Below Menu
Below Menu

बढ्दो ऋणको भारले लगातार खुम्चिँदै सेल्स बेरीको व्यापार, नौ महिनामा पौने दुई अर्बको कारोबार

बढ्दो ऋणको भारले लगातार खुम्चिँदै सेल्स बेरीको व्यापार, नौ महिनामा पौने दुई अर्बको कारोबार

काठमाडौं : सेल्स बेरी डिपार्टमेन्ट स्टोरको व्यापारमा लगातार गिरावट देखिएको छ। कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब ८४ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले कम हो।

पछिल्लो प्रतिवेदन अनुसार कम्पनीको आम्दानी पछिल्ला दुई वर्षदेखि दबाबमा देखिएको हो । सन् २०२५ मा कम्पनीले दुई अर्ब ९६ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा करिब ७ प्रतिशतले कम हो । सन् २०२४ मा ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । 

यसअघि सन् २०२३ मा कम्पनीले २ अर्ब ८१ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब २४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

व्यापारमा गिरावट आए पनि कम्पनीले सञ्चालन नाफा मार्जिन भने दोहोरो अंकमा कायम राख्न सफल भएको छ। सन् २०२५ मा कम्पनीको सञ्चालन नाफा मार्जिन १०.७ प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो १०.२ प्रतिशत कायम रहेको छ।

इक्रा नेपालले सेलवेज क्यास एन्ड क्यारी प्रालिको दीर्घकालीन तथा अल्पकालीन कर्जा रेटिङ यथावत राखेको छ। कम्पनीले सञ्चालन गर्दै आएको ‘सेल्सबेरी डिपार्टमेन्ट स्टोर’ र ‘सेल्सबेरी एक्सप्रेस’ ब्रान्डअन्तर्गतको व्यवसायका लागि दीर्घकालीन कर्जातर्फ ‘बी माइनस’ तथा अल्पकालीन कर्जातर्फ ‘एफोर’ रेटिङ पुनः पुष्टि गरिएको हो।

कम्पनीको वित्तीय अवस्था अझै कमजोर रहेको रिपोर्टमा उल्लेख छ  । ऋणको भार उच्च रहेको तथा ऋण भुक्तानी क्षमता दबाबमा रहेकाले रेटिङमा सुधार नभएको रिपोर्टले औँल्याएको छ ।

पछिल्ला वर्षहरूमा कम्पनीले शाखा विस्तार र पूर्वाधार निर्माणमा ठूलो मात्रामा ऋण लिएर लगानी गरेको थियो। विशेषगरी काठमाडौंको महाराजगञ्जमा बहुउद्देश्यीय भवन निर्माण तथा नयाँ स्टोर विस्तारका लागि गरिएको लगानीले कम्पनीको ऋण दायित्व उल्लेखनीय रूपमा बढाएको छ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनासम्म कम्पनीको कुल ऋण र नेटवर्थको अनुपात ३.६ गुणा पुगेको छ। त्यस्तै सञ्चालन नाफाको तुलनामा कुल ऋणको अनुपात १० गुणाभन्दा बढी रहेको छ । 

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ६२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९६ करोड रुपैयाँको ऋण रेटिङ गराएको हो ।

सन् १९९३ मा पोखराबाट ‘सेलवेज डिपार्टमेन्ट स्टोर’ का रूपमा सुरु भएको व्यवसाय अहिले ‘सेल्सबेरी’ ब्रान्डमार्फत काठमाडौं, ललितपुर र पोखरामा विस्तार भएको छ। हाल कम्पनीले ३५ वटा स्टोर सञ्चालन गरिरहेको छ। कम्पनीमा सुशीलमान प्रधानाङ्गको ५१ प्रतिशत तथा सृजना श्रेष्ठको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ।


 

Advertisment

थप समाचार