Below Menu
Below Menu

दिल्लीमा एब्सोलुट र चिभास बिक्रीमा प्रतिबन्ध: पेर्नोड रिकार्डमाथि कर छलीको मुद्दा, लाइसेन्स रद्द !

दिल्लीमा एब्सोलुट र चिभास बिक्रीमा प्रतिबन्ध: पेर्नोड रिकार्डमाथि कर छलीको मुद्दा, लाइसेन्स रद्द !

एजेन्सी : भारतको राजधानी दिल्लीमा एब्सोलुट भोड्का, चिभास रिगल, रोयल स्ट्याग लगायतका चर्चित मदिरा ब्रान्ड उत्पादन गर्ने फ्रान्सेली कम्पनी पेर्नोड रिकार्डको व्यवसाय अझै अवरुद्ध रहेको छ।

दिल्ली उच्च अदालतले कम्पनीलाई पुनः दिल्ली बजारमा मदिरा बिक्री गर्न अनुमति दिन माग गर्दै दायर गरिएको निवेदन खारेज गरेपछि कम्पनीको संकट थप गहिरिएको हो।

सन् २०२१ को विवादास्पद दिल्ली मदिरा नीति प्रकरणमा कम्पनीको नाम जोडिएपछि पेर्नोड रिकार्डलाई सन् २०२३ देखि दिल्ली बजारबाट बाहिर राखिएको थियो। अहिले पनि कम्पनीका उत्पादनहरू दिल्लीमा बिक्री हुन पाएका छैनन्।

खुद्रा विक्रेतासँग साँठगाँठ गरेको आरोप

भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले पेर्नोड रिकार्डले आफ्नो बजार हिस्सा बढाउन केही खुद्रा विक्रेतासँग अवैध साँठगाँठ गरेको आरोप लगाएको छ। अनुसन्धान निकायका अनुसार कम्पनीले सरकारी नियम विपरीत व्यापारिक प्रभाव विस्तार गर्न प्रयास गरेको थियो।

यही आरोपका आधारमा दिल्ली प्रशासनले कम्पनीको मदिरा इजाजतपत्र नवीकरण तथा नयाँ आवेदन अस्वीकार गरेको थियो। अहिले अदालतको निर्णयपछि कम्पनीले दिल्लीमा पुनः कारोबार सुरु गर्न पाउने वा नपाउने विषय अझै अन्योलमै रहेको छ। अदालतको पछिल्लो आदेशबारे पेर्नोड रिकार्डले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।

स्कच ह्विस्की आयातमा कर छलिको आरोप

मदिरा नीति विवादसँगै पेर्नोड रिकार्ड भारतमा ठूलो कर विवादमा पनि फसेको छ। रोयटर्सको रिपोर्ट अनुसार भारतीय अनुसन्धानकर्ताहरूले कम्पनीले विदेशबाट आयात गरिने स्कच ह्विस्कीको वास्तविक उमेर र संरचना लुकाएर कम भन्सार शुल्क तिर्न खोजेको निष्कर्ष निकालेका छन्।

अनुसन्धानमा कम्पनीले आयातित मदिराको वास्तविक मूल्य कम देखाएको तथा उत्पादनको विवरण अस्पष्ट बनाएको उल्लेख छ। यसका कारण भारत सरकारले कम्पनीसँग कर बक्यौता स्वरूप ४३१.४ मिलियन अमेरिकी डलर अर्थात् करिब २,९९६ करोड भारतीय रुपैयाँ माग गरेको छ।

भन्सार अधिकारीलाई झुक्याउन ‘कोडनेम’ प्रयोग

अदालतमा पेश भएका कागजात र अनुसन्धान प्रतिवेदनअनुसार पेर्नोड रिकार्डले आयात गरिने माल्टका लागि नयाँ ‘कोडनेम’ प्रयोग गरेको थियो। यसले भन्सार अधिकारीहरूलाई ती सामग्रीको वास्तविक स्रोत, गुणस्तर र मूल्य तुलना गर्न कठिन भएको बताइएको छ।

अनुसन्धानकर्ताहरूको दाबी अनुसार कम्पनीले जानाजानी वास्तविक विवरण लुकाएर कर दायित्व कम गर्न खोजेको थियो। तर पेर्नोड रिकार्ड इन्डियाले भने सबै आरोप अस्वीकार गर्दै आफूले कानुनअनुसार नै कारोबार गरेको र कानुनी प्रक्रियामार्फत आफ्नो पक्ष राखिरहेको जनाएको छ।

१५० प्रतिशत भन्सार शुल्कबाट बच्न मूल्य कम देखाइएको आरोप

भारतीय अधिकारीहरूका अनुसार कम्पनीले आयात गर्ने थोक स्कच कन्सेन्ट्रेटको मूल्य करिब ६७.४९ प्रतिशतसम्म कम देखाएको थियो। भारतमा यस्ता मदिराजन्य कन्सेन्ट्रेटमा १५० प्रतिशतसम्म भन्सार शुल्क लाग्ने भएकाले कम्पनीले कर भार घटाउन यस्तो गरेको आरोप छ।

विदेशबाट ल्याइने यही स्कच कन्सेन्ट्रेटलाई भारतमा पानी, तटस्थ स्पिरिट र कारमेल मिसाएर रोयल स्ट्यागजस्ता लोकप्रिय ब्रान्ड तयार गरिन्छ।

मुद्दा हारे कम्पनीले ५,७२५ करोड रुपैयाँ तिर्नुपर्ने  

भारत पेर्नोड रिकार्डका लागि विश्वकै सबैभन्दा ठूलो बजार मानिन्छ। विवाद सुरु हुनुअघि दिल्लीबाट मात्र कम्पनीको भारतभित्रको कुल बिक्रीको करिब ५ प्रतिशत हिस्सा आउने गरेको बताइन्छ।

अदालतका कागजात अनुसार हाल कम्पनीमाथि करिब ३,००० करोड रुपैयाँ बराबरको कर दायित्व रहेको छ। यदि कम्पनीले कानुनी लडाइँ हारेमा जरिवाना र अतिरिक्त शुल्कसहित कुल भुक्तानी ६०० मिलियन अमेरिकी डलर अर्थात् करिब ५,७२५ करोड रुपैयाँ पुग्न सक्ने अनुमान गरिएको छ।

 

ताजा पोस्ट

Advertisment

थप समाचार