राज्यको लाचारी र ठेकेदारको ‘लुट’: चाँदी नदीको पुल निर्माण ९ वर्षदेखि अधुरै, स्थानीयलाई आश्वासन मात्रै

राज्यको लाचारी र ठेकेदारको ‘लुट’: चाँदी नदीको पुल निर्माण ९ वर्षदेखि अधुरै, स्थानीयलाई आश्वासन मात्रै

काठमाडौं : गैंडाटारका स्थानीयको आँखा ओभाएको छैन। हरेक वर्षातमा उनीहरूको मनमा एउटै त्रास हुन्छ- चाँदी नदी कसरी तर्नेरु चन्द्रनिगाहपुरसँग जोड्ने लाइफलाइन मानिएको चाँदी नदीको पुल सम्झौता भएको ९ वर्ष बितिसक्दा पनि अधुरै छ । ४६९ मिटर लामो यो पुल अहिले विकासको स्मारक होइन, राज्यको लाचारी र ठेकेदारको लापरबाहीको प्रतीक बनेको छ ।

Sponsored Advertisement

२०७३ साल पुसमा पप्पु शिव शंकर जेभीले २५ करोड ३६ लाखभन्दा बढीको लागतमा निर्माण गर्ने गरी ठेक्का लियो। २०७६ असारसम्म काम सकिनुपर्ने थियो, तर आज २०८२ सालको संघारमा पुग्दा पनि ११ वटा स्पाम भएको यो पुल अपूरै छ । यो ९ वर्षको अवधिमा स्थानीयले विकासका नाममा पाए त केवल आश्वासन, म्याद थपको चिठी, र नदी तर्दा ज्यान गुमाउनुपरेको पीडा।

कहिले कोरोनाको बहाना त कहिले आर्थिक अभावको राप। ठेकेदारले पटक–पटक म्याद थप गरायो, तर कार्यस्थलमा न मेसिन देखिन्छन्, न त कामदारको चहलपहल । पुल अलपत्र परेपछि स्थानीयले अनसनदेखि आन्दोलनसम्म गरे, तर उनीहरूको आवाज कसैले सुनेन। कयौँले बिरामी अवस्थामा अस्पताल पुग्न नपाएर यही नदीको तीरमा छटपटिँनु पर्यो । कति विद्यार्थी परीक्षा दिन जान नपाएको पिडामा रहेका ती परिवारको आँसु पुछ्ने कोही छैन।

यसैबीच, जेनजी युवा अगुवा करण देवकोटाले अबको ढिलाइ सह्य नहुने चेतावनी दिएका छन्।
उनले भने, ‘यो केवल सिमेन्ट र रडको संरचना होइन, यो हजारौँ मानिसको जीवन र सुरक्षाको सवाल हो। स्थानीय, प्रदेश र संघीय सरकारले यसलाई अब प्राथमिकतामा राख्नैपर्छ।’

तत्कालीन मन्त्री देखि उच्च पदस्थ व्यक्तिले अनुगमन गरेर निर्देशन दिए पनि पुलको अवस्था जस्ताको तस्तै रहनुले हाम्रो प्रणालीमाथि प्रश्न उठाएको छ । कहिलेसम्म गैंडाटारवासीले एउटा पुलकै लागि ज्यानको बाजी लगाइरहनुपर्नेरु के राज्यको कानसम्म यी पीडित जनताको चित्कार पुग्ला ?

थप समाचार