Below Menu
Below Menu

रेकर्ड तोड्दै रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति, आन्तरिक बजारमा भने अझै मन्दीकै छाया

रेकर्ड तोड्दै रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति, आन्तरिक बजारमा भने अझै मन्दीकै छाया

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार अर्थतन्त्रका बाह्य अधिकांश सूचकमा सुधार देखिएको जनाएको छ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको नौ महिनामा उपभोक्ता मुद्रास्फीति नियन्त्रणमै रहे पनि वैदेशिक व्यापार, रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति, चालु खाता, शोधनान्तर स्थिति तथा बैंकिङ क्षेत्रका सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ।

केन्द्रीय बैंकका अनुसार चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत कायम भएको छ भने चालु आर्थिक वर्षको नौ महिनाको औसत मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.५७ प्रतिशत थियो।

त्यस्तै कुल विदेशी विनिमय सञ्चिति बढेर ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २३ अर्ब ५५ करोड बराबर रहेको छ। राष्ट्र बैंकका अनुसार हालको सञ्चितिले १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ । 

चालु खाता ६१८ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर स्थिति ७३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ। रेमिट्यान्स आप्रवाहमा पनि उल्लेख्य वृद्धि भएको छ। नौ महिनामा रेमिट्यान्स ३९.१ प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो वृद्धिदर ३१.९ प्रतिशत रहेको छ।

मुद्रास्फीतिमा केही दबाब, खाद्य र सेवाको मूल्य बढ्यो

चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः २.४५ प्रतिशत र ३.९० प्रतिशत थियो।

खाद्य समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको मूल्य १२.८७ प्रतिशतले बढेको छ। फलफूलको मूल्य ११.६७ प्रतिशत र तरकारीको मूल्य ९.१८ प्रतिशतले बढेको छ।

यद्यपि दाल तथा गेडागुडीको मूल्य २.७८ प्रतिशतले घटेको छ। खाद्य तथा खाद्यजन्य वस्तुको मूल्य १.६८ प्रतिशत तथा मरमसलाको मूल्य १.६४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य १९.९४ प्रतिशतले बढेको छ। यातायात १२.०३ प्रतिशत, शिक्षा ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थ ४.७७ प्रतिशत तथा कपडा तथा जुत्ताचप्पल ४.७३ प्रतिशतले महँगिएको छ।

क्षेत्रगत रूपमा ग्रामीण क्षेत्रमा मुद्रास्फीति ३.७१ प्रतिशत रहेको छ भने सहरी क्षेत्रमा ४.७४ प्रतिशत पुगेको छ।

प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५.१५ प्रतिशत मुद्रास्फीति देखिएको छ। त्यसपछि कोशी प्रदेशमा ४.९८ प्रतिशत, मधेश प्रदेशमा ४.९१ प्रतिशत, बागमती प्रदेशमा ४.२० प्रतिशत, गण्डकीमा ३.८५ प्रतिशत, कर्णालीमा ३.८२ प्रतिशत तथा सुदूरपश्चिममा ३.३९ प्रतिशत मुद्रास्फीति रहेको छ।

भौगोलिक रूपमा काठमाडौं उपत्यकामा ४.६९ प्रतिशत, तराईमा ४.८३ प्रतिशत, पहाडमा ४.१८ प्रतिशत र हिमाली क्षेत्रमा ३.२० प्रतिशत मुद्रास्फीति कायम भएको छ।

निर्यात-आयात दुवै बढे, व्यापार घाटा अझै उच्च

चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात १८.५ प्रतिशतले बढेर २२२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। भारत तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः २२.६ प्रतिशत र ५.१ प्रतिशतले बढ्दा चीनतर्फको निर्यात ४६.८ प्रतिशतले घटेको छ।

भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान र चाउचाउको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामग्रीको निर्यात घटेको छ।

उता कुल वस्तु आयात १३.८ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब ५० करोड रुपैयाँ पुगेको छ। भारतबाट हुने आयात ७.८ प्रतिशत, चीनबाट २१.३ प्रतिशत तथा अन्य मुलुकबाट २४.२ प्रतिशतले बढेको छ।

रासायनिक मल, भटमासको कच्चा तेल, चाँदी, सवारी साधन तथा पेट्रोलियम पदार्थको आयात बढेको छ भने खाने तेल, हट रोल्ड सिट, लसुन, दाल तथा एमएस बिलेटको आयात घटेको छ।

यस अवधिमा कुल व्यापार घाटा १३ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यद्यपि निर्यात–आयात अनुपात भने १५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष १४.४ प्रतिशत थियो।

रेमिट्यान्समा ऐतिहासिक वृद्धि, मासिक आप्रवाह २ खर्ब नाघ्यो

चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो वर्षको तुलनामा ३९.१ प्रतिशतले बढी हो।

चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्ष सोही महिनामा यस्तो रकम १ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा रेमिट्यान्स ३१।९ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड पुगेको छ।

यस अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर १८ खर्ब २० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ९४ हजार १८६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ९३ हजार २५९ रहेको छ।

चालु खाता र शोधनान्तर दुवैमा उल्लेख्य बचत

राष्ट्र बैंकका अनुसार चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो बचत २ खर्ब २२ अर्ब ६७ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा चालु खाता ४ अर्ब ३२ करोड डलरले बचतमा रहेको छ।

त्यस्तै शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्ष यस्तो बचत ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा शोधनान्तर बचत ५ अर्ब १० करोड पुगेको छ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १४ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको छ।

विदेशी मुद्रा सञ्चिति करिब ३५ खर्ब

गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति चैत मसान्तसम्म आइपुग्दा ३०.५ प्रतिशतले बढेर ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ३० खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ४ खर्ब १२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.४ प्रतिशत रहेको छ।

राष्ट्र बैंकका अनुसार हालको सञ्चितिले २१.८ महिनाको वस्तु आयात तथा १८.४ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ।

सरकारको खर्च १० खर्ब नाघ्यो, नगद मौज्दात पनि उच्च

महालेखा नियन्त्रक कार्यालयका अनुसार नौ महिनामा सरकारको कुल खर्च १० खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। यसमा चालु खर्च ७ खर्ब ४७ अर्ब ५२ करोड, पुँजीगत खर्च ९६ अर्ब २० करोड तथा वित्तीय व्यवस्था खर्च २ खर्ब १६ अर्ब २३ करोड रुपैयाँ रहेको छ।

यस अवधिमा सरकारको कुल राजस्व परिचालन ८ खर्ब ८६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। त्यसमध्ये कर राजस्व ७ खर्ब ९८ अर्ब ७७ करोड तथा गैरकर राजस्व ८७ अर्ब ५१ करोड रुपैयाँ रहेको छ।

चैत मसान्तसम्म सरकारको नगद मौज्दात ४ खर्ब २९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३७ अर्ब ७८ करोड रुपैयाँ थियो।

निजी क्षेत्रमा कर्जा विस्तार सुस्त, घरजग्गा धितोको हिस्सा उच्च

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेर ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। वार्षिक आधारमा निजी क्षेत्रतर्फको कर्जा वृद्धिदर ६.९ प्रतिशत रहेको छ।

कुल कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रको हिस्सा ६३.३ प्रतिशत तथा व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३६।७ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरूको कर्जा ५.८ प्रतिशत, विकास बैंकहरूको ५.१ प्रतिशत तथा वित्त कम्पनीहरूको कर्जा २.६ प्रतिशतले बढेको छ।

धितोको आधारमा हेर्दा घरजग्गा धितोमा प्रवाहित कर्जाको हिस्सा ६३.४ प्रतिशत रहेको छ भने चालु सम्पत्ति सुरक्षणमा १४.९ प्रतिशत कर्जा रहेको छ।

क्षेत्रगत रूपमा उपभोग्य क्षेत्रमा प्रवाहित कर्जा ११.७ प्रतिशत, निर्माण क्षेत्रमा १०.७ प्रतिशत, यातायात तथा सञ्चार क्षेत्रमा १०.१ प्रतिशत तथा औद्योगिक उत्पादन क्षेत्रमा ६.५ प्रतिशतले बढेको छ। कृषि क्षेत्रतर्फको कर्जा भने २.३ प्रतिशतले घटेको छ।

ट्रष्ट रिसिट (आयात) कर्जा ३२ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा १३.४ प्रतिशत तथा हायर पर्चेज कर्जा ८.५ प्रतिशतले बढेको छ।

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत कायम भएको छ। ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६१ प्रतिशत रहेको छ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४० प्रतिशत तथा कर्जाको भारित औसत ब्याजदर ६.७७ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ।

पुँजी बजारमा सुधार, नेप्से २८३३ विन्दुमा

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) सूचकांक २०८१ चैत मसान्तमा २६६२.०९ रहेकोमा २०८२ चैत मसान्तमा बढेर २८३३.६० पुगेको छ। धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

सूचीकृत कम्पनीहरूको संख्या २९४ पुगेको छ। तीमध्ये १३३ बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनी, १०३ जलविद्युत् कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था तथा १० अन्य समूहका कम्पनी रहेका छन्।

बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीको हिस्सा ५०.२ प्रतिशत रहेको छ भने जलविद्युत् कम्पनीको हिस्सा १७.८ प्रतिशत रहेको छ।

नौ महिनामा कुल १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबरका थप धितोपत्र सूचीकृत भएका छन्। यसै अवधिमा नेपाल धितोपत्र बोर्डले ४१ अर्ब ५३ करोड रुपैयाँ बराबरका धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको जनाएको छ।

Advertisment

थप समाचार