काठमाडौं : निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ-शेन्जेन-काठमाडौँ सिधा उडान सेवा सुरु गर्ने भएको छ। कम्पनीले आगामी जुन ४, २०२६ देखि चीनको प्रविधि तथा नवप्रवर्तन केन्द्रका रूपमा परिचित शेन्जेनसँग सिधा हवाई सेवा सञ्चालनमा ल्याउने भएको हो ।
हिमालय एयरलाइन्सका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए), काठमाडौं र शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच सुरुवातमा हप्तामा दुईवटा नियमित उडान सञ्चालन गरिनेछ।
काठमाडौंबाट शेन्जेनका लागि प्रत्येक मंगलबार र बिहीबार राति ९ः५० बजे उडान भर्ने विमान स्थानीय समयअनुसार भोलिपल्ट बिहान ४ः३० बजे शेन्जेन पुग्नेछ। त्यस्तै, शेन्जेनबाट काठमाडौंका लागि बुधबार र शुक्रबार बिहान ५ः५५ बजे उडान भर्ने विमान बिहान ८ः३५ बजे काठमाडौं अवतरण गर्ने तालिका रहेको छ।
पहिलोपटक सुरु हुन लागेको यो सिधा उडानले नेपाल र चीनबीचको हवाई पहुँचलाई थप सहज बनाउने विश्वास गरिएको छ। विशेषगरी व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा यसले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
हिमालय एयरलाइन्सले यात्रुको माग र बजारको सम्भावनालाई ध्यानमा राख्दै भविष्यमा यस रुटमा उडान संख्या थप्ने योजना पनि बनाएको जनाएको छ। कम्पनीका अनुसार नयाँ गन्तव्य थप्दै अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने रणनीतिअन्तर्गत शेन्जेन उडान सुरु गर्न लागिएको हो।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनमा नयाँ गन्तव्य विस्तार गर्ने अभियानअन्तर्गत शेन्जेन उडान महत्वपूर्ण उपलब्धि भएको बताए। उनले काठमाडौँ–शेन्जेन रुटले दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै पर्यटन र व्यापार प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
‘हिमालय एअरलाइन्सले चीनका विभिन्न शहरमा नियमित उडान विस्तार गर्दै आएको छ। शेन्जेन जस्तो विश्वप्रसिद्ध प्रविधि तथा औद्योगिक केन्द्रसँग नेपाललाई सिधा रूपमा जोड्नु हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो,’ श्रेष्ठले भने, ‘यस उडानले यात्रुलाई थप सुविधा प्रदान गर्नुका साथै दुई देशबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न मद्दत पुग्नेछ।’
उनले कम्पनीले उच्च सुरक्षा मापदण्ड र गुणस्तरीय सेवाप्रति प्रतिबद्ध रहँदै यात्रुलाई सहज, सुरक्षित र स्मरणीय यात्रा अनुभव प्रदान गर्ने लक्ष्य राखेको पनि बताए।
हिमालय एअरलाइन्सले काठमाडौँ–शेन्जेन उडानका टिकट आफ्नो टिकटिङ काउन्टर, आधिकारिक ट्राभल एजेन्ट, मोबाइल एप्लिकेसन तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत उपलब्ध हुने जनाएको छ।
Advertisment