Below Menu
Below Menu

सवा एक अर्ब लागतमा सिक्टा सिँचाइ निर्माण धमाधम, १६ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ पुग्ने

सवा एक अर्ब लागतमा सिक्टा सिँचाइ निर्माण धमाधम, १६ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ पुग्ने

बाँके : ‘सिक्टा सिँचाइ आयोजना अन्तरगत डुडुवा शाखा नहर निर्माण सम्पन्न भएपछि बाँकेको ठूलो कृषि क्षेत्र बाह्रैमास सिँचाइ सुविधामा जोडिनेछ, जसले किसानको उत्पादन र आम्दानी दुवै बढाउनेछ ।’

यो भनाई हो सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहको । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरसँग जोडिएको डुडुवा शाखा नहर निर्माण कार्य अहिले तीव्रगतिमा अघि बढिरहेको उनले बताए ।

आयोजना बाँके जिल्लाको कृषि उत्पादन वृद्धि र दीर्घकालीन सिँचाइ व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको आयोजना हो । वर्षौंदेखि आकाशे पानी र मौसमी खेतीमा निर्भर रहेका किसानलाई बाह्रैमास सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस आयोजनाको डुडुवा शाखा नहरलाई अहिले विशेष प्राथमिकताका साथ निर्माण भइरहेको आयोजनाले जनाएको छ ।

सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर साहका अनुसार डुडुवा शाखा नहर २३ दशमलव ४ किलोमिटर लामो हुनेछ । उक्त नहरमार्फत करिब १६ हजार हेक्टर कृषि योग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ । नहरअन्तर्गत खजुरा र मानपुर मुख्य शाखाका रूपमा विकास गरिनेछ भने त्यससँगै विभिन्न उपशाखा नहरहरू निर्माण गरी गाउँगाउँसम्म पानी पुर्याइने योजना रहेको छ ।

उनले सिक्टा सिँचाइ आयोजनाको मूल नहरबाट १८ क्युमेक्स पानी डुडुवा शाखा नहरमा खसालिने जानकारी दिँदै यसले बाँकेको नेपालगन्ज, जानकी, खजुरा र डुडुवा गाउँपालिकाका हजारौँ किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए ।

अहिले पनि मूल नहरबाट डुडुवा शाखा नहरको मुहानसम्म नियमित पानी सञ्चालन भइरहेकाले नहर निर्माण पूरा भएसँगै खेती प्रणालीमा ठूलो परिवर्तन आउने उनको भनाइ छ ।

विगतमा ठेक्का विवाद, निर्माण कम्पनीको ढिलासुस्ती र प्रशासनिक प्रक्रियाका कारण डुडुवा शाखा नहर निर्माण लामो समयसम्म प्रभावित बनेको थियो ।

पुरानो ठेक्का रद्द भएपछि नयाँ कम्पनीमार्फत पुनः निर्माण प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ । हाल निर्माण कार्य करिब २५ प्रतिशत सम्पन्न भइसकेको छ भने बाँकी कामलाई तीव्र बनाइएको आयोजना कार्यालयले जनाएको छ ।
आयोजना पक्षका अनुसार निर्माण सम्पन्न भएपछि बाँके जिल्लामा सिँचाइ पहुँच उल्लेखनीय रूपमा विस्तार हुनेछ भने खेतीयोग्य जमिनको उत्पादकत्वमा वृद्धि आउने अपेक्षा गरिएको छ ।

‘डुडुवा शाखा नहर बनेपछि अहिले सुक्खा र खडेरीको समस्याले प्रभावित किसानलाई ठूलो राहत मिल्नेछ,’ सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता सङ्घका अध्यक्ष शालिकराम डाँगीले भने ।

उनका अनुसार अहिले धेरै किसान वर्षायाममा मात्रै खेती गर्न बाध्य छन् भने हिउँदमा पर्याप्त पानी नहुँदा खेत बाँझै रहने अवस्था छ ।

डाँगीले नहर निर्माण पूरा भएपछि किसानले वर्षमा एकभन्दा बढी बाली लगाउन सक्ने, तरकारी तथा व्यावसायिक खेती विस्तार हुने र कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले सिँचाइ सुविधा विस्तारसँगै किसानको आर्थिक अवस्था सुधार हुनुका साथै स्थानीय स्तरमै रोजगारीका अवसर पनि सिर्जना हुने बताए ।

नेपालगन्ज–सुर्खेत सडकखण्ड अन्तर्गत पर्ने पिप्रहवादेखि राँझासम्म करिब पाँच किलोमिटर क्षेत्रमा सुरुङमार्फत नहर निर्माण गरिने योजना रहेको छ । सडक तथा बस्ती क्षेत्रलाई असर नपर्ने गरी आधुनिक प्रविधि प्रयोग गरेर टनेल निर्माण गरिने आयोजनाले जनाएको छ । बाँकी क्षेत्र खुला संरचनामार्फत निर्माण हुनेछ । रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले रु एक अर्ब १२ करोड लागतमा तीन वर्षभित्र उक्त निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएको छ ।

स्थानीय किसानहरू पनि डुडुवा शाखा नहर निर्माणलाई आशाका रूपमा हेरेका छन् । लामो समयदेखि सिँचाइ अभावका कारण उत्पादन घट्दै गएको अवस्थामा अब नियमित पानी उपलब्ध हुने अपेक्षाले किसान उत्साहित बनेका छन् । आयोजना सम्पन्न भएपछि बाँकेको कृषि क्षेत्र थप व्यवस्थित, उत्पादनमुखी र व्यवसायिक बन्ने विश्वास गरिएको छ ।

Advertisment

थप समाचार