Below Menu

इरानद्वारा अमेरिकी ड्रोन खसालेको दाबीः ट्रम्प भन्छन्- ‘सम्झौताका लागि हतार छैन’

इरानद्वारा अमेरिकी ड्रोन खसालेको दाबीः ट्रम्प भन्छन्- ‘सम्झौताका लागि हतार छैन’

एजेन्सी : इरान र अमेरिकाबीचको तनाव पुनः चुलिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आइतबार इरानी हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी एमक्यू-९ ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणालीले खसालेको दाबी गरेको छ।

इरानी समाचार एजेन्सी तस्निमका अनुसार उक्त ड्रोनलाई देशको निगरानी तथा हवाई सुरक्षा प्रणालीले पहिचान गरेपछि उन्नत मिसाइल प्रणालीमार्फत निशाना बनाएर ध्वस्त पारिएको हो।

आईआरजीसीले जारी गरेको वक्तव्यमा ड्रोन अमेरिकी सेनाको भएको तथा शत्रुतापूर्ण उद्देश्यसहित इरानी हवाई क्षेत्रमा प्रवेश गरेको आरोप लगाइएको छ। यद्यपि अमेरिकी पक्षले भने यस विषयमा तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ताबारे प्रतिक्रिया दिँदै आफू कुनै सम्झौता गर्न हतारमा नरहेको बताएका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले अमेरिकाले आफ्ना सर्तहरू क्रमशः अघि सारिरहेको र सम्भव भएसम्म उत्कृष्ट सम्झौता हासिल गर्ने प्रयास भइरहेको बताए।

“हामी सबैभन्दा राम्रो सम्झौता चाहन्छौं। यदि त्यस्तो सम्भव भएन भने अन्य विकल्पहरू पनि खुला रहनेछन्,” ट्रम्पले भने। उनले आवश्यकता परे सैन्य विकल्प प्रयोग गर्न सकिने संकेतसमेत दिएका छन्।

ट्रम्पले इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको दाबी पनि गरे। उनका अनुसार इरानले आणविक हतियार नबनाउने मात्र होइन, त्यस्ता हतियार प्राप्त गर्ने वा किन्ने प्रयाससमेत नगर्ने सहमति जनाएको छ।

पछिल्लो २४ घण्टामा इरान-अमेरिका सम्बन्धसँग सम्बन्धित केही महत्वपूर्ण घटनाक्रमहरू पनि सार्वजनिक भएका छन्। ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले सिचुएसन रुममा उच्च अधिकारीहरूसँग करिब दुई घण्टा लामो बैठक गरे तापनि इरानसँग सम्भावित सम्झौताका विषयमा कुनै अन्तिम निर्णय हुन सकेन।

अमेरिकी रक्षा सचिव पिट हेग्सेथले पनि इरानलाई सम्झौता स्वीकार गर्न वा बल प्रयोगको सम्भावित परिणाम सामना गर्न तयार रहन चेतावनी दिएका छन्। उनले कूटनीतिक समाधानलाई प्राथमिकता दिइए पनि आवश्यक परे अमेरिकाले कडा कदम चाल्न सक्ने बताएका छन्।

उता इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका सल्लाहकार मोहसेन रेजाइले अमेरिकामाथि कूटनीतिक प्रक्रियालाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन्। उनले समुद्री नाकाबन्दी तथा दबाबमूलक रणनीतिले वार्ता प्रक्रियामा विश्वासको वातावरण नष्ट गरिरहेको बताएका छन्।

यसै क्रममा ओमानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरूमध्यमा शंकास्पद तैरिरहेको ल्याण्डमाइन देखिएको जानकारी दिएको छ। उक्त क्षेत्रमा सञ्चालनमा रहेका जहाज तथा माछा मार्ने डुंगाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

थप समाचार