Below Menu
Below Menu

औषधी आपूर्ति नगर्ने कम्पनीहरूमाथि कडाइका साथ नियमन र कारबाही गर्न मन्त्री मेहताको निर्देशन

औषधी आपूर्ति नगर्ने कम्पनीहरूमाथि कडाइका साथ नियमन र कारबाही गर्न मन्त्री मेहताको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार औषधी व्यवस्था विभाग र राष्ट्रिय औषधी प्रयोगशालामा  स्थलगत भ्रमण तथा छलफल गरेकी छिन् ।

स्थलगत अवलोकन गर्दै उनले औषधी आपूर्ति, नियमन तथा गुणस्तर परीक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउन तत्काल सुधारात्मक कदम चाल्न निर्देशन दिएकी छिन्।

भ्रमणका क्रममा मन्त्री मेहताले विभागका अधिकारीहरूसँग विस्तृत छलफल गर्दै हाल बजारमा देखिएको आवश्यक औषधीहरूको अभावलाई गम्भीरतापूर्वक लिएर तत्काल आपूर्ति सहज बनाउने व्यवस्था मिलाउन निर्देशन दिइन्। 

उनले आपूर्ति शृङ्खलामा देखिएका अवरोधहरू हटाई जनताले सहज रूपमा औषधी पाउने सुनिश्चितता गर्न सम्बन्धित निकायहरूलाई सक्रिय हुन आग्रह गरिन्।

त्यस्तै, औषधी आपूर्ति तथा वितरणको अनुमति प्राप्त गरे पनि नियमित आपूर्ति नगर्ने आपूर्तिकर्ताहरूमाथि कडाइका साथ नियमन गर्नुपर्ने आवश्यकता उनले औंल्याइन्। 

यस्ता कम्पनीहरूको निगरानी प्रभावकारी नहुँदा बजारमा असन्तुलन र अभाव सिर्जना हुने भएकाले तत्काल कारबाही प्रक्रिया अघि बढाउन उनले निर्देशन दिइन्।

मन्त्री मेहताले अनुमति प्राप्त गर्न निवेदन दिएका तर आवश्यक कागजात तथा प्रक्रिया पूरा हुन नसकेका कम्पनीहरूको हकमा पनि छिटो स्थलगत निरीक्षण र प्राविधिक मूल्यांकन गरी निर्णय प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड दिइन्। प्रशासनिक ढिलाइका कारण आवश्यक औषधी आपूर्तिमा असर नपरोस् भन्ने विषयलाई उनले प्राथमिकतामा राखिन्।

छलफलका क्रममा उनले औषधी व्यवस्था विभागको नियमन क्षमता विस्तार गर्न आवश्यक स्रोतसाधन, जनशक्ति तथा प्राविधिक संरचनाको विवरण तत्काल तयार गरी सरकारसमक्ष पेस गर्न समेत निर्देशन दिइन्। नियमन प्रणाली बलियो नभएसम्म औषधीको गुणस्तर र उपलब्धता दुवैमा चुनौती रहने उनले उल्लेख गरिन्।

त्यसैगरी, सरकारले निःशुल्क रूपमा वितरण गर्ने औषधीहरू तथा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने औषधीहरूको गुणस्तर परीक्षणलाई अझ कडाइका साथ लागू गर्नुपर्नेमा मन्त्री मेहताले जोड दिइन्। 

राष्ट्रिय औषधी प्रयोगशालाको भूमिकालाई प्रभावकारी बनाउँदै सबै औषधीहरू सुरक्षित, प्रभावकारी र मापदण्डअनुसार रहेको सुनिश्चित गर्न आवश्यक व्यवस्थापन गर्न उनले निर्देशन दिएकी छिन्।

Advertisment

थप समाचार