Below Menu
Below Menu

वीरगञ्जमा विजयश्री सुगर मिल्स सञ्चालनको अन्तिम चरणमा, चिनीसँगै १० मेगावाट बिजुली उत्पादन हुने

वीरगञ्जमा विजयश्री सुगर मिल्स सञ्चालनको अन्तिम चरणमा, चिनीसँगै १० मेगावाट बिजुली उत्पादन हुने

काठमाडौं : वीरगञ्जको सुख्खा बन्दरगाह नजिक निर्माणाधीन रहेको विजयश्री सुगर मिल्स प्रालि सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । उद्योग आगामी छ महिनाभित्र उत्पादन सुरु गर्ने लक्ष्यसहित अघि बढिरहेको छ । 

सन् २०२४ बाट पूर्वाधार निर्माण सुरु गरिएको यो उद्योगको भौतिक प्रगति करिब ९० प्रतिशत भईसकेको छ । उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक ३३ हजार ७५० मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्य राखिएको छ । 

साथै, यसबाट १८ हजार ७५० मेट्रिक टन मोलासेस र १० मेगावाट विद्युत उत्पादन हुने योजना पनि छ । यसले  चिनी उत्पादनमा आत्मनिर्भरता बढाउनुका साथै ऊर्जा क्षेत्रलाई समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सन् २०२२ मा स्थापना भएको यस कम्पनीको कम्पनीको नेतृत्व कविता अग्रवाल सम्हालिरहेकी छन् । कम्पनीमा उनको ४४ प्रतिशत शेयर हिस्सा रहेको छ । 

यसैबीच, इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई पहिलोपटक क्रेडिट रेटिङ प्रदान गरेको छ । करिब एक अर्ब १ करोड ५२ लाख रुपैयाँ बराबरको बैंकिङ सुविधा अन्तर्गत दीर्घकालीन ऋणका लागि “बीबी” र अल्पकालीनका लागि “एफोर” रेटिङ निर्धारण गरिएको हो । 

कम्पनीले दीर्घकालिन कर्जाका लागि ९३ करोड ४९ लाख र अल्पकालिन कर्जाका लागि आठ करोड तीन लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । उद्योग वीरगञ्ज ड्राइपोर्टबाट करिब २५ किलोमिटर दूरीमा रहेको यो परियोजना करिब १,३५,४५२ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । 

नेपालमा चिनीको माग स्थिर रहेको छ । चिनी दैनिक उपभोगको अत्यावश्यक वस्तु मात्र नभई खाद्य उद्योगमा यसको बहुआयामिक प्रयोग हुन्छ । तर पछिल्लो समय सरकारी नीतिमा आएको परिवर्तनले उद्योगलाई केही चुनौती पनि थपेको छ । 

आयातित चिनिमा लाग्ने भन्सार शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारिएपछि विदेशी सस्तो चिनीसँग प्रतिस्पर्धा तीव्र बन्ने देखिएको छ । साथै, किसानलाई दिइने अनुदान घटाइँदा उखु उत्पादनमा असर पर्ने जोखिम पनि बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा हुने उतारचढाव, मौसम परिवर्तन, कीरा प्रकोप तथा उखु उत्पादनमा आउने कमी जस्ता कारकहरूले पनि उद्योगको सञ्चालनमा प्रभाव पार्न सक्छन् । 

Advertisment

थप समाचार