काठमाडौं : अन्नपूर्ण राठी केबल इन्डष्ट्रिजले सन् २०२५ मा तीन अर्ब २७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ३०.५० प्रतिशतले बढी हो ।
कम्पनीले सन् २०२४ मा २ अर्ब ४९ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने यसअघि सन् २०२३ मा ३ अर्ब ३६ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यद्यपी कम्पनीको व्यापार बढेपनि सञ्चालन नाफा मार्जिनमा भने गिरावट देखिएको छ । सन् २०२४ मा १०.२५ प्रतिशत रहेको कम्पनीको सञ्चालन मुनाफा सन् २०२५ मा ८.२१ प्रतिशत कायम रहेको छ ।
विशेषगरी प्याकेजिङ खर्च तथा प्रशासनिक खर्च (टार्गेट बोनस र विज्ञापन खर्च) बढेपछि नाफा मार्जिनमा दबाब परेको कम्पनीले जनाएको छ ।
यद्यपी कम्पनीको नगद सञ्चयमा भने सुधार देखिएको छ । सन् २०२४ मा १२ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको नगद सञ्चय बढेर सन् २०२५ मा १७ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
अन्नपूर्ण राठी केबल्स इन्डष्ट्रिज लिमिटेड (साविकको अन्नपूर्ण केबल इन्डष्ट्रिज प्राइभेट लिमिटेड) स्न २०२५ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । कम्पनीको अध्यक्ष श्याम राठी रहेका छन् भने निर्देशक जितेन्द्र कुमार राठी रहेका छन् ।
विभिन्न प्रकारका विद्युत् तार तथा केबलहरूको उत्पादन गर्दै आएको कम्पनीको उत्पादन प्लान्ट मोरङको विराटनगरमा अवस्थित छ । कम्पनीले राठी र अन्नपूर्ण ब्रान्डमार्फत हाउस वायरिङ केबल, पावर केबल, एबसी/एसएएसआर केबल र कन्सेन्ट्रिक केबल बिक्री गर्दै आएको छ ।
कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि दुई अर्ब ७६ करोड रूपैयाँ बराबरको ऋण रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४० करोड रूपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ३२ करोड ५० लाख रूपैयाँको रेटिङ गराएको हो ।
Advertisment