Below Menu
Below Menu

‘तेज’ ब्रान्डको तोरी तेल गुणस्तरहीनः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

‘तेज’ ब्रान्डको तोरी तेल गुणस्तरहीनः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भेटिएको ‘तेज’ ब्रान्डको तोरी तेल तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुनाको प्रयोगशाला परीक्षणपछि उक्त तेल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएको जनाएको हो।

विभागका अनुसार सिद्धार्थ आयल इन्डस्ट्रिज, गुरबानिया, रुपन्देहीद्वारा उत्पादन गरिएको ‘तेज’ ब्रान्डको तोरी तेलको ब्याच नम्बर २० परीक्षणका क्रममा न्यूनस्तरको पाइएपछि सम्बन्धित उत्पादन बजारबाट फिर्ता गर्न आदेश जारी गरिएको हो।

उक्त तेल आयातित तोरी गेडाबाट उत्पादन गरिएको जनाइएको छ। तेलको उत्पादन मिति २०८२ फागुन २८ उल्लेख गरिएको छ भने यसको उपभोग्य अवधि ६ महिना रहेको छ।

प्रयोगशालामा गरिएको परीक्षणका क्रममा विभिन्न मापदण्डका आधारमा नमुना गुणस्तर अनुरूप नभेटिएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८९२०० बमोजिम सम्बन्धित उत्पादकलाई बजारबाट सम्पूर्ण ब्याच फिर्ता गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

विभागले उक्त ब्याचको तेल बिक्री–वितरण नगर्न तथा नगराउन उत्पादक, विक्रेता र व्यवसायीलाई निर्देशन दिएको छ। साथै उपभोक्तालाई पनि सोही ब्याच नम्बरको तेल प्रयोग नगर्न आग्रह गरिएको छ।

खाद्य विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी गुणस्तरहीन खाद्यवस्तुको उत्पादन तथा बिक्री वितरणमा कडाइ गरिने जनाएको छ।

Advertisment

थप समाचार