काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेका खाद्य पदार्थ बिक्री-वितरण गर्ने विभिन्न पसल तथा होटलहरूको अनुगमन तथा निरीक्षण गरेको छ।
विभाग र प्रधानमन्त्री कार्यालयसहितको संयुक्त टोलीले अनुगमनका क्रममा विमानस्थल क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न व्यवसायहरूको सरसफाइ अवस्था, खाद्य पदार्थको भण्डारण, लेबलिङ, मूल्य निर्धारण तथा म्याद समाप्त भएका सामग्रीहरूको अवस्थाबारे विस्तृत जाँच गरिएको थियो।
निरीक्षणपछि केही व्यवसायहरूमा खाद्य स्वच्छता मापदण्ड पालना नगरेको, मूल्यमा अनियमितता देखिएको तथा म्याद समाप्त भएका सामग्री भेटिएको जस्ता कैफियतहरू फेला परेका छन्।
निरीक्षण टोलीका अनुसार होटल सोनिग, काठमाडौँ महानगरपालिका–२९ मा सरसफाइ सामान्य अवस्थामा रहेको पाइए पनि खाद्य स्वच्छता कायम गर्न निर्देशन दिइएको छ। साथै, प्रयोगशाला परीक्षणका लागि बटर मफिनको नमुना संकलन गरिएको विभागले जनाएको छ।
त्यस्तै, साई किरण इन्टरप्राइजेजमा क्रोइसाँमा म्याद समाप्त हुने मिति स्पष्ट रूपमा उल्लेख नगरिएको पाइएको छ। साथै लेबलमा उल्लेख गरिएको मूल्य भन्दा बढी मूल्य लिएको भेटिएपछि वाणिज्य विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
टि–थ्री थकाली ग्रुप प्रालिमा सरसफाइको अवस्था सन्तोषजनक नरहेको, खाद्य पदार्थहरू खुला रूपमा राखिएको तथा भण्डारण कक्षमा म्याद नाघेका खाद्य रंग र सुगन्ध भेटिएको अनुगमन प्रतिवेदनमा उल्लेख छ। त्यहाँबाट म्याद नाघेका चार बट्टा कलर तथा फ्लेवर बार नष्ट गरिएको छ। साथै, मूल्य सूचीकृतभन्दा बढी मूल्य लिएको पाइएपछि तीन लाख रुपैयाँ जरिवाना गरिएको जनाइएको छ।
यस्तै, ओरिएन्टल होटल्स प्रालिमा सरसफाइको अवस्था सन्तोषजनक नभएको, भान्सामा फोहोर फाल्ने भाँडो ढाकेर नराखिएको तथा म्याद नाघेका खाद्य रंग भेटिएको उल्लेख गरिएको छ। फ्राइङ तेलको टीएमपी परीक्षण गर्दा २६.५ आएको र मापदण्डअनुसार प्रतिकूल रहेको पाइएपछि करिब तीन लिटर तेल नष्ट गरिएको छ।
साथै, सोही तेल प्रयोग गरी तयार गरिएको करिब दुई किलो समोसा पनि नष्ट गरिएको विभागले जनाएको छ। यसका साथै मूल्यमा अनियमितता पाइएपछि तीन लाख रुपैयाँ जरिवाना गरिएको छ।
होराइजन क्याफेमा बेकरीजन्य खाद्य वस्तुहरूमा लेबल नलगाइएको तथा सरसफाइ सामान्य अवस्थामा रहेको पाइएपछि ती वस्तुहरूको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको छ। साथै, सबै खाद्य पदार्थमा अनिवार्य लेबल राख्न निर्देशन दिइएको छ।
यसैगरी, सान इन्टरप्राइजेजमा सरसफाइ सामान्य रहेको भए पनि मूल्य सूचीभन्दा बढी मूल्य लिएको प्रमाणित भएपछि वाणिज्य विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
Advertisment