहेको यस्तो मार्जिन सन् २०२५ मा घटेर ७ प्रतिशतमा झरेको छ ।
इक्रा नेपालले कम्पनीको दीर्घकालीन तथा अल्पकालीन कर्जा रेटिङ यथावत राखेको छ । रेटिङ एजेन्सीका अनुसार कम्पनीको दीर्घकालीन कर्जा सीमा ९८ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने अल्पकालीन कर्जा सीमा ५ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
यसअघि दीर्घकालीन कर्जा सीमा २९ करोड ४० लाख र अल्पकालीन कर्जा सीमा ३ अर्ब ९५ करोड १३ लाख रुपैयाँ रहेको थियो । कम्पनीको स्थिर आम्दानी वृद्धि र पर्याप्त अर्डर बुक रहेको कारण रेटिङ यथावत राखिएको इक्रा नेपालले जनाएको छ ।
हाल कम्पनीसँग करिब १५.८ अर्ब रुपैयाँ बराबरको काम बाँकी (अर्डर बुक) रहेको छ, जुन कम्पनीको वार्षिक आम्दानीको करिब ४.३ गुणा बराबर हो ।
सन् २०१४ देखि निर्माण क्षेत्रमा सक्रिय रहेको भूगोल इन्फ्रास्ट्रक्चर मुख्यतः निजी क्षेत्रका जलविद्युत् परियोजनाको सिभिल निर्माणमा केन्द्रित छ । कम्पनीले हालसम्म ८०.२१ मेगावाट क्षमताका परियोजना सम्पन्न गरिसकेको छ ।
त्यसैगरी ४७.४३ मेगावाट क्षमताका परियोजना अन्तिम चरणमा रहेका छन् भने १६३.९२ मेगावाट क्षमताका परियोजना प्रारम्भिक चरणमा निर्माणाधीन रहेका छन्। सुरुङ (टनेल) आधारित परियोजनामा कम्पनीले काम गर्दै आएको छ ।
आर्थिक वर्ष २०२५ मा कम्पनीको ऋण सेवा क्षमता अनुपात करिब ६.३ गुणा पुगेको छ । त्यसैगरी कुल ऋण र सञ्चालन नाफा अनुपात १.२ गुणा मात्रै रहेको छ। कम्पनीको गियरिङ अनुपात १.१ गुणा रहेकोले पूँजी संरचना पनि सन्तुलित देखिएको छ । यद्यपि ठूलो परियोजनाका कारण प्राप्त मोबिलाइजेसन एडभान्स बढी भएकाले कुल बाह्य दायित्व र नेटवर्थ अनुपात ४.९ गुणा पुगेको छ।
यद्यपि कम्पनीको नाफा मार्जिन भने पछिल्ला वर्षहरूमा घट्दै गएको देखिएको छ। इक्रा नेपालका अनुसार परियोजनाको आकार बढ्दै जाँदा लागत दबाब तथा प्रतिस्पर्धाका कारण मार्जिनमा दबाब देखिएको हो ।
कम्पनीको तरलता अवस्था भने अझै दबाबमा रहेको उल्लेख गरिएको छ । निर्माणाधीन काम (वर्क इन प्रोग्रेस) धेरै हुनु, भुक्तानी अवधि लम्बिँदै जानु तथा ऋण सीमाको प्रयोग बढ्दै जानुले तरलतामा दबाब परेको बताइएको छ ।
कम्पनीले बैंकबाट ३० करोड रुपैयाँ अल्पकालीन कर्जा सीमा समेत लिएको छ, जसको करिब ६५ प्रतिशत प्रयोग भइसकेको छ। साथै कम्पनीले आर्थिक वर्ष २०२५ मा अघिल्लो वर्षको नाफाको करिब ८३ प्रतिशत लाभांश वितरण गरेको पनि रेटिङ एजेन्सीले उल्लेख गरेको ।
२०१४ मा स्थापना भएको भूगोल इन्फ्रास्ट्रक्चर मुख्यतः निजी क्षेत्रका जलविद्युत आयोजनाहरूको सिभिल निर्माण कार्य गर्ने कम्पनी हो। कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ, जसमा ९३ प्रतिशत हिस्सा अध्यक्ष भीमसेन भण्डारीको स्वामित्वमा रहेको छ।
Advertisment