Below Menu
Below Menu

लापरवाहीको चेपुवामा कर्णालीका दर्जनौँ पुल र सडक: मुआब्जा विवाददेखि ठेकेदारको अटेरीसम्म

लापरवाहीको चेपुवामा कर्णालीका दर्जनौँ पुल र सडक: मुआब्जा विवाददेखि ठेकेदारको अटेरीसम्म

सुर्खेत : कर्णालीका दर्जनौं पुल निर्माणको कार्य अलपत्र अवस्थामा परेका छन् । निर्माण कम्पनीको लापरवाही र सरोकारवाला निकायको उदासिनताका कारण ती पुलहरु अलपत्र परेका हुन् । कर्णाली राजमार्ग, नाग्म–गमगढी सडकखण्ड, भेरी करिडोर र कर्णाली करिडोरका विभिन्न स्थानका पुल निर्माणको काम अलपत्र अवस्थामा छन् ।

कर्णाली करिडोरअन्तर्गत कालीकोट, बाजुरा र हुम्ला खण्डका विभिन्न नदी तथा खोलामा निर्माण गर्ने नौ स्थानमा पुल निर्माणको काम रोकिएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दोजाममा कर्णाली नदीमाथि निर्माण भइरहेको स्टिल ट्रस मोटरेबल पुलपनि निर्धारित समयमा सम्पन्न हुन सकेको छैन । ५५ मिटर र चौडाइ १० मिटरको उक्त पुल निर्माणका लागि २०८० साल असोज ६ गते म्याद थप गरिएको भए पनि हालसम्म ५० प्रतिशत मात्र काम भएको छ । उक्त पुलको ११ करोड ८३ लाख ९४ हजार ५०८.५२ लागत स्टेमेट गरिएको छ ।

कर्णाली कोरिडोरअन्तर्गत विभिन्न नदी तथा खोलामा निर्माण हुनुपर्ने नौं वटा पक्की पुलको काम अझै अगाडि बढ्न नसकेको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए ।

करिडोर अन्तर्गत विभिन्न स्थानमा पुल निर्माणका लागि २०७९ असारमा ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियामार्फत ठेक्का भएको भए पनि लागेका थिए । तर यी पुलको अन्तिम डिजाइन सडक विभागबाट स्वीकृत हुन नसक्दा निर्माणले गति लिन नसकेको उनले बताए ।

०७९ असार ३० मा सम्झौता गरी २०८२ असोज ३० सम्म सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म डिजाइन स्वीकृतिको काममै समय खर्च भएको छ । १८ करोड २८ लाख २८ हजार रूपैयाँको लागतमा बन्ने यी पुलको डिजाइन स्वीकृत भएको र अब निर्माणको बाटो खुलेको कार्यालयले जनाएको छ । बाजुरा र हुम्ला खण्डका ६ वटा पुलको जिम्मा लुम्बिनी सिंह जेभीले ४५ करोड ३१ लाख ५७ हजार रूपैयाँमा लिएको छ ।

उक्त जेभीले जिम्मा लिएका जुड्डी, बुड्डीघाट, गल्फागाड र सर्केगाड (न्यासी) खोलाका पुलको डिजाइन स्वीकृत भइसकेको छ भने कबाडी र अर्को गल्फागाडखोलाको डिजाइन अझै स्वीकृत भएको छैन । ‘स्वीकृत भएकामध्ये पनि जुड्डीखोलाको पुलमा मात्र काम सुरु भएको छ,’ आयोजना प्रमुख नेपालीले भने, ‘यो जेभीसँग २०७९ असार २८ मा सम्झौता भएको थियो ।

२०८२ पुस २९ सम्ममा सबै पुल सम्पन्न गर्नुपर्ने म्याद पनि सकिएको छ ।’ जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियामा ठेक्का लगाउँदा डिजाइन स्वीकृत गराउनमै धेरै समय खर्च हुने गरेको बताए । नाग्म–गमगढी सडकअन्तर्गत जुम्लाको सिँजास्थित रोकायावाडा खोलामा निर्माण गरिएको पक्की पुल मुआब्जा विवादका कारण अझै सञ्चालनमा आउन सकेको छैन।

२०७८ साल फागुन ९ गते ठेक्का आह्वान भई निर्माण थालेका १० वटा पक्की पुलमध्ये चारवटा पुल अलपत्र छन् । नाग्म गमगडी सडकको बालुखोलास्थित २५ मिटर लामो कालिकाखेतु पक्की पुल अलपत्र छ । जुम्लातर्फको भागमा पिल्लर निर्माण भएको वर्षौं बितेपनि कालिकोट क्षेत्रको जग्गा विवाद नमिल्दा निर्माण अलपत्र छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा निर्माण हुने २५ मिटर लामो पुल पनि जग्गा विवादले अघि बढ्न सकेको छैन ।

कनकासुन्दरीको केन्द्र गुठिज्युला बजारको खोलामा पनि जग्गा विवाद उत्पन्न हुँदा पुल निर्माण हुन सकेको छैन । उक्त खोलाको २० मिटर पक्की पुल जग्गा विवादले अलपत्र बनेको छ ।

मुगुको गमगडी खोलामा निर्माण भइरहेको ४० मिटर लामो पक्की पुल पनि जग्गा विवादले बन्न सकेन । मुगुको लुम्सामा पनि ४० मिटर लामो पुल बनाउन ठेक्का भए पनि जग्गा विवाद उत्पन्न हुँदा काम रोकिएको छ ।

निर्माण सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि कालिकोटको पलाँता र पचालझरना गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पक्की पुल निर्माण अलपत्र परेको छ । ठेक्का सम्झौता सकिएको एक बर्ष बिति सक्दा पनि पुल निर्माण गर्ने स्थानमा खाल्डो खन्नेबाहेक कुनै काम भएको छैन ।

पुल निर्माणका लागि श्री हिराचन–क्याराभान सुपरस्टार जेभी, गोपिकृष्णनगर–७ काठमाडौँले ठेक्का लिई २०७७ असोज १३ गते सम्झौता गरेको थियो । २०८१ चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि निर्माण व्यवसायीको अटेरीले काम हुन नसकेको भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख प्रभाकर सिंहले बताए । उक्त पुल निर्माणको म्याद आगामी २०८४ असार मसान्तसम्म म्याद थपिएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत वर्षौंदेखि अलपत्र परेका १० वटा ठेक्का सम्झौता तोडेको जनाएको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमनर सिंहका अनुसार सम्झौता अनुसार सडक निर्माणको काम नगरेका १० कम्पनीसंगको ठेक्का सम्झौता गत चैत ११मा नै तोडिएको बताए।

आर्थिक वर्ष २०७४/७५ देखि ठेक्का सम्झौता गरिएका १० वटा कम्पनीलाई ‘कालोसूची’ मा राख्न सिफारिस गरिएको उनले बताए । कालीकोटको दहीखोला मान्म–नाग्म–जुम्ला खण्डमा स्तरोन्नतिका कामहरू अलपत्र परेको सूचना अधिकारी सिंहले बताए । 

उनका अनुसार आव २०७९÷८० मा कृष्ण निर्माण सेवाले जिम्मा लिएको खुल्लालेदेखि घोडेंगा खण्ड, अविनाश निर्माण सेवाले जिम्मा लिएको नाग्म–गमगडी खण्ड, विनाम्रा निर्माण सेवाले जिम्मा लिएको मुगु खण्ड र धुर्वा निर्माण सेवाले २०७८/७९ मा जिम्मा लिएको कुडारी–कालीकोट खण्डको ठेक्का तोडिएको हो ।

सडक डिभिजन कार्यालयका अनुसार झण्डै १६ करोड रुपैयाँका कालीकोटका दुई, मुगुको नाग्म–गमगडी सडक खण्डको एक र जुम्ला डोल्पा हुँदै मनाङ-मुस्ताङ जोड्ने सडकका ठेक्का तोडिएको निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराले बताए । उनका अनुसार गत वर्ष झण्डै २० करोड रुपैयाँको लागतमा आठवटा ठेक्कामा राजमार्ग स्तरोन्नतिका काम भइरहेको छ ।

Advertisment