नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारले नतिजामुखी भएर दृढतापूर्वक काम गरिरहेको बताएका छन् ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम पालिका अधिवेशनका क्रममा तादी गाउँपालिका–५ मा आयोजित कार्यक्रममा सञ्चारमन्त्री डा.तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शुक्रबार सदनमा प्रस्तुत गरिएको बजेट युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको उल्लेख गरे ।
उनले बजेटले मुलुकको अर्थतन्त्रलाई आगामी दिनमा कुन दिशातर्फ अघि बढाउने भन्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्दै सरकारका प्राथमिकता, राजस्व नीति तथा दीर्घकालीन विकास दृष्टिकोणसमेत स्पष्ट रूपमा समेटिएको बताए ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले नीतिगत सुधारमार्फत विकास प्रक्रियालाई प्रभावकारी, सन्तुलित र समावेशी बनाउने प्रयास भइरहेको बताउँदै समानुपातिक विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।
“विगतका वर्षहरूमा जस्तो छरिएको र उद्देश्यविहीन बजेट होइन, यसपटक राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर विकासको स्पष्ट प्रस्थानबिन्दु तय गर्नेगरी बजेट आएको छ,” सञ्चारमन्त्री तिमिल्सिनाले भने ।
विकास र समृद्धिको नागरिक आकांक्षा पूरा गर्ने सोच र दृष्टिकोणअनुसार बजेट निर्माण गरिएको उल्लेख गर्दै उनले विकास र बजेटको लाभ सीमित शक्तिशाली समूहमा केन्द्रित हुने अवस्थाको अन्त्य गर्न सरकार प्रयासरत रहेको बताए । त्यस्तै, बजेट वक्तव्यले सबै विषय समेट्न नसक्ने भएकाले विस्तृत योजना तथा कार्यक्रमहरू रातो किताबमार्फत सार्वजनिक गरिने जानकारी पनि उनले दिए ।
जिल्लाका विभिन्न समस्या समाधानका लागि आफूले सक्रिय भएर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले स्थानीयवासीलाई आफ्ना गुनासा र समस्या जुनसुकै माध्यमबाट भए पनि जानकारी गराउन आग्रह गरे । प्राप्त समस्याको समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन पनि उनले दिए ।
त्यस्तै,सञ्चारमन्त्री डा तिमिल्सिनाले वर्तमान बजेट सत्तारुढ दलले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने उद्देश्यसहित ल्याइएको बताउँदै विकासमा सबै नागरिकको समान अधिकार सुनिश्चित गर्न सरकार केन्द्रित रहेको बताए । यो बजेटमार्फत सरकारले आगामी २० वर्षलाई लक्षित गरी योजनाबद्ध विकासको आधार तयार गरिएको पनि उनको भनाइ थियो ।
सोही कार्यक्रआ सञ्चारमन्त्री डा तिमिल्सिनाले भ्रष्टाचार र बिचौलियातन्त्र अन्त्य गर्ने प्रतिबद्धतासहित सरकार अघि बढिरहेको स्पष्ट पार्दै यस्ता विकृतिविरुद्ध कडा कदम चालिने बताए ।
“राजनीति जनताका लागि गरिन्छ। अब गलत काम गर्नेहरू अब स्वाभाविक रूपमा अप्ठ्यारोमा पर्छन्,” उनले भने । सरकारका नीति, कार्यक्रम र योजनाको केन्द्रमा नागरिक रहेको उल्लेख गर्दै उनले विगतमा शासन व्यवस्था सीमित स्वार्थ समूहको प्रभावमा पर्दा युवाहरूमा असन्तुष्टि र विद्रोहको भावना बढेको धारणा राखे ।
नागरिकलाई केन्द्रमा राख्ने शासन प्रणाली प्रभावकारी रूपमा स्थापित हुन नसक्दा जनतामा निराशा बढेको र त्यसले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गराएको उनको भनाइ थियो ।
त्यसैगरी आजै रास्वपाको शिवपुरी गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार, अनियमितता र बिचौलियातन्त्रको अन्त्य रहेको बताएका छन् ।
पालिका अधिवेशनका क्रममा आयोजित कार्यक्रममा बोल्दै उनले गलत काम गर्नेलाई सरकारले नछोड्ने तथा अनियमितता भए सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरे ।
राजनीति देश र जनताको सेवा गर्ने माध्यम भएको उल्लेख गर्दै उनले कर्मचारी संयन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त गरी प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको बताए ।
सञ्चार मन्त्री तिमिल्सिनाले आगामी आर्थिक वर्षको बजेट जनताको चाहना र मुलुकको आवश्यकतालाई केन्द्रमा राखेर ल्याइएको उल्लेख गरे । लगानी र उत्पादन वृद्धि, सेवा प्रवाहलाई सहज बनाउने तथा नागरिकलाई केन्द्रमा राखेर विकास अघि बढाउने लक्ष्य बजेटमा समेटिएको उनको भनाइ थियो ।
उनले दूरसञ्चार क्षेत्रमा देखिएका समस्याबारे सरकार जानकार रहेको उल्लेख गर्दै देशभरको मोबाइल नेटवर्क समस्या समाधान गरी डिजिटल विभाजन अन्त्य गर्ने योजना रहेको जानकारी दिए । त्यस्तै, नुवाकोटमा पर्यटन विकासका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै समावेशी विकासमार्फत समग्र देशको समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए ।
सरकार आफ्ना चुनावी प्रतिबद्धताबाट विचलित नभएको बताउँदै सञ्चार मन्त्री तिमिल्सिनाले प्रदेश र स्थानीय तहका सरकारसमेत थप उत्तरदायी र प्रभावकारी बन्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
Advertisment