Below Menu
Below Menu

होटल सब्रिना अब पाँचतारे ‘ट्राइब’ ब्राण्डमा सञ्चालन हुँदै, ४७ करोडको आईपीओ ल्याउने तयारी

होटल सब्रिना अब पाँचतारे ‘ट्राइब’ ब्राण्डमा सञ्चालन हुँदै, ४७ करोडको आईपीओ ल्याउने तयारी

काठमाडौं : होटल सब्रिना लिमिटेडले सन् २०२५ मा सात करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ९.२३ प्रतिशतले बढी हो ।

कम्पनीले सन् २०२४ मा ६ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने यसअघि सन् २०२३ मा ८ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

व्यापारसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार देखिएको छ । सन् २०२४ मा ८ प्रतिशत रहेको कम्पनीको सञ्चालन मुनाफा सन् २०२५ मा १५ प्रतिशत कायम रहेको छ । 

तर उच्च सञ्चालन लागत र बढ्दो ब्याज खर्चका कारण कम्पनीको लगातार खुद नोक्सानी व्यहोर्दै आएको छ । विशेषगरी कम्पनीको ब्याज खर्च सन् २०२४ को २ करोड रुपैयाँबाट उल्लेखनीय रुपमा बढेर ४ करोड २० लाख रुपैयाँ पुगेको छ । 

हाल कम्पनीले बुढानीलकण्ठ, काठमाडौंमा रहेको आफ्नो होटललाई विस्तार गरी १०३ कोठाको पाँचतारे होटल बनाउने काम गरिरहेको छ । हाल ४८ कोठामा सञ्चालन भइरहेको होटललाई विस्तार गरी १०३ देखि ११० कोठासम्मको पाँचतारे लक्जरी रिसोर्ट–स्तरको होटलमा रूपान्तरण गर्ने काम तीव्र गतिमा भइरहेको छ। 

पुनर्निर्माणपछि होटलमा तीन वटा रेस्टुरेन्ट, रुफटप डाइनिङ, स्विमिङ पुल, हेल्थ क्लब, स्पा, जिम र अन्य आधुनिक सुविधा उपलब्ध हुनेछन्। प्रत्येक कोठाको औसत आकार करिब ३० वर्गमिटर रहने गरी डिजाइन गरिएको छ।

साब्रिना होटल लिमिटेडले बुढानिलकण्ठको गणेशचोकमा निर्माण गरेको होटल अब फ्रान्सको होटल ग्रुप एकोरको लाइफस्टाइल ब्रान्ड ‘ट्राइब’ नामबाट सञ्चालन हुने भएको छ । साब्रिना होटल र फ्रान्सेली होटल ग्रुप एकोर अन्तर्गतको ट्राइब होटलबीच गत साता भारतको नयाँदिल्लीमा व्यवस्थापन सम्झौता भएको हो । 

सम्झौताअनुसार होटल अब ‘ट्राइब काठमाडौं’ नामबाट सञ्चालन हुनेछ । यो ट्राइब ब्रान्डको दक्षिण एसियामै पहिलो परियोजना हुने जनाइएको छ । हाल विश्वभर ट्राइब ब्रान्डका २७ वटा होटल सञ्चालनमा छन्।

ट्राइब ब्रान्डका होटल थाइल्यान्ड, इन्डोनेसिया, कम्बोडियालगायत एसियाली मुलुकहरूमा सञ्चालनमा छन् ।  यसअघि नेपालमा एकोरकै ‘मक्र्युर’ ब्रान्ड भने सञ्चालनमा छ । 

निराजन थापा अध्यक्ष रहेको कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि एक अर्ब २५ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि ६२ करोड २८ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि ६२ करोड ७१ लाख रुपैयाँ बराबरको रेटिङ गराएको हो । 

सन् २०१८ अगस्ट १६ मा निजी लिमिटेड कम्पनीका रूपमा स्थापना भएको होटल सब्रिना लिमिटेड सन् २०२४ जुन ९ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो।

होटल सब्रिना लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी पनि अघि बढाएको छ। कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेको जनाएको छ।

हाल कम्पनीको जारी पूँजी एक अर्ब १२ करोड रुपैयाँबाट बढाएर एक अर्ब २२ करोड रुपैयाँ पुर्याइएको छ। यसमध्ये ७४ करोड ९६ लाख रुपैयाँ संस्थापक समूहको स्वामित्वमा रहनेछ भने बाँकी ४७ करोड ४ लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणलाई निष्कासन गरिनेछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४७ लाख ४ हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति मागेको छ। प्रस्तावित आईपीओको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ।

Advertisment

थप समाचार