Below Menu
Below Menu

हर्मुजको अवरोध हटाउन इरान र अमेरिका सहमत, तर मध्यपूर्वमा सैन्य टकरावको जोखिम यथावत्

हर्मुजको अवरोध हटाउन इरान र अमेरिका सहमत, तर मध्यपूर्वमा सैन्य टकरावको जोखिम यथावत्

काठमाडौं : तीन महिनादेखि तनाव र प्रत्यक्ष सैन्य भिडन्तमा फसेका अमेरिका र इरानबीच ६० दिने अस्थायी युद्धविराम विस्तार गर्ने प्रारम्भिक समझदारी बनेको दाबी गरिएको छ । तर युद्ध रोक्ने प्रयाससँगै ऊर्जा सुरक्षा, हर्मुज जलघाँटी र इरानको आणविक कार्यक्रम फेरि विश्व राजनीति केन्द्रमा पुगेका छन् ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दुवै पक्षबीच प्रारम्भिक सहमति भएको बताएका छन् । यद्यपि इरानले सम्झौताबारे औपचारिक पुष्टि गरेको छैन भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत अन्तिम स्वीकृति दिएका छैनन् । अमेरिकी अधिकारीहरूका अनुसार केही प्राविधिक र भाषागत विषयमा अझै छलफल जारी छ ।

सम्झौतामा सबैभन्दा संवेदनशील विषय हर्मुज जलघाँटीलाई बनाइएको छ । प्रस्तावअनुसार इरानले उक्त सामरिक समुद्री मार्गमा टोल असुल गर्न नपाउने तथा ३० दिनभित्र राखिएका समुद्री खानी हटाउनुपर्ने उल्लेख गरिएको छ ।

विश्व व्यापारमा प्रयोग हुने तेल तथा ग्यासको करिब २० प्रतिशत यही मार्ग हुँदै ओसारपसार हुने भएकाले इरानद्वारा मार्ग अवरुद्ध गरिएपछि विश्व बजार नै प्रभावित बनेको थियो । पछिल्ला साताहरूमा जहाज आवागमन युद्धपूर्व अवस्थाभन्दा निकै घटेको अन्तर्राष्ट्रिय तथ्यांकले देखाएको छ ।

युद्धविरामसँगै अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक दबाब क्रमशः कम गर्ने तथा केही आर्थिक प्रतिबन्ध खुकुलो पार्ने संकेत दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सम्झौता कार्यान्वयनमा गए तेलको मूल्य घट्न सक्ने बताएका छन् ।

वार्ताको केन्द्रमा भने इरानको अत्यधिक संवर्धित युरेनियम भण्डार रहेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानसँग ६० प्रतिशतसम्म संवर्धित ४४०.९ किलोग्राम युरेनियम रहेको छ, जुन हतियार-स्तरको ९० प्रतिशत सीमाभन्दा धेरै टाढा छैन ।

अमेरिका इरानको संवर्धन कार्यक्रमलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्ने रणनीतिमा छ भने इरानले आफ्नो आणविक अधिकार नछोड्ने संकेत दिइरहेको छ । केही कूटनीतिक वृत्तमा इरानको संवर्धित भण्डार चीन वा रूसलाई हस्तान्तरण गर्ने विकल्पबारे चर्चा भए पनि ट्रम्प प्रशासन त्यसप्रति सहज नरहेको बताइएको छ ।

उपराष्ट्रपति भान्सले ‘आणविक सामग्री, संवर्धन प्रक्रिया र दीर्घकालीन निगरानी’ अझै जटिल वार्ताको विषय रहेको स्वीकार गरेका छन् ।

युद्धविराम प्रयास जारी रहँदा क्षेत्रीय तनाव भने घटेको छैन । इरानले वार्तामा लेबनानमाथि इजरायली सैन्य कारबाही रोक्ने विषय पनि समावेश गर्नुपर्ने अडान राखेको छ ।

यसबीच बेरुत आसपास र दक्षिणी लेबनानमा भएको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । उता कुवेतले आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत इरानबाट प्रक्षेपित मिसाइल र ड्रोन अवरोध गरिएको जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले यसलाई ‘गम्भीर युद्धविराम उल्लंघन’ भनेको छ भने इरानले आफ्ना रिभोलुसनरी गार्डमार्फत प्रतिकारात्मक कारबाही गरेको दाबी गरेको छ ।

हालको समझदारी तत्काल युद्ध रोक्ने प्रयास भए पनि यसले मध्यपूर्वमा शक्ति सन्तुलनको नयाँ प्रतिस्पर्धा सुरु गरेको संकेत देखिएको छ । ऊर्जा आपूर्ति, आणविक नियन्त्रण र समुद्री मार्गमाथिको प्रभुत्व आगामी वार्ताका मुख्य मुद्दा बन्ने अनुमान गरिएको छ ।

यद्यपि अमेरिकी उपराष्ट्रपति भान्सका अनुसार युद्धविराम ‘धेरै हदसम्म कायम’ रहेको छ । तर दक्षिणी इरानको जाम क्षेत्रमा इरानले ‘शत्रुतापूर्ण विमान’ खसालेको दाबी गरेपछि क्षेत्रीय अवस्था अझै पूर्ण रूपमा स्थिर भइनसकेको संकेत देखिएको छ ।

Advertisment

थप समाचार