Below Menu

डिमर्जको तयारीमा रहेको वेदान्त समूहमा ईडीको छापा, अर्बौंको रोयल्टी भुक्तानीमाथि अनुसन्धान

डिमर्जको तयारीमा रहेको वेदान्त समूहमा ईडीको छापा, अर्बौंको रोयल्टी भुक्तानीमाथि अनुसन्धान

 एजेन्सी : भारतीय प्रवर्तन निर्देशनालय (ईडी)ले उद्योगपति अनिल अग्रवाल नेतृत्वको वेदान्त समूहका मुम्बई र दिल्लीस्थित कार्यालयहरूमा मंगलबार छापा मारेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार विदेशी मुद्रा व्यवस्थापन ऐन (फेमा) अन्तर्गत भएका अनियमितता र विदेशमा गरिएको ठूलो परिमाणको रकम स्थानान्तरण सम्बन्धी अनुसन्धानको सिलसिलामा छापा मारिएको हो । 

ईडीले विशेषगरी वेदान्त लिमिटेडबाट यसको बेलायतस्थित मूल कम्पनी वेदान्त रिसोर्सेसलाई गरिएको रोयल्टी भुक्तानीमाथि अनुसन्धान केन्द्रित गरेको जनाएको छ। वेदान्त रिसोर्सेस हाल करिब ७४ हजार करोड भारतीय रुपैयाँ बराबरको ऋणको भारमा रहेको बताइएको छ। 

अनुसन्धान निकायले भारतीय सहायक कम्पनीबाट मूल कम्पनीतर्फ बारम्बार गरिएको ठूलो रकमको भुक्तानी ऋण व्यवस्थापनका लागि प्रयोग गरिएको हुनसक्ने आशंकामा छानबिन अघि बढाएको हो।

वेदान्त समूह अहिले आफ्नो व्यवसायलाई पाँच छुट्टाछुट्टै सूचीबद्ध कम्पनीमा विभाजन गर्ने (डिमर्जर) प्रक्रियाको अन्तिम चरणमा छ। यस्तै संवेदनशील समयमा ईडीको छापा परेकाले कम्पनीको भावी संरचनात्मक योजनामाथि समेत प्रश्न उठ्न थालेका छन्। 

गत मे महिनामा कम्पनीले डिमर्जरका लागि आवश्यक विभिन्न नियामक स्वीकृतिहरू प्राप्त गरेको थियो। प्रस्तावित योजनाअनुसार खानी, धातु, ऊर्जा तथा अन्य व्यवसायलाई अलग-अलग कम्पनीमा विभाजन गरिनेछ, जसबाट बजारमा चार नयाँ सूचीबद्ध कम्पनी थपिने अपेक्षा गरिएको छ।

ईडीको कारबाहीपछि वेदान्त समूहले एक विज्ञप्ति जारी गर्दै अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ। कम्पनीका प्रवक्ताले भनेका छन्, “हामी अनुसन्धान अधिकारीहरूलाई आवश्यक सबै जानकारी उपलब्ध गराइरहेका छौं। वेदान्त सबै लागू हुने कानुन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्न प्रतिबद्ध छ। विषय हाल नियामकीय प्रक्रियाअन्तर्गत रहेकाले यसबारे थप टिप्पणी गर्न उपयुक्त छैन।”

ईडीको छापाको खबर सार्वजनिक हुनासाथ यसको प्रभाव शेयर बजारमा पनि देखिएको थियो। मंगलबार बिहान करिब ११ः४५ बजे वेदान्त लिमिटेडको शेयर मूल्य ०.७५ प्रतिशतले घटेर ३३४.६ रुपैयाँमा कारोबार भइरहेको थियो। भारतीय शेयर बजारमा सूचीकृत वेदान्त लिमिटेडको बजार पूँजीकरण करिब १.३ लाख करोड रुपैयाँ रहेको छ।

थप समाचार