Below Menu
Below Menu

मधेशका अर्थमन्त्रीसँग नाडाको भेट: राजस्वमा २० प्रतिशत योगदान दिने क्षेत्रलाई नीतिगत सुरक्षाको माग

मधेशका अर्थमन्त्रीसँग नाडाको भेट: राजस्वमा २० प्रतिशत योगदान दिने क्षेत्रलाई नीतिगत सुरक्षाको माग

जनकपुरधाम : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले आज मधेश प्रदेशका नयाँ अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गरेको छ । व्यापारिक समुदायसँग संवाद गर्ने मन्त्री भट्टराईकै पहलमा यो बैठक आयोजना भएको थियो । 

उक्त भेटमा अध्यक्ष उप्रेतीको नेतृत्वमा नाडा प्रतिनिधिमण्डलले अटोमोटिभ क्षेत्रलाई प्रादेशिक संरचनाको अभिन्न अंगको रूपमा प्रस्तुत गरेको छ । साथै अटो क्षेत्रले कुल सरकारी राजस्वमा २० प्रतितशत भन्दा बढी योगदान दिएको छ र देशभर १ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको जनाइएको छ ।

सो छलफलमा नाडाले दर्ता शुल्क र मूल्य अभिवृद्धि कर संरचनामा बहु–वर्षीय स्पष्टता, माध्यमिक शहरमा डीलरशिपलाई विद्युतीय सवारी चार्जिङ केन्द्रको रूपमा विकास गर्न संयुक्त कार्यदल गठन, र विद्युतीय सवारी संक्रमणका लागि सेवा प्राविधिक पुनः तालिममा प्रादेशिक समर्थन जस्ता तीन प्राथमिकता अगाडि राखेको छ । 

उक्त छलफलमा ‘हामी कर छुट माग गरिरहेका छैनौँ, हामी स्पष्टता माग गर्दैछौँ,’ अध्यक्ष उप्रेतीले भने। ‘दुई वर्षको लागत संरचना जानेको डीलरले ग्रामीण सेवा केन्द्रमा लगानी गर्न र प्राविधिक नियुक्त गर्न सक्छ। तर अर्को महिनाको कर दायित्वमा अन्योल भएको डीलरले वृद्धिमा प्रतिबद्धता गर्न सक्दैन।’ 

सोहि सिलसिलामा नाडाले अर्थ मन्त्रालयसँग नियमित संवादको माध्यम स्थापना गर्न प्रस्ताव राखेको छ । सो छलफलको अन्त्यमा अर्थमन्त्री भट्टराईले मधेश प्रदेशमा लगानीको वातावरण सुदृढ गर्न र निजी क्षेत्रको लगानी बढाउन नाडा प्रतिनिधिमण्डलसंग आग्रह गर्दै प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । 

सो छलफलमा प्रदेशका श्रम तथा यातायातमन्त्री शारदा देवी थापा तथा राजश्व अधिकृत जय कुमार राउत समेतको उपस्थिति रहेको थियो । त्यसैगरी, नाडाको तर्फबाट निवर्तमान अध्यक्ष करण चौधरी, नाडाका बिसिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठ तथा महासचिव मिलनबाबु मल्ल समेतको उपस्थिति रहेको थियो।
 

Advertisment

थप समाचार