बाढी तथा पहिरोका कारण देशभरका मुख्य राजमार्ग अवरोध

बाढी तथा पहिरोका कारण देशभरका मुख्य राजमार्ग अवरोध

काठमाडौं : बाढी तथा पहिरोका कारण मंगलबार देशका विभिन्न जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

Sponsored Advertisement

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो सूचनाअनुसार केही सडकखण्डमा एकतर्फी सञ्चालन भइरहेको छ भने केही स्थानमा पूर्ण रूपमा यातायात बन्द गरिएको छ।

कोशी प्रदेश अन्तर्गत भोजपुर जिल्लाको भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको छ। 

उक्त सडकमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीस्थित कोशी राजमार्ग पहिरोका कारण अवरुद्ध भए पनि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा पर्ने बी.पी. राजमार्ग सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण भकुण्डे–नेपालथोक–कुटुम्बेश्वरी क्षेत्रमा अर्को आदेश नभएसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

गण्डकी प्रदेशअन्तर्गत स्याङ्जाको आँधिखोला गाउँपालिका–३ जल्पादेवीस्थित बेनी–जोमसोम सडकखण्ड पहिरोका कारण प्रभावित भएको छ। उक्त सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

लमजुङको मध्यनेपाल नगरपालिका–१० तिमिस्थित मध्यपहाडी लोकमार्ग भने पूर्ण रूपमा अवरुद्ध भएको छ।

कर्णाली प्रदेशको हुम्लामा जिल्लाको नाम्खा गाउँपालिका–६ क्षेत्रमा पर्ने हिल्सा सिमकोट सडकखण्ड सम्भावित पहिरोका कारण बन्द गरिएको छ। सो क्षेत्रमा पनि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीले यात्रुहरूलाई यात्रा अघि सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।

थप समाचार