Below Menu
Below Menu

भर्खरै आईपीओ जारी गरेको पाल्पा सिमेन्टले गर्यो छ महिनामै पौने दुई अर्बको व्यापार

भर्खरै आईपीओ जारी गरेको पाल्पा सिमेन्टले गर्यो छ महिनामै पौने दुई अर्बको व्यापार

काठमाडौं : सर्वसाधारणमा भर्खरै प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामै पौने दुई अर्बको व्यापार गरेको छ । 

सिमेन्ट उद्योगमा देखिएको मन्दीका बीच पनि कम्पनीले सन् २०२६ को पहिलो छ महिनामा एक अर्ब ८९ करोडको व्यापार गरेको हो । उक्त रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४६ प्रतिशतले बढी हो । 

पछिल्ला तीन वर्षमा कम्पनीले चार अर्बको हाराहारीमा व्यापार गरेको छ । सन् २०२५ मा चार अर्ब ११ करोड २० लाख रुपैयाँको व्यापार गरेको उद्योगले सन् २०२४ मा चार अर्ब २२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो।

यसअघि सन् २०२३ मा चार अर्ब १२ करोड ९० लाख र सन् २०२२ मा कम्पनीले तीन अर्ब ८१ करोड ८० लाख  रुपैयाँको कारोबार गरेको थियो । खासगरी  भारततर्फ क्लिंकर र सिमेन्ट निर्यात बढ्दा कम्पनीको आम्दानीमा वृद्धि भएको जनाइएको छ । 

पछिल्ला वर्षहरूमा कुल आम्दानीको करिब १९ प्रतिशतदेखि २५ प्रतिशतसम्म हिस्सा निर्यातबाट आएको छ । तर, नेपाल सरकारले दिएको निर्यात प्रोत्साहन (सब्सिडी) हटाइएको र निर्यात मूल्य घरेलु बजारको तुलनामा कम हुने भएकाले भविष्यमा निर्यातको निरन्तरता कस्तो रहने भन्ने विषय अझै अनिश्चित छ ।

उद्योगको कुल व्यापारमा निर्यातको हिस्सा औसतमा २३ प्रतिशत रहेको छ । सन् २०२४ मा २५ प्रतिशत र सन् २०२५ मा १९ प्रतिशत रहेको निर्यातको हिस्सा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा पुनः बढेर २४ प्रतिशत पुगेको छ ।

सन् २०२४ को तुलनामा २०२५ मा कम्पनीको व्यापारमा सामान्य गिरावट आएपनि नाफा मार्जिन भने २३ प्रतिशतबाट बढेर २४ प्रतिशत पुगेको छ । चालु आवको छ महिनामा भने यस्तो नाफा मार्जिन २२ प्रतिशत कायम भएको छ । 

यद्यपि, सन् २०२५ मा १.८ गुणा रहेको कम्पनीको कुल ऋण र खुद मूर्त पूँजीको अनुपात चालु आवमा घटेर १.७ गुणामा झरेको छ भने कुल बाह्य दायित्व र खुद मूर्त पूँजीको अनुपात पनि २.० गुणाबाट १.९ गुणामा झरेको छ । 

यसका साथै कम्पनीको ऋण भुक्तानी गर्ने क्षमतामा पनि सुधार देखिएको छ । सन् २०२४ मा १.४ गुणा रहेको ब्याज कभरेज रेसियो सन् २०२५ र चालु आवको छ महिनामा १.८ गुणा रहेको छ । तर, सञ्चालन नाफाको तुलनामा कुल ऋणको भार ६.४ गुणाबाट बढेर ७.७ गुणा पुग्दा कम्पनीको ऋणको बोझ अझै उच्च रहेको रिपोर्टमा उल्लेख छ । 

पाल्पा सिमेन्ट आरएमसी ग्रुप अन्तर्गत सञ्चालनमा रहेको कम्पनी हो । हाल कम्पनीसँग करिब १५० भन्दा बढी डिलरहरूको सञ्जाल रहेको छ । २००९ मा स्थापित, पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड एक ग्रिनफिल्ड सिमेन्ट उत्पादन इकाई हो । कम्पनीले सन् २०१९ बाट क्लिंकर र जनवरी २०२० बाट सिमेन्टको व्यावसायिक उत्पादन सुरु गरेको थियो । 

कम्पनीको प्लान्ट नवलपरासीको सुनुवाल गाविसमा अवस्थित छ भने खानीहरू पाल्पाको राहवास गाविसमा रहेको कारखानाबाट लगभग ३० किलोमिटर टाढा अवस्थित छन्  । उद्योगसँग वार्षिक ०.५९ मिलियन मेट्रिक टन क्लिंकर र ०.७३ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ । 

कम्पनीले दीर्घकालिन र अल्पकालिन कर्जाका लागि कुल ७ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको ऋण सुविधाहरूको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ५ अर्ब ८३ करोड ८३ लाख रुपैयाँ  र अल्पकालिन कर्जाका लागि एक अर्ब ६८ करोड ६० लाख रुपैयाँ बराबरको रेटिङ गराएको हो । 

कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर जारी गरेको छ । 


 

Advertisment

थप समाचार