Below Menu
Below Menu

मेटाले ल्यायो नयाँ ‘प्लस’ सदस्यता योजनाः फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप अब थप प्रिमियम बन्दै

मेटाले ल्यायो नयाँ ‘प्लस’ सदस्यता योजनाः फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप अब थप प्रिमियम बन्दै

एजेन्सी : सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्मले आफ्ना लोकप्रिय प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपका लागि नयाँ ‘प्लस’ सदस्यता योजना सार्वजनिक गरेको छ। 

कम्पनीले विश्वव्यापी रूपमा यी नयाँ सेवाहरू क्रमिक रूपमा विस्तार गर्ने घोषणा गरेको हो। यसअन्तर्गत प्रयोगकर्ताले मासिक शुल्क तिरेर अतिरिक्त सुविधा, निजीकरण विकल्प र विशेष उपकरणहरू प्रयोग गर्न पाउनेछन्।

नयाँ ‘प्लस’योजनाहरू हाल सञ्चालनमा रहेका ‘मेटा भेरिफाइडड योजनाको विकल्प भने नरहेको मेटाले स्पष्ट पारेको छ । यी सेवाहरू विशेष रूपमा सामाजिक अभिव्यक्ति, सामग्री सिर्जना, निजीकरण तथा व्यवसाय प्रवर्द्धनलाई लक्षित गरेर तयार गरिएको कम्पनीको भनाइ छ।

विश्वकै ठूलो प्रयोगकर्ता आधारमध्ये एक भारत भएकाले, मेटाले त्यहाँ पनि यी सुविधा चरणबद्ध रूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ। तर कम्पनीले भारतमा सेवा सुरु हुने आधिकारिक मिति भने अझै घोषणा गरेको छैन।

इन्स्टाग्राम प्लस र फेसबुक प्लस मुख्यतः कन्टेन्ट क्रियटर तथा सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गरेर ल्याइएको हो। नयाँ योजनाअन्तर्गत प्रयोगकर्ताले आफ्ना स्टोरी पुनः हेर्ने व्यक्तिको संख्या देख्न सक्नेछन्। साथै, हाल उपलब्ध ‘क्लोज फ्रेन्ड्स’ सूचीभन्दा धेरै उन्नत सुविधा प्रयोग गर्न सकिनेछ।

अब प्रयोगकर्ताले आफूअनुसार धेरै निजी सूची बनाउन सक्नेछन् र कुन फोटो वा भिडियो कसले हेर्न पाउने भन्ने छुट्टै नियन्त्रण गर्न सक्नेछन्।  

हाल फेसबुक र इन्स्टाग्राममा स्टोरी २४ घण्टापछि स्वतः हट्ने व्यवस्था छ। तर नयाँ प्लस सदस्यतासँगै प्रयोगकर्ताले आफ्ना स्टोरी लामो समयसम्म प्रोफाइलमा राख्न सक्नेछन्। हप्तामा एकपटक कुनै स्टोरीलाई ‘स्पटलाइट’ गरेर धेरै प्रयोगकर्तासम्म पुर्‍याउने सुविधा पनि दिइनेछ।

यसका साथै, प्रयोगकर्ताले अरूको स्टोरी गोप्य रूपमा हेर्न सक्ने सुविधा समेत पाउनेछन्। यस अवस्थामा स्टोरी हेरेको व्यक्तिको नाम दर्शक सूचीमा देखिने छैन। आफ्नै स्टोरी हेर्ने व्यक्तिहरूको नाम खोजी गरेर हेर्न सकिने सुविधा पनि थप गरिएको छ।

मेटाले प्रोफाइल अपडेटलाई पनि थप सहज बनाएको छ। अब प्रयोगकर्ताले कुनै फोटो वा भिडियो सिधै प्रोफाइल वा हाइलाइटमा सुरक्षित गर्न सक्नेछन् । साथै, नयाँ फन्ट, ‘सुपर हार्ट’ प्रतिक्रिया, र अनुकूलन एप आइकनजस्ता दृश्यात्मक सजावटका विकल्प पनि उपलब्ध गराइनेछन्।

व्हाट्सएप प्लस भने मुख्यतः नयाँ सदस्यता योजनामा प्रयोगकर्ताले एपको थिम परिवर्तन गर्न, अनुकूलित रिङटोन प्रयोग गर्न, थप च्याट पिन गर्न तथा सूचीहरू आफूअनुसार व्यवस्थापन गर्न सक्नेछन्।प्रिमियम स्टिकरहरू पनि यस योजनामा समावेश हुनेछन्।

मेटाले आफ्नो कृत्रिम बुद्धिमत्ता सेवा ‘मेटा एआई’ का लागि पनि दुई नयाँ प्रिमियम योजना परीक्षण गरिरहेको जनाएको छ। ‘मेटा वन प्लस’ योजना करिब ७७०० रुपैयाँ प्रतिमहिना पर्नेछ भने ‘मेटा वन प्रिमियम’ योजना करिब १९ हजार रुपैयाँ प्रतिमहिना पर्ने अनुमान गरिएको छ। 

दुवै योजनामा समान आधारभूत सुविधा भए पनि प्रिमियम संस्करणले जटिल कार्यका लागि उच्च कम्प्युटिङ क्षमता, गहिरो तर्क विश्लेषण तथा उन्नत भिडियो–छवि उत्पादन सुविधा उपलब्ध गराउने कम्पनीको दाबी छ।

यद्यपि, सामान्य प्रयोगकर्ताका लागि मेटा एआईको आधारभूत सेवा निःशुल्क रहने बताइएको छ।

मेटाले सामग्री सिर्जनाकर्ता र व्यवसाय लक्षित गर्दै ‘मेटा वन एसेन्सियल्स’ र ‘मेटा वन एडभान्स्ड’ नामक दुई नयाँ योजना पनि परीक्षण गर्न थालेको छ।

एसेन्सियल्स योजनामा प्रमाणित ब्याज, नक्कली खाताबाट सुरक्षा तथा उन्नत ‘लिङ्कसिट’ सुविधा दिइनेछ, जसले विभिन्न सामाजिक सञ्जालका लिङ्कलाई एउटै स्थानमा राख्न सहयोग गर्नेछ।

त्यस्तै, एडभान्स्ड योजनामा फेसबुक फिडमा प्राथमिकता, खोज परिणाममा उच्च स्थान, रिल्समा आकर्षक ‘फलो’ बटन तथा स्वचालित फलो निमन्त्रणाजस्ता सुविधा समावेश हुनेछन्। यसले व्यवसायलाई आफ्नो वेबसाइट वा अनलाइन पसलमा बढी ट्राफिक ल्याउन मद्दत गर्ने मेटाको विश्वास छ।

यस योजनामा प्रतिस्पर्धी विश्लेषण, उन्नत तालिका व्यवस्थापन तथा पासवर्ड साझा नगरी अन्य मोडरेटरलाई पहुँच दिने सुविधा पनि रहनेछ। साथै, कसैले सिर्जनाकर्ताको सामग्री पुनः प्रयोग गरेमा मूल कन्टेन्टलाई श्रेय दिन अनुरोध गर्ने सूचना स्वतः प्राप्त हुनेछ।

किन बदलिँदैछ सामाजिक सञ्जालको व्यापार मोडल ?

विगत धेरै वर्षदेखि फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप पूर्ण रूपमा निःशुल्क थिए। मेटाले प्रयोगकर्ताको डेटा र डिजिटल विज्ञापनमार्फत अर्बौं डलर आम्दानी गर्दै आएको थियो। तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल प्रयोगकर्ताको वृद्धि सुस्त बन्दै गएको छ।

अर्कोतर्फ, गोपनीयता सम्बन्धी कडा नियम तथा विज्ञापन ट्र्याकिङमा लगाइएका प्रतिबन्धले कम्पनीहरूको विज्ञापन आम्दानीमा असर पार्न थालेको छ। यही कारणले मेटाले अब विज्ञापनमा मात्र निर्भर नहुने रणनीति अपनाउँदै सदस्यता आधारित सेवा विस्तार गर्न थालेको छ ।

यसअघि एक्स क्रप्पले पनि एक्स (पूर्व ट्विटर) मा सशुल्क सदस्यता सेवा सुरु गरिसकेको छ। अब मेटाले पनि त्यही बाटो पछ्याउँदै प्रयोगकर्ताबाट प्रत्यक्ष आम्दानी बढाउने तयारी गरेको छ । 

Advertisment

थप समाचार