काठमाडौं : राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा ‘अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन’ हुने भएको छ।
संयुक्त राष्ट्र संघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला कृषक वर्ष’ घोषणा गरेको सन्दर्भमा आयोजना हुन लागेको सम्मेलन सानेपास्थित हेरिटेज गार्डेनमा असार ६ र ७ गते (जुन २० र २१ तारिख) दुई दिन सञ्चालन हुनेछ।
महिलाहरूको आर्थिक सशक्तिकरण, नेतृत्व विकास र कृषि क्षेत्रमा उनीहरूको अद्वितीय योगदानलाई विश्वव्यापी मञ्च प्रदान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले जानकारी दिए।
नेपालका ३२ हजारभन्दा बढी सहकारीहरूमा ५६ प्रतिशतभन्दा बढी महिलाहरूको सक्रिय सहभागिता छ। सम्मेलनले उनीहरूको नेतृत्वदायी भूमिका र आर्थिक स्वतन्त्रताका लागि नयाँ मार्गचित्र तय गर्ने छ।
सम्मेलनको ‘काठमाडौं घोषणापत्र २०२६’ जारी गर्नेछ । घोषणा पत्रले महिलामैत्री सहकारी नीति र दिगो विकासका लागि साझा प्रतिबद्धता व्यक्त गर्नेछ । कार्यक्रममा महिलामैत्री सहकारी नीति, नेतृत्व विकास, नवप्रवर्तन, प्रविधि र दिगोपना जस्ता गम्भीर विषयहरूमा केन्द्रित रहेर घनिभूत छलफल हुनेछ ।
सम्मेलनको पहिलो दिन ‘महिला-मैत्री सहकारी नीति र महिलाको नेतृत्व’, ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष २०२६ : वर्तमान अवस्था, चुनौती तथा सामाजिक–आर्थिक रूपान्तरणमा भूमिका’ र ‘सहकारी क्षेत्रमा नवप्रवर्तन, प्रविधि र दिगोपन’ विषयमा छलफल हुनेछ ।
त्यस्तै दोस्रो दिन ‘सहकारीमार्फत महिला सशक्तीकरण, आयआर्जन तथा रोजगारी सिर्जना’ र ‘सहकारी सञ्जालीकरण तथा आन्तरिक र अन्तर्राष्ट्रिय बजारीकरणमा अवसर र चुनौती’ छलफल हुनेछ । त्यस्तै सोही दिन नेटवर्किङ तथा बजारीकरणसम्बन्धी छलफल समेत हुने अध्यक्ष पोखरेलले बताए।
सम्मेलनमा नेपालका विभिन्न जिल्लाका महिला सहकारीकर्मीहरु, अन्तर्राष्ट्रिय सहकारी अभियन्ता, सरकारी प्रतिनिधि, संयुक्त राष्ट्र संघका निकायका प्रतिनिधि र विकास साझेदारहरू गरी करिब दुई सय जनाको सहभागिता रहनेछ । कार्यक्रमका दौरान महिला सहकारीहरूले उत्पादन गरेका सामग्रीहरूको विशेष प्रदर्शनी र उनीहरूको सीप प्रदर्शनका सत्रहरू समेत सञ्चालन गरिनेछ । यसले महिला उद्यमीहरूलाई बजार पहुँच र नेटवर्किङमा ठूलो सघाउ पु¥याउने विश्वास आयोजकले लिएको छ।
सम्मेलनमा सहभागी हुने अन्तर्राष्ट्रिय पाहुनाहरूका लागि नेपालका सफल महिला सहकारीहरूको अध्ययन भ्रमण र सांस्कृतिक सम्पदाहरूको अवलोकनको व्यवस्था समेत गरिएको छ । यसका साथै इच्छुक सहभागीहरूका लागि सगरमाथा आधार शिविरमा ब्रेकफास्टसहितको पर्वतीय उडानको समेत प्रस्ताव गरिएको छ।
आयोजकले रजिष्ट्रेशन समेत खुला गरेको छ। For Online Registration: https://url-shortener.me/MIZP
Advertisment