Below Menu
Below Menu

सुस्ताएको बजारमा पञ्चकन्या ग्रुपको ‘कमब्याक’: १४ प्रतिशतले व्यापार बढ्दा साढे ६ अर्बको कारोबार

सुस्ताएको बजारमा पञ्चकन्या ग्रुपको ‘कमब्याक’: १४ प्रतिशतले व्यापार बढ्दा साढे ६ अर्बको कारोबार

काठमाडौं : पञ्चकन्या ग्रुपको व्यापार र नाफा मार्जिनमा उल्लेखनीय सुधार देखिएको छ । स्टिलदेखि प्लास्टिकसम्मको व्यापार बढ्दा सन् २०२५ मा ग्रुपको कारोबार १४.२६ प्रतिशतले बढेको छ । बजारमा छाएकाे मन्दीबीच पनि पञ्चकन्या ग्रुपकाे उत्साहजनक ‘कमब्याक’ देखिएकाे हाे । 

कम्पनीले सन् २०२५ मा ६ अर्ब ६८ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । सन् २०२४ मा कम्पनीले ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसअघि सन् २०२३ मा ग्रुपले सात अर्ब ८६ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापारसँगै सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ । सन् २०२४ मा ७.९२ प्रतिशत रहेको यस्तो मार्जिन बढेर ९.६४ प्रतिशतमा पुगेको छ । कम्पनीको ऋण तिर्ने क्षमतामा पनि सुधार देखिएको छ । यस अवधिमा ब्याज कभरेज रेसियो ०.८५ गुणाबाट बढेर १.२३ गुणा पुगेको छ । 

ग्रुपद्वारा सञ्चालनमा रहेका पञ्चकन्या स्टिल प्रालि, पञ्चकन्या रोटोमोल्ड प्रालि, पञ्चकन्या प्लास्टिक उद्योग र पञ्चकन्या प्लास्ट प्रालि गरी चारवटै कम्पनीको व्यापार बढेको रिपोर्टमा उल्लेख छ । 
व्यवसाकि घराना पञ्चकन्या ग्रुपको संस्थापक अध्यक्ष प्रेम बहादुर श्रेष्ठ रहेका छन् । पञ्चकन्या ग्रुप निर्माण सामग्रीको उत्पादन, आयात र आपूर्तिमा विशिष्टीकृत पहिचान भएको व्यावसायिक समूह हो । 
 
सन् २०२५ मा व्यापार बढेसँगै ग्रुपले कर्जा पनि घटाएको छ । ग्रुपले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि तीन अर्ब ५१ करोड १० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । जसमा पञ्चकन्या स्टिलमार्फत गराएको ऋण रेटिङ समावेश गरिएको छैन । 

अघिल्लो वर्ष कम्पनीले व्यापार घटेपनि कर्जाको क्षमता बढाएको थियो । सन् २०२४ मा कम्पनीले चार वटै कम्पनीमार्फत दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि आ अर्ब ६६ करोड २२ लाख रुपैयाँको रेटिङ गराएको हो ।

पञ्चकन्या प्लास्टिक उद्योग प्रालि

पञ्चकन्या ग्रुपकै पञ्चकन्या प्लास्टिक उद्योगको व्यापार ११.४५ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२५ मा ९८ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । अघिल्लो वर्ष सन् २०२४ मा कम्पनीले ८८ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने यसअघि सन् २०२३ मा कम्पनीले एक अर्ब २३ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

विशेषगरी बिक्री परिमाणमा वृद्धि हुनुका साथै बजारमा माग बढेका कारण कम्पनीको आम्दानी बढेको उल्लेख छ । व्यापारसँगै कम्पनीले सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ । 

सन् २०२४ मा ६.२३ प्रतिशत रहेको यस्तो मार्जिन बढेर ८.५८ प्रतिशत पुगेको छ । कच्चा पदार्थको लागत कम भएका कारण सञ्चालन नाफा मार्जिन सुधार आएको कम्पनीले जनाएको छ । सन् २०२४ मा नकारात्मक रहेको नगद सञ्चिति सन् २०२५ मा १४ करोड ५० लाख रुपैयाँ पुगेको छ । 

कम्पनीको ब्याज तिर्न सक्ने क्षमतामा पनि सुधार आएको छ । ब्याज कभरेज अनुपात ०.७४ गुणाबाट बढेर १.०४ गुणा पुगेको छ । कुल ऋण–पूँजी अनुपात ४.६१ गुणाबाट घटेर ३.८६ गुणामा झरेको छ । 

चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीले ५४ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । सन् २०२४ को सोही अवधिमा कम्पनीले ६९ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । चालु आर्थिक वर्षमा बजार माग केही सुस्त हुँदा कारोबार घटेको कम्पनीले जनाएको छ । 

सन् १९८२ मा स्थापना भएको उद्योगले ९ हजार मेट्रिक टन एजडीई पाइप तथा फिटिङ्स सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । 

कम्पनीले दीर्घकालिन र अल्पकालिन कर्जाका लागि एक अर्ब १७ करोड ३१ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ४७ करोड ७८ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि ६९ करोड ५२ लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको हो । 

पञ्चकन्या प्लास्ट प्रालि

नेपालका अग्रणी पाइप तथा फिटिङ्स उत्पादक कम्पनी पञ्चकन्या प्लास्ट प्रालिले सन् २०२५ मा ७९ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा २३.५९ प्रतिशतले बढी हो । 

कम्पनीले सन् २०२४ मा कम्पनीले ६४ करोड रुपैयाँको व्यापार गरेको थियो भने  सन् २०२३ मा कम्पनीले ७३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । 

मुख्यतः बिक्री परिणाम बढ्नुका साथै उत्पादनको मूल्यमा सुधार आएका कारण कम्पनीको व्यापार र सञ्चालन नाफा मार्जिनमा सुधार आएको जनाइएको छ । चालु आवको नौ महिनामै कम्पनीले ७३ करोड रुपैयाँ बराबरको व्यापार गरिसकेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५८ करोडको व्यापार गरेको थियो । 

सन् २०२४ मा ८.६२ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन बढेर १२.४४ प्रतिशत पुगेको छ । यद्यपी ब्याज खर्च अझै उच्च रहेका कारण कम्पनीको खुद नाफामा भने दबाब रहेको छ । तर, अघिल्लो वर्षमा घाटामा रहेको कम्पनीले सन् २०२५ मा ३ करोड १० लाख रुपैयाँ बराबरको ग्रस क्यास एक्रुअल हासिल गरेको छ ।

सन् २००३ मा स्थापना भएको पञ्चकन्या प्लास्ट प्रालिको उत्पादन प्लान्ट भैरहवा मा रहेको छ । कम्पनीसँग वार्षिक ५ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको छ । कम्पनीले “पञ्चकन्या” ब्रान्डअन्तर्गत सीपीभीसी र पीपीआर पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । 

कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि एक अर्ब २४ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ५६ करोड २१ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि ६८ करोड २८ लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको हो । 

पञ्चकन्या रोटोमोल्ड प्रालि

पञ्चकन्या ग्रुपअन्तर्गतकै पञ्चकन्या रोटोमोल्ड प्रालिको व्यापार १८.२९ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२५ मा ७८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ ।

यसअघि कम्पनीले सन् २०२४ मा ६६ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ६६ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । चालु आर्थिक वर्षको नौ महिनामै कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरिसकेको छ । 

व्यापारसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ । सन् २०२४ मा १०.११ प्रतिशत रहेको कम्पनीको नाफा मार्जिन बढेर सन् २०२५ मा १३.२२ प्रतिशत पुगेको छ । लागत नियन्त्रणका कारण नाफा मार्जिनमा सुधार आएको कम्पनीले जनाएको छ । 

अघिल्लो वर्ष नगद घाटा व्यहोरेको कम्पनीले सन् २०२५ मा ३ करोड ५० लाख रुपैयाँ नगद सञ्चिति गरेको छ । 

सन् १९८९ मा स्थापना भएको कम्पनीसँग वार्षिक ६ हजार ५०० मेट्रिक टन युपीभीसी पाइप र फिटिङ्स उत्पादन गर्ने क्षमता छ । कम्पनीको कारखाना भैरहवामा रहेको छ । 

कम्पनीले दीर्घकालिन र अल्पकालिन कर्जाका लागि एक अर्ब १० करोड १० लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ४० करोड ९७ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि ६९ करोड १२ लाख रुपैयाँ बराबरको ऋण रेटिङ गराएको हो । 

पञ्चकन्या स्टिल प्रालि

पञ्चकन्या स्टिल प्रालिले सन् २०२५ को नौ महिनामा ३ अर्ब २३ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । सन् २०२४ को सोही अवधिमा कम्पनीको व्यापार २ अर्ब ५९ करोड ५० लाख रुपैयाँ रहेको थियो । 

यद्यपी कम्पनीले सन् २०२४ को एक वर्षमा ३ अर्ब ६५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा ५ अर्ब ११ करोड रुपैयाँको व्यापार गरेको थियो । 

कम्पनीले भारतबाट एमएस बिलेट (कच्चा पदार्थ) आयात गरी नेपालमै डण्डी उत्पादन गर्दै आएको छ । कम्पनीले ‘पञ्चकन्या’ ब्रान्डमा उत्पादन हुने टीएमटी स्टिल बार देशभर बिक्री–वितरण गर्दै आएको छ । यसका लागि कम्पनीसँग ९० वटा डिलर नेटवर्क रहेको छ भने बल्खु, ललितपुर, भैरहवा, पोखरा, धनगढी, नेपालगञ्ज र बिर्तामोडमा गरी ७ वटा डिपो सञ्चालनमा छन् । 

पञ्चकन्या ग्रुपअन्तर्गत सञ्चालित पञ्चकन्या स्टिलको नेतृत्व अध्यक्ष प्रेमबहादुर श्रेष्ठले गरिरहेका छन् भने प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठसहित सात सदस्यीय सञ्चालक समिति रहेको छ । सन् १९९५ देखि निरन्तर टीएमटी स्टिल बार उत्पादन गर्दै आएको कम्पनीको भैरहवास्थित उद्योगको वार्षिक उत्पादन क्षमता एक१ लाख ५० हजार मेट्रिक टन रहेको छ।
 

Advertisment