काठमाडौं : दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिएको छ ।
सिओलस्थित कोएक्स प्रदर्शनी केन्द्रमा जुन ४ देखि ७ सम्म आयोजित एसआईटीएफ-२०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको ७ वटा नेपाली पर्यटन व्यवसायीको टोलीले नेपालका आकर्षक एवं उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको प्रबर्द्धन गरिएको हो ।
उक्त चारदिने अन्तर्राष्ट्रिय पर्यटन मेलाका क्रममा कोरिया आउटबाउन्ड टुरिजम् एसोसिएसन (कोओएफटीए) का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत शिन जुंग मोक नेतृत्वको उच्चस्तरीय टोलीले नेपाल प्याभिलियनको अवलोकन गरेको थियो ।
त्यस्तै, दक्षिण कोरियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईले दूतावास टोलीसहित प्याभिलियनको भ्रमण गरी आगन्तुक तथा सहभागी पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरेका थिए ।
कार्यक्रमका क्रममा चर्चित कोरियाली कलाकार ह्वाङ मानसोकले आफ्नो प्रसिद्ध ‘गंगनम स्टाइल’ मूर्तिको तस्वीर नेपाल पर्यटन बोर्डलाई उपहारस्वरूप प्रदान गरेका थिए । करिब ४५ हजार दर्शक तथा आगन्तुक सहभागी रहेको मेलामा नेपाल प्याभिलियनप्रति कोरियाली पर्यटन व्यवसायी र सर्वसाधारणको उल्लेखनीय चासो देखिएको थियो ।
विशेषगरी पदयात्रा (ट्रेकिङ), नेपाल भ्रमणका लागि भिसा प्रक्रिया तथा हवाई सम्पर्कका विषयमा मेलामा सहभागी पर्यटन व्यवसायीहरुले जानकारी लिएका थिए ।
बोर्डको नेतृत्वमा नेपाली पर्यटन व्यवसायीको सहभागिताले नेपाली पर्यटन व्यवसायीहरूलाई विद्यमान व्यावसायिक साझेदारहरूसँग सम्बन्ध सुदृढ गर्न तथा नयाँ व्यावसायिक सहकार्य विस्तार गर्न महत्वपूर्ण अवसर प्रदान गरेको जनाइएको छ ।
यसैबीच, नेपाल पर्यटन बोर्डले जुन ४ देखि ६ सम्म सिओल र सुवनमा आयोजित वर्ल्ड टुरिज्म इन्डस्ट्री कन्फरेन्स (डब्ल्यूटीआईसी) २०२६ मा पनि सहभागिता जनाएको थियो ।
सम्मेलनमा विश्वभरका पर्यटन नेतृत्वकर्ता तथा गन्तव्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बोर्डका निमित्त निर्देशक सुनील शर्माले विश्वव्यापी पर्यटन प्रवृत्ति तथा त्यसको नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभावबारे प्रस्तुति दिएका थिए ।
सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर(२०२६ कोरियासहित विश्व पर्यटन बजारका पछिल्ला प्रवृत्ति, नवीन पर्यटन उत्पादन तथा गन्तव्यहरूको प्रवर्द्धनका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित छ । मेलामा विभिन्न अनुभव आदानप्रदान कार्यक्रम, पर्यटन प्रदर्शनी तथा विशेष यात्रा प्याकेजहरू प्रस्तुत गरिएका थिए ।
दक्षिण कोरिया एसियाको महत्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एक हो । जहाँबाट वार्षिक करिब तीन करोड नागरिक विदेश भ्रमणमा जाने गरेका छन् । नेपालका लागि पनि कोरिया उच्च सम्भावना बोकेको गुणस्तरीय पर्यटन स्रोत बजारका रूपमा रहेको छ ।
सन् २०२५ मा मात्रै २३ हजारभन्दा बढी कोरियाली पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरियाली पर्यटकहरू विशेषगरी पदयात्रा, पर्वतारोहण तथा नेपालको बौद्ध सम्पदाप्रति आकर्षित हुने गरेका छन् ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक अर्चना केसी राणा तथा वरिष्ठ अधिकृत सुशीला कुमारी बरालले एसआईटीएफ २०२६ नेपालको सहभागिता समन्वय गर्दै आयोजक, नेपाली प्रतिनिधिमण्डल तथा आगन्तुकहरूसँग सहकार्य गरेका थिए । बोर्डले यस सहभागिताले कोरियाली बजारमा नेपालको पर्यटन प्रवर्द्धन थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।
Advertisment